मधेश प्रदेशबाहेकका अरु ठाउँमा वर्षा र हिमपातको सम्भावना, तरा...
फागुन १२, २०८१ सोमबार
भक्तपुर - विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा भेटिएपछि सरकारले विगत तीन दिनदेखि १८ गतेसम्मका लागि देशभर 'लकडाउन' गरेको छ ।
'लकडाउन'ले यतिखेर देश ठप्प छ । गतिविधि शून्य छन् । तर भक्तपुरका इँटाभट्टा भने अझै चलायमान छन् । यहाँ सरकारको 'लकडाउन'को कुनै असर परेको छैन । नियमित मजदुर काममा खटिरहेका छन् । साँझ नपर्दै मजदुरको भीडभाड एकै ठाउँमा हुन्छ ।
भक्तपुरमा ६२ वटा इँटाभट्टा सञ्चालनमा छन् । आजसम्म कुनै इँटाभट्टा बन्द छैनन् । सबै भट्टामा अरु बेला जस्तै मजदुर नियमित काम गरिरहेका छन् । इँटाभट्टा सञ्चालकको दैनिकी फेरियो तर यहाँ कार्यरत करिब २० हजार मजदुरको दैनिकी भने उस्तै छ ।
चाँगुनारायण नगरपालिकाका–९ ताथलीको इँटाभट्टामा काम गर्ने काभ्रे भकुण्डेबेँसीकी सन्तमाया विकको दैनिकी उस्तै छ । उहाँलाई अहिले बनाएको इँटा सुकाउने, चाङ लगाउने र थन्क्याउने चटारो छ । उहाँलाई सरकारले गरेको लकडाउनबारे थाहा छैन । उहाँ भन्नुहुन्छ, 'खै बाहिर सरकारले बन्द गर्या छरे भन्छन्, यता त बन्द छैन, हामी सधै काम गरिरहेका छौँ, छिटो काम सकेर घर जान पाए हुन्थ्यो ।'
ताथलीकै अर्को इँटाभट्टामा काम गर्ने रामेछापका सन्ते तामाङले सरकारले सबैतिर बन्द गरेको छरे भन्ने सुनेको बताउँदै गाउँमा मकै छर्ने, खेतिपाती गर्ने बेला भएकाले गाउँ फर्कन पाए सहज हुने बताउनुहुन्छ ।
‘बजार अब त बन्द भयो रे, यहाँको बजार भनेकै भट्टी हो, त्यो चलेकै छ, रक्सी खाएपछि कहिलेकाँही झगडा भइहाल्छ’, उहाँले भन्नुभयो । इँटाभट्टामा महिला, बालबालिकालाई ज्वरो आउनु, खोकी लाग्नु सामान्य भए पनि एकपटक सबै मजदुरको स्वास्थ्य परीक्षण गरेर मात्रै घर पठाइदिए ढुक्क हुने उहाँ बताउनुहुन्छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आफ्ना नगरपालिकाभित्रका इँटाभट्टा सञ्चालकलाई भट्टाका काम बन्द गर्न र मजदुरलाई कोरोना सङ्क्रमणबाट जोगाउन गरेको आग्रह अटेर गरेको बताउनुभयो ।
इँटाभट्टामा बाहिरबाट आउने मान्छेको सम्पर्क भइरहने, भीडभाड भइरहने र सरसफाइमा ध्यान नदिने भएकाले उनीहरु कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको उहाँको भनाइ थियो ।
‘भक्तपुरका इँटाभट्टामा मजदुरले काम गरिरहेका छन्, भीडभाड र भेला सधैँ हुन्छ, भट्टी पसलमा सधैँ बाक्लो जमघट हुन्छ, बेलाबेलामा झगडा हुने गरेको गुनासो आउँछ’, नगरप्रमुख मिश्रले भन्नुभयो, ‘इँटाभट्टा सञ्चालकलाई काम बन्द गर्न र सुरक्षा अपनाउन भनिसकें, अटेर गरेका छन्, यसबारेमा मन्त्रालयमा पनि भनिसकेँ, भक्तपुरका सीडीओलाई पनि पटक पटक भनिसकेँ कसैले चासै दिँदैनन् ।’
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने व्यवसायीलाई काम बन्द गरेर मजदुर घर फर्काउने व्यवस्था गर्न निर्देशन दिएको बताउनुभयो । भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्याम्बाले आठ दिनदेखि नयाँ इँटा बनाउने काम बन्द गरेको बताउँदै अब सबै इँटाभट्टा बन्द गर्ने तयारी गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, सीडीओले मजदुरलाई घर पठाउन पास बनाइदिने भन्नुभएको, इँटाभट्टा बन्द गर्ने निर्णयमा पुग्यौँ, अहिलेको विषम परिस्थितिमा राज्यले गरेको निर्णयलाई नमान्ने कुरा भएन, अब १० दिनभित्र इँटा पोल्न बन्द गर्छौं ।
उनीहरु घर नगएसम्म काम नदिँदा बरालिएर बजार जाने भएकाले बजार जान रोक्न पनि काममा लगाउन बाध्य भएको बताउँदै उहाँले अहिले बनाइसकेको इँटा व्यवस्थापनमा लागेको जानकारी दिनुभयो ।
जेठ २० गते भट्टामा आगो बन्द गर्ने पुरानो निर्णय भए पनि अहिलेको अवस्थामा मजदुरलाई गाडीमा हालेर घरघर पठाउने र १० दिनभित्र सबै भट्टाको आगो बन्द गर्ने तयारी गरेको अध्यक्ष ह्याम्बाले बताउनुभयो ।
इँटाभट्टामा महिला तथा बालबालिकाका लागि काम गर्ने भन्दै आएका एनजीओ, आइएनजी यतिखेर भने गायब भएका छन् । इँटाभट्टामा मजदुर बिरामी भइरहेको अहिलेको समयमा उनीहरुको स्वास्थ्य परीक्षण गरेर घर फर्काउनेबारे भने कसैले चासो नदिएको मजदुरको गुनासो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।