‘लकडाउन’को मारमा सामान्य बिरामी र दीर्घरोगी

 चैत १५, २०७६ शनिबार १८:३:३ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - ललितपुर नखिपोटमा बस्दै आएकी झापाकी कविता गुरुङको झण्डै चार महिनाको छोरालाई लगनखेलमा रहेको पाटन अस्पतालमा राखिएको चार महिना हुन लाग्यो । गर्भवती बेलामा उच्च रक्तचापको समस्या बढेपछि डाक्टरको सल्लाहमा गएको मंसिर १७ गते उहाँको शल्यक्रिया गरियो । २७ हप्तामात्रै जन्मेको शिशु नौ ग्रामको मात्र थियो । डाक्टरको उच्च निगरानीमा अस्पतालमै राखियो । दुध चुसाउनको लागि शिशुको आमालाई बेलाबेलामा अस्पताल बोइन्थ्यो । उहाँ जानुहुन्थ्यो । तर सरकारले चैत ११ गतेदेखि ‘लकडाउन’को घोषणा गरेसँगै शिशुको जिम्मा अस्पतालले लियो । 

‘कोरोनाको डरले चिकित्सकले अस्पताल नआउन भनेका छन्’, गुरुङले भन्नुभयो, ‘चार महिनाको छोरो अस्पतालको शैय्यामा रहँदा आमा घरमा बस्नुपरेको छ । मन बेचैन छ ।’ कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले अस्पतालले नआउनु भनेकोले उहाँलाई अस्पताल जाने आँट छैन । तर छोराको उपचार कसरी हुन्छ ? अनि डाक्टर र नर्सले कसरी ख्याल गर्छन् ? भन्ने विषयमा उहाँ चिन्तित हुनुहुन्छ । 

ललितपुर झरुवारासीका ८२ वर्षीय ड्याङकप्रसाद तिमल्सिनालाई आइतबार मोटरसाइकलले ठक्कर दियो । उहाँलाई ललितपुरको ग्वार्कोमा रहेको बीएण्डबी अस्पताल पुर्याइयो । तत्काल शल्यक्रिया गर्नुपर्ने डाक्टरले बताए । शल्यक्रियाको लागि बी पोजेटिभ रगत आवश्यक पर्यो । ब्लड बैंकमा रगत थिएन । जसोतसो रगत जुट्यो । शल्यक्रिया भयो । अहिले अस्पतालमै आइसीयूमा उपचार भैरहेको छ । शुक्रबार दुईवटा शल्यक्रिया भयो । शनिबार अर्को शल्यक्रिया गर्नुपर्ने डाक्टरले बताएका छन् । 

अस्पतालमा सीमित व्यक्तिलाई मात्र प्रवेशको व्यवस्था छ । अस्पताल हाताभित्र नपाइने औषधि ल्याउन पनि समस्या छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले ‘लकडाउन’ गरेकोले बिरामी कुरुवालाई ओहोरदोहोर गर्नसमेत समस्या छ । आफन्तले बिरामी भेट्न पनि पाएका छैनन् । 

ललितपुरको ठैबकी ३० वर्षीया अस्मिता मोक्तानलाई गएको शनिबार माइक्रोले ठक्कर दियो । ठक्कर दिएपछि माइक्रो भाग्यो । त्यतिबेला खासै केही भएजस्तो लागेन । उहाँले घरै गएर आराम गर्नुभयो । तर बिस्तारै गाह्रो हुँदै गयो । ज्वरो आउन थाल्यो । सास फेर्न कठिन हुँदै गयो । घाँटी र छातीमा दुख्न थाल्यो । असह्य भएर बेहोस हुन लागेपछि छिमेकीहरुले उहाँलाई सोमबार ललितपुरको ग्वार्कोमा रहेको किष्ट अस्पताल पु¥याए । उपचार सुरु भयो । ‘कोही डाक्टरले अस्पताल राख्नुपर्छ भने कोहीले घर पठाउनुपर्छ भन्ने । झण्डै चार घण्टापछि औषधि दिएर अस्पतालले घर पठायो’, मोक्तानले भन्नुभयो । 

मङ्गलबार बिहान ६ बजेदेखि लागु हुनेगरी सरकारले ‘लकडाउन’को घोषणा गर्यो । अस्पतालले उहाँलाई शुक्रबार फलोअपमा बोलाएको थियो । तर ‘लकडाउन’को कारण सार्वजनिक गाडी नचलेपछि उहाँ अस्पताल जान सक्नुभएको छैन । पीडा केही कम हुँदैछ । तर डाक्टरले बोलाएको बेलामा अस्पताल जान नपाउँदा भविष्यमा समस्या थपिन्छ कि भन्ने चिन्ता छ उहाँलाई । 

ललितपुरको टिकाथलीकी ७८ वर्षीया नानीमैँया पौडेल एक महिनाअघि पाटन अस्पताल जानुभयो । ‘ढाँडको तीनवटा हड्डी भाँचिएकाले डाक्टरले औषधि दिएर आराम गर्न भने । त्यसपछि अहिले घरमै छु’, उहाँले भन्नुभयो,  ‘औषधि सकिएको छ । एक्लै बस्छु । औषधि कसले ल्याइदिन्छ ?’ लकडाउनको कारण औषधि ल्याइदिने कोही छैन । ओेछ्यानमै पर्ने अवस्था आयो भन्दै उहाँ गुनासो गर्नुहुन्छ । 

यी प्रतिनिधि पात्र मात्र हुन् । यसमा कोही आफ्नै लागि त कोही आफन्तको स्वास्थ्यको कारण समस्यामा छन् । यस्तो परिस्थितिमा सरकारको नियम पालना नगरे बिरामीसँगै कुरुवाकोसमेत ज्यान जोखिममा रहन्छ । त्यसैले सबै नागरिक व्यक्तिगत तहबाटै सचेत हुनुपर्ने बाध्यता छ । 

‘लकडाउन’ले नियमित डायलासिस गर्नेदेखि हातखुट्टा भाँच्चिएका समस्यामा परेका छन् । यस्तै ‘लकडाउन’को कारण सार्वजनिक गाडी नचल्दा बिरामी भएकालाई अस्पतालसम्म पु¥याउन पनि समस्या भएको बिरामीका आफन्तको गुनासो छ । 

देशैभरिका अस्पतालमा उच्च ज्वरोका बिरामीको ओपडी कक्षमा उपचार भइरहेको छ । अस्पतालहरुले अन्य बिरामीलाई घरमै औषधि खाएर बस्न आग्रह गरेको छ । यसलाई स्वीकार्नुपर्ने बाध्यता पछिल्लो परिस्थितिले सिर्जना गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र पाण्डे भने सबै अस्पतालका आकस्मिक कक्षमा सबै खालका बिरामीको उपचार भैरहेको दाबी गर्नुहुन्छ । बिरामीका आफन्तले भने कोरोनाको आशङ्का देखिए अस्पतालमा राख्ने, नभए घर पठाउने गरेको गुनासो गरेका छन् । 

समाधान के त ? 

यो समस्या राजधानीबासी र समग्र नेपालीको मात्र होइन । कोरोना सङ्क्रमणपछिको ‘लकडाउन’मा विश्व समुदाय नै पीडित बनेको छ । डिसेम्बर अन्तिम हप्ता चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरस अहिलेसम्म विश्वका १ सय ९९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिसकेको छ । 

अहिलेसम्म झण्डै ६ लाख मानिसमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये १ लाख ३३ हजार ३ सय ७३ जना उपचारपछि निको भएका छन् । २७ हजार ३ सय ७० जनाको ज्यान गएको छ । ४ लाख ३६ हजार ७ सय १५ जनाको उपचार भइरहेको छ । 

कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने रोग हो । चार महिनाअघि चीनमा एकजना सङ्क्रमित, दुईजना सङ्क्रमित भन्दै समाचार पढेका र सुनेका हामी आज हाम्रै देशमा अहिलेसम्म पाँच जना सङ्क्रमित भएको समाचार भन्न र पढ्न बाध्य छौँ । 

पहिलो सङ्क्रमित भेटिएको चीनमा सङ्क्रमितको संख्या ८१ हजार नाघिसकेको छ । चीनमा फैँलिदै गर्दा चिनियाँ भाइरस भन्दै बेवास्ता गरेको अमेरिकामा अहिले सङ्क्रमितको संख्या सबैभन्दा धेरै भएको छ । जहाँ १५ सयभन्दा धेरैको ज्यान गइसकेको छ भने एक लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । 

नेपालमा सङ्क्रमित एकजना निको भएर साधारण जीवन बिताइरहेका छन् । अन्य चार जनामध्ये एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र दुई जनाको काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भैरहेको छ । 

सरकारले सङ्क्रमणलाई कम गर्न ‘लकडाउन’ गरेको छ । अत्यावश्यकबाहेक सबै सेवा बन्द छन् । सरकारले भिडभाडमा जान निषेध गरेपनि अत्यावश्यक भएको अवस्थामा अस्पताल जान रोक लगाएको छैन । यो सरकारको निर्णय आमनागरिककै लागि भएकोले कठिन परिस्थितिको सामना गर्नु हाम्रो बाध्यता बनेको छ । 
सरकारले कोरोनाको आशङ्का लागेका बिरामीलाई मात्र प्राथमिकता दिँदा जटिल समस्यामा रहेका बिरामीलाई भने मर्का परेको छ ।

तर अहिले हामीले बेवास्ता गरेर सामान्य बिसञ्चो हुँदा पनि अस्पताल गयौँ भने विश्वव्यापी महामारीको संज्ञा पाएको कोरोनाको जोखिम अझ हुनसक्छ । लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनु उत्तम विकल्प हो । सङ्क्रमणबाट जोगिउँ र अरुलाई पनि जोगाऔँ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

1 Comments

  • Yashoda bashyal

    March 28, 2020, 7:05 p.m.

    सुन्नमा आएको कुरा प्राइभेट अस्पतालले अरुबेला बिरामीको खल्ती छामेर उपचार गर्नेहरु आज ज्वरोको बिरामी लिनै मानेका छैनन् रे ....आज सम्पूर्ण विश्व रोएको बेलामा राज्यलाई सहयोग गर्नुको सट्टा बिरामीलाई ढोकावाटै फर्काउनु कहाँसम्मको मानवता हो ?? के उपचारको जिम्मा टेकु अस्पतालको मात्र हो ?? यो बेलामा त हामीले राष्ट्रलाई कसरी हुन्छ सहयोग गर्नुपर्ने हो नि ........यस्तो समयमा पनि पैसाको विटो हेर्ने अस्पताललाई खारेज गर्नु नै वेश हुन्छ होला /

  •  0 Reply

तपाईको प्रतिक्रिया