सरकारद्वारा ९ सय १३ विदेशी पर्यटकको उद्धार : सम्बन्धित देश पठाइयो

 चैत १६, २०७६ आइतबार १६:३०:१० | रासस
unn.prixa.net

काठमाण्डौ - सरकारले विभिन्न देशका ९१३ विदेशी नागरिकको उद्धार गरेको छ । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका उनीहरुलाई शुक्रबार र शनिबार हवाई उद्धार गरी काठमाण्डौ ल्याइएको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

धेरैलाई जहाज र कतिपयलाई बसबाटै ल्याइएको थियो । लुक्ला, पोखरा, मुस्ताङलगायत गन्तव्यबाट पर्यटकको उद्धार गरिएको थियो ।  यीमध्ये लुक्ला र जोमसोमबाट जहाजमा र पोखराका धेरै पर्यटक जहाज तथा केहीलाई बसबाट काठमाण्डौ ल्याइएको बोर्डले जनाएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले लुक्लालगायत गन्तव्यमा रोकिएका पर्यटकको उद्धार भइसकेको र अन्य सुलभ गन्तव्यमा रहेका पर्यटकको सोही स्थानमा सहज वातावरणमा रहने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । 

यसरी काठमाण्डौमा जम्मा भएका ९१३ विदेशी नागरिक घर फर्किएका छन् । ती नागरिकलाई सम्बन्धित देशले कतार एयरवेजको जहाजमार्फत चार्टर्ड उडान गरी गन्तव्यतर्फ लगेका हुन् ।
    
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कतारको जहाजले शुक्रबार एक उडानबाट ३०४ र शनिबार दुई उडानमार्फत ६०९ युरोपेली देशका नागरिक लगेको विमानस्थलले जनाएको छ । 

लुक्लामा रोकिएका पर्यटकको शुक्रबार बुद्ध एयर, यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले उद्धार गरेका थिए भने शनिबार निगमले बिहानदेखि लुक्लामा अलपत्र ७० विदेशी पर्यटकको उद्धार गरेको थियो । त्यस्तै तारा, समिट र श्री एयरलाइन्सले पर्यटक उद्धार गरेको विमानस्थलले जनाएको छ ।
    
फ्रान्स, जर्मनलगायत देशका नागरिक घर फर्किएका हुन् । अब क्रमशः अष्टे«लिया र अमेरिकाका नागरिक स्वदेश लैजाने तयारी भइरहेको छ । अष्ट्रेलियाले निगमको वाइडबडी जहाज चार्टर्ड गरिसकेको छ । अप्रिल १ तारिख २०२० मा निगमको वाइडबडी अष्ट्रेलिया उड्ने जनाइएको छ ।
    
लकडाउनका कारण देशको अन्तरराष्ट्रिय उडान ठप्प प्रायः रहेपनि शुक्रबार र शनिबार दिनभरजसो आन्तरिक उद्धारका उडानहरु भए । आज पनि पाँचदेखि सात उडानबाट विदेशी नागरिकलाई र तिनका सहयोगी नेपालीलाई काठमण्डौ ल्याइने बोर्डले जनाएको छ । लुक्लामा रहेका विदेशी पर्यटकका गाइड तथा भरियालाई काठमाण्डौ ल्याउन लागिएको हो ।

अन्य पर्यटकको भने अहिले जुन ठाउँमा रहेका छन् सोही स्थानमा सहज वातारणका साथ राख्न र सम्बन्धित देशले लैजान चाहेको खण्डमा काठमाण्डौसम्म ल्याउने निर्णय भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताउनुभयो । 

‘रोकिएका पर्यटक आइसके अब देशका विभिन्न गन्तब्यमा रहेका पर्यटकलाई उनीहरुको देशबाट लैजाने व्यवस्था नभएसम्मका लागि अहिलेकै स्थानमा व्यवस्थापन गर्न सरोकारवालालाई निर्देशन दिने निर्णय गरिएको छ’ उहाँले भन्नुभयो ।
    
बोर्डको विवरणमा शनिबार लुक्ला र पोखराबाट गरी ६०४ र जोमसोमबाट ५८ पर्यटक उद्धार गरी ल्याइएको थियो । गन्तव्यबाट विभिन्न तवरले बोर्डले नेपालका विभिन्न पर्यटकीय गन्तब्य तथा प्रमुख पर्यटकीय शहरमा रहेका पर्यटकको वास्तविक विवरण उपलब्ध गराइदिन होटल, घरबास कार्यक्रम (होमस्टे)लगायतलाई बोर्डले जरुरी सूचना निकालेर आग्रह गरेको छ । 

नेपालमा कति सङ्ख्यामा विदेशी पर्यटक छन् भन्नेबारे विभिन्न माध्यमबाट सङ्ख्या व्यवस्थापनको काम भइरहेको बोर्डले जनाएको छ । बोर्डले अहिले अत्यावश्यक सेवाका लागि सीमित कर्मचारीको व्यवस्था गरी सेवालाई नियमित गरिरहेको प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताउनुभयो । नेपालमा झण्डै १० हजार पर्यटकले प्रवेशाज्ञा थपेर बसेका छन् । 

वसन्त ऋतुको यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा युरोपेली देशका नागरिक नेपाल आएका थिए । विभिन्न देशका नेपालमा रहेको दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लगिरहेका हुन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया