कतार र मलेसियाले क्वारेण्टीनमा बस्ने श्रमिकलाई पनि आधारभूत तलब र भत्ता दिने, यूएईले ल्यायो श्रमिक कटौतीको प्रावधान

गन्तव्य देशमा यो बेला समस्यामा परे दूतावासले सहयोग गर्छ

 चैत १८, २०७६ मंगलबार १०:५४:७ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरोनाको कारण काम प्रभावित हुँदा यूएई सरकारले निजी क्षेत्रलाई प्रकृया पुर्याएर श्रमिक कटौती गर्न तथा तलब रोक्न सम्म सक्ने अनुमति प्रदान गरेको छ । तर यस्तो बेला मलेसिया र कतारले भने आफ्नो देशमा सबै श्रमिकलाई क्वारेण्टीनमा बस्दा पनि आधारभूत तलब र भत्ता दिने भएका छन् ।

बिरामी बिदा र सुविधाका लागि श्रमिकको अवस्था नहेर्ने कतार सरकारले यो विपदका बेला सबै श्रमिकलाई क्वारेण्टीनमा बस्दा पनि आधारभूत लतब र भत्ता दिन श्रमिकको अवस्था नहेर्ने जनाएको छ ।

कोरोनाको कारण अलग बस्दा, क्वारेण्टीनमा बस्दा वा उपचारमा रहँदा पनि कतारले सबै श्रमिकलाई आधारभूत तलब र भत्ता दिने उल्लेख गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । बिरामी बिदा र सुविधाका लागि श्रमिक योग्य छन् कि छैनन् भनेर कतारले हेर्ने छैन ।

कतार सकारको आदेश अनुसार बन्द भएका विभिन्न क्षेत्रमा कार्यरत श्रमिकले तलब आधारभूत सेवा खाने बस्ने जस्ता भत्ताहरु पाउनेछन् । यस्तो तलब भत्ता सबै श्रमिकले पाउनेछन् । यो संकटका बेला रोजगारदातालाई श्रमिकको करार रद्द गर्ने अधिकार त छ, तर करार रद्द गर्दा कतारको श्रम कानुन र सम्झौताको पूर्ण पालना गर्नुपर्ने कतारले जनाएको छ ।

साथै रद्द गर्नुपूर्व करार बमोजिम सूचना दिने र पाउनुपर्ने बाँकी हिसाब र घर फर्कनका लागि हवाई टिकट दिनु पर्छ । देश बाहिर रहेका र काममा फर्कन नसक्ने अवस्था नभएका श्रमिकले रोजगदारदातासँग छलफल गर्नुपर्छ ।

घर बिदामा गएर कतार फर्कन नपाएका श्रमिकले पनि आफूसँग कम्पनीले गरेको करारपत्रमा कुनै पनि परिवर्तन अस्वीकार गर्न सक्ने कतार सरकारले व्यवस्था गरेको छ । करार पत्र रद्द गर्नुपरेको खण्डमा रोजगारदाता र श्रमिक दुवै पक्षले कतारको श्रम कानुन र करारपत्रको पूर्ण पालना गर्नुपर्ने हुन्छ ।

साथै, रद्द गर्नुपूर्व करारबमोजिम अग्रिम सूचना दिने र पाउनुपर्ने बाँकी हिसाब पनि दिनुपर्ने हुन्छ । यो अप्ठेरो समयमा कतारमा रहेका श्रमिलाई आफ्नो काम वा आवास समबन्धी कुनै समस्या भएमा कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको सम्पर्क नम्बर १६००८ वा [email protected] मा सम्पर्क गर्न सकिन्छ ।

कोभिड १९ पोजेटिभ देखिएका श्रमिकलाई मुकाइनिस क्षेत्रका केन्द्रहरुमा क्वारेण्टीनमा राखिने र त्यहाँ सबै आवश्यक उपचार खाना र बस्नको निःशुल्क व्यवस्था गरिएको मन्त्रालयले उल्लेख गरेको छ । यो सबै सुविधा कतारमा काम गर्ने घरेलु श्रमिकको हकमा पनि लागू हुन्छ ।

मलेसियाले पनि आधारभुत तलब दिने

मलेसियाले पनि कोरोनाका कारण क्वारेण्टीनमा बस्ने श्रमिकलाई समेत न्यूनतम तलब र सुविधा दिने उल्लेख गरेको मलेसियामा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

हरेक शुक्रबार दूतावासले गर्ने फेसबुक लाइभमार्फत मलेसियाले सबै श्रमिकलाई यो अप्ठेरो परिस्थितीमा न्यूनतम पारिश्रमिक दिने भन्दै ढुक्क रहन आग्रह गरेको हो । मलेसियाले कोरोना रोकथामका लागि १४ अप्रिलसम्म लकडाउन गरेको छ । सार्वजनिक यातायातदेखि अत्यावश्यक बाहेकका बजारहरु बन्द छन् ।

कम्पनीमा काम बन्द हुँदा मलेसियामा अहिले कतिपय श्रमिक क्वारेण्टीनमा छन् भने कतिले काम गर्ने समय कटौती गरेर भए पनि काममा लागइरहेका छन् ।

यूएईको नयाँ प्रावधानले श्रमिक प्रभावित

यूएई सरकारले भने सोमबार एक निर्णय गर्दै कोभिड १९ को संक्रमणको प्रभावले समस्यामा परेका निजी क्षेत्रका कम्पनीहरुलाई श्रमिकलाई तलब रोक्न तथा कटौती गर्न सक्ने व्यवस्था ल्याएको छ ।

कोरोनाका कारण संसारभरको अर्थव्यवस्था ओरालो लागिरहेको बेला यूएईले गरेको यो निर्णयले निजी क्षेत्रका लगानीकर्तालाई केही राहत मिले पनि यूएईमा कार्यरत नेपालीसहित अरु देशकाविदेशी श्रमिकलाई भने समस्या हुन्छ । यूएईले यसबेला श्रमिक कटौती गर्ने र तलब रोक्ने गरेमा यूएईमा कार्यरत नेपाली श्रमिक न नेपाल फर्कन सक्नेछन् न त त्यहाँ बस्न ।

गन्तव्य देशमा यो बेला समस्यामा परे दूतावासले सहयोग गर्छ

यूएईले नयाँ नियम ल्याए पनि यसबारे यूएईको आबुधाबीमा रहेको नेपाली दूतावासलाई भने आधारिकारीक जानकारी आएको छैन ।

तर नेपाली श्रमिकलाई कुनै समस्या परेमा हातेमालो गर्दै अघि बढ्ने दूतावासले जनाएको छ । ‘हामी नेपाली नागरिकको सुरक्षाका विषयमा सर्तक र पूर्ण तयारी अवस्थामा छौं, अहिलेनै आत्तिनुपर्ने अवस्था छैन,’ यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भन्नुभयो ।

यस्तै नेपाल सरकारले पनि अहिलेको यो अवस्थामा आत्तिनु भन्दा पनि आफू रहेकै ठाउँमा सुरक्षित रहन र केही समस्या परेमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरिरहेको छ ।

परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली र श्रम, रोजगदार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले गन्तव्य देशमा हरेका नेपाली राजदूतसँग भिडियो कन्फ्रेन्समार्फत श्रमिकको अवस्थाबारे जानकारी लिंदै कोही श्रमिक यो बेला बेरोजगार भएमा खान र बस्नको व्यवस्था मिलाउन निर्देशन दिइसकेका छन् । उज्यालोसँग कुराकानी गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले विदेशमा रहेका श्रमिकलाई नआत्तिन, नियमित दूतावासको सम्पर्कमा रहन आग्रह गर्नुभएको छ ।

अहिलेको अवस्था नेपाल वा खाडीका देशमा मात्र नभएर संसारभरी नै भएकाले आउने र हुनसक्ने जोखिम र समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयमार्फत नेपाली दूतावाससँग समन्वय गरेर परिआउने समस्या समाधान गर्ने पनि बताउनुभएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया