‘लकडाउन’मा राहत बाँड्न रुपन्देहीका स्थानीय सरकारले लगत सङ्कलन गर्दै

 चैत १८, २०७६ मंगलबार १४:४७:४२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – केन्द्र सरकारले राहत दिनुपर्ने परिवारको पहिचान गरी असङ्गठित क्षेत्रका श्रमिकको लगत तयार पार्न स्थानीय सरकारहरुलाई जिम्मा दिएसँगै रुपन्देहीका ६ नगरपालिका र १० गाउँपालिका लगत सङ्कलनको तयारीमा जुटेका छन् । तर सैद्धान्तिक निर्णय गरेको सरकारले राहत वितरण कसरी गर्ने भन्ने कार्यविधि नपठाउँदा अलमल भएको उनीहरुको भनाइ छ ।

कोरोना भाइरसको जोखिम कम गर्न भन्दै सरकारले ‘लकडाउन’ घोषणा गरेको एक साता बितेको छ । यस अवधिमा दिनभर काम गरेर बेलुकाको गुजारा चलाउने मजदुरलाई छाक टार्न धौधौ हुन थालेको छ । 

बाटो, पुल, भवन र नहरजस्ता विकास निर्माणका काम गर्न बझाङ, बर्दिया, प्युठान, रोल्पा, सल्यान र सुनसरीलगायतका जिल्लाबाट आएका मजदुरलाई स्थानीय सरकारहरुले जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित जिल्लामा पठाइरहेका छन् । 

उनीहरुलाई बस तथा हाईसमार्फत गृह जिल्ला पठाइएको छ । उनीहरुलाई घरसम्म पुग्न लाग्ने खर्च सम्बन्धित निर्माण व्यवसायीहरुले ब्यहोर्ने गरेका छन् । 
तिलोत्तमा नगरपालिकाले लगत सङ्कलन गर्न टोल विकास संस्थाहरुलाई परिचालन गर्ने तयारी गरेको छ ।

त्यसो त तिलोत्तमा नगरपालिकाले आफनै स्रोत र साधनमा नगरभित्र रहेका १ हजार ९ सय ५० विपन्न परिवारलाई १० किलो चामल, २ किलो मसुरोको दाल र १ किलो नुन वितरण गरिसकेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । वडा कार्यालयको प्रमाणित कागजातको आधारमा विपन्न परिवारलाई प्रारम्भिक राहत प्रदान गरिएको प्रवक्ता श्रीको भनाइ छ । 

सुद्धोधन गाउँपालिकाले पनि लगत सङ्कलनको लागि वडाहरुमा फारम पठाइसकेको प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीले बताउनुभयो । ‘पहिला लगत सङ्कलन गर्छौँ । त्यसको प्रमाणीकरण गछौँ । अनि राहत स्वरुप दैनिक ज्यालादारी गरेर गुजारा चलाइरहेका श्रमिकलाई खाद्यान्न वितरण गर्ने योजना बनाएका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत मरासिनीले भन्नुभयो । 

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले वडामा रहेका २ हजार ५ सय मजदुरको लगत सङ्कलन गरी उपमहानगरपालिकामा बुझाइसकेको र केही टोल विकास संस्थाहरुबाट लगत आउने क्रममा रहेको बताउनुभयो । 

अध्यक्ष क्षेत्रीले लगत सङ्कलनपछि राहत प्याक बनाएर घरघरमा पुगी हस्तान्तरण गर्ने तयारी गरेको बताउनुभयो । नेपाल टेड युनियन काङ्ग्रेसका प्रदेश ५ का वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद बेल्बासेका अनुसार रुपन्देहीमा झण्डै २० हजारको सङ्ख्यामा दैनिक ज्यालादारी गरेर गुजारा चलाउने मजदुर रहेका छन् । 

अन्तिम अपडेट: फागुन २८, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया