बुधबारसम्म कोरोनाको १ हजार १ सय ३३ को नमुना परीक्षण : मन्त्रालय

 चैत १९, २०७६ बुधबार १८:३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोभिड-१९ को आशंकामा बुधबार सम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रनालयका प्रवक्ता डाक्टर विकास देवकोटाले देशभर अहिलेसम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको जानकारी दिनुभएको हो ।

उहाँले कोरोना भाइरसका पोजेटिभ केससँग सम्पर्कमा रहेका तथा नजिकका आफन्तको पछिल्ला नमुना परीक्षण नेगेटिभ आएको बताउनुभयो । उहाँले कोरोना संक्रमणको पोजेटिभ देखिएका केसको अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको पनि बताउनुभयो ।

डाक्टर देवकोटाका अनुसार, धनगढीको कोरोना पोजेटिभ देखिएका व्यक्तिको परिवार, नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको नमुना संकलन भइसकेको र परीक्षणको क्रममा रहेको छ । डाक्टर देवकोटाले महामारी नियन्त्रण तथा रोकथाममा कन्ट्रायाक्ट ट्रेसिङ अत्यन्तै महत्वपूर्ण भएकाले विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम पोजेटिभ देखिएका व्यक्तिको परिवार तथा नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वरेन्टीनमा राखेर आवश्यकता अनुसार नमुना परीक्षण गर्ने गरिएको उल्लेख गर्नुभयो ।  

उहाँले धनगढीको कोरोना पोजेटिभको केसमा संकलित १२ जनाको नमुना परीक्षणको क्रममा रहेको जानकारी दिनुभयो । कोरोना भाइरसको आशंका गरिएका ९९ जना अहिले काठमाण्डौ लगायत विभिन्न प्रदेशका आइसोलेसन वार्डमा उपचाररत रहेको जानकारी पनि डाक्टर देवकोटाले दिनुभयो ।

डाक्टर देवकोटाका अनुसार काठमाण्डौ बाहिरको प्रयोगशाला विस्तारको काम तीव्र गतिमा भइरहेको छ । उहाँले पोखरामा परीक्षण सुरु भएको र ४ वटा परीक्षण चलिरहेको, धरानमा १२ वटा नमुनाको परीक्षण चलिरहेको तथा हेटौडामा  बुधबार साँझसम्म परीक्षणको काम सुरु हुने बताउनुभयो ।

उहाँले अहिलेसम्म मन्त्रालयको नि:शुल्क कल सेन्टरमा ६ हजार ९ सय भन्दा बढी कलहरु आएको तथा गत २४ घण्टामा आएका २ हजार ३ सय २३ वटा कलको सम्बोधन भइसकेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया