कोरोना सङ्क्रमित भेटिएका कैलाली, कञ्चनपुर र बाग्लुङमा परीक्षण सुस्त

 चैत २७, २०७६ बिहिबार १०:४०:२८ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ - कोरोना सङ्क्रमित भेटिएका कैलाली, कञ्चनपुर र बाग्लुङ जिल्लाका स्थानीय सरकारका प्रमुखहरुले कोरोना परीक्षणमा ढिलाइ हुँदा स्थानीय बासिन्दामा त्रास बढेको बताएका छन् । सङ्क्रमित व्यक्ति भेटिएको दुई हप्तासम्म पनि सङ्क्रमितको सम्पर्कमा आएका सबैको परीक्षण नहुँदा नगरपालिकाबासी त्रसित रहेको बाग्लुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताउनुभयो ।

नगरपालिकाका दुई जनामा कोरोना सङ्क्रमण भेटिएपछि फैलिएको त्रास अहिले केही कम भएपनि सरकारले परीक्षणलाई तीव्रता नदिँदा डराएर बस्नुपरेको पौडेलको भनाइ छ । ‘दुई जनामा सङ्क्रमण देखिएको दुई हप्ता पुगेको, सङ्क्रमितका परिवारका सदस्यमा सङ्क्रमण नदेखिएको र सम्पर्कमा आएकाहरुमा पनि लक्षण नदेखिएकोले सङ्क्रमण फैलिदैन की भन्ने आशा बढेको छ । तर परीक्षणबाट मात्र ढुक्क हुन सकिन्छ,’ पौडेलले भन्नुभयो ।  उहाँले संघीय सरकारले र्यापिड टेष्टमार्फत परीक्षणलाई व्यापक बनाउने निर्णय गरेपनि कार्यान्वयन गर्न ढिलाइ गरेको आरोप लगाउनुभयो । यस्तो जटिल अवस्थामा सरकारले गरेका निर्णयहरु तत्काल कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ । 

मेयर पौडेलले नाकामा कडाइ, ज्वरो परीक्षण र सङ्क्रमितसँग सम्पर्कमा आएकाहरुको पहिचान गरी क्वरेण्टीनमा राख्नेजस्ता काम तीव्रताका साथ गरेको बताउनुभयो । आवश्यक भौतिक तयारी, सचेतनामूलक कार्यक्रम, ‘लकडाउन’ कार्यान्वयनजस्ता काममा पनि आफूहरु लागिपरेको पौडेलले बताउनुभयो । 

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका पनि सङ्क्रमणको उच्च जोखिम छ । नगरपालिकाका मेयर सुरेन्द्र विष्टले प्रदेश र सङ्घीय सरकारलाई पटक पटक आग्रह गर्दा पनि परीक्षणमा ढिलाइ भएको बताउनुभयो । कञ्चनपुरको बेदपुर नगरपालिकामा एक जनालाई कोरोना सङ्क्रमण देखिएपछि त्यो व्यक्तिलाई डुङ्गामा तार्ने र तर्ने तथा बेदपुर पुर्याउने सशस्त्र प्रहरी पनि भिमदत्त नगरपालिकाका भएकाले नगरपालिकाका बासिन्दा त्रसित छन् । यस्तै खुला सीमा र महाकालीवारि भएको एउटा भारतीय बस्तीको कारण पनि भिमदत्त नगरपालिका उच्च जोखिममा रहेको र नगरपालिकामा परीक्षणलाई व्यापक बनाउनुपर्ने मेयर विष्टको भनाइ छ । 

सङ्क्रमण नफैलियोस् भनेर सीमामा कडाइ, क्वरेण्टीनमा राख्ने प्रयास, सङ्क्रमितसँग सम्पर्कमा गएकाहरुको पहिचानलगायतको काम आफूहरुले गरेको मेयर बिष्टले बताउनुभयो । यस्तै चेतनामूलक कार्यक्रम, ‘लकडाउन’ कार्यान्वयनलगायतको काम पनि आफूहरुले गरेको तर पटक पटक आग्रह गर्दा पनि प्रदेश र सङ्घीय सरकारले परीक्षणमा ढिलाइ गर्दा जोखिम घटेको उहाँको भनाइ छ ।  

त्यसैगरी सङ्क्रमित भेटिएपछि कैलालीको धनगढी उपमहानगरपालिकामा पनि त्रास बढेको  छ । उपमहानगरपालिकाका मेयर निर्पबहादुर ओढले परीक्षणलाई व्यापक बनाउन ढिलाइ हुँदा स्थानीय बासिन्दामा डर कायमै रहेको बताउनुभयो । परीक्षण सुरु भएको भएपनि व्यापक नभएको र स्वास्थ्यसम्बन्धी उपकरणहरुको समेत अभाव रहेको उहाँले बताउनुभयो । 

मेयर ओडले क्वरेण्टीन र आइसोलेसन वार्ड निर्माण तथा भएका जनशक्तिलाई व्यवस्थित बनाउने काम आफूहरुले चुस्त रुपमा गरेको बताउनुभयो । यस्तै ‘लकडाउन’को कार्यान्वयनमा कडाइ गरेको भन्दै ओडले आफूहरुसँग भएका भौतिक संरचनासँगै होटलहरुलाई क्वरेण्टीनको रुपमा प्रयोग गर्न तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । सुरक्षा र स्वास्थ्यका उपकरणको अभाव रहेको र प्रदेश तथा सङ्घीय सरकारसँग ती सामग्री माग गरिएको उहाँको भनाइ छ । 

कोरोनाको सम्भावित सङ्क्रमण फैलिन नदिन र लामो ‘लकडाउन’को कारण समस्यामा परेकालाई सहयोग गर्न स्थानीय सरकारहरु सक्रिय भएर लागेका छन् । धेरैजसो स्थानीय सरकारले क्षमताअनुसार क्वरेण्टीन र आइसोलेसन वार्ड बनाएका छन् । बाहिरबाट आएकाहरुको लगत राख्नेदेखि आवश्यकताअनुसार क्वरेण्टीनमा राख्ने काम गरेका छन् । राहत बाँडिरहेका छन् र चेतनामूलक कार्यक्रमलाई तीव्रता दिएका छन् । 

एकाधबाहेक सबैजसो स्थानीय सरकारले सक्रियता देखिएपनि सङ्घीय सरकारले भने आवश्यक पूर्वतयारी, परीक्षण र स्वास्थ्य सामाग्री तथा सुरक्षाका उपकरण उपलब्ध गराउने काममा ढिलाइ गरिरहेको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् । सङ्घीय सरकारले भने बुधबारदेखि ती जिल्लामा र्यापिड टेष्ट सुरु गरिएको र परीक्षणले अब तीव्रता पाउने बताएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया