बालिका हत्या प्रकरणः माग पूरा भएपछि आफन्त शव बुझ्न सहमत

 साउन १२, २०७५ शनिबार २१:७:१३ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएको अवस्थामा फेला परेकी १३ वर्षीय बालिका निर्मला पन्तका परिवार शव बुझ्न सहमत भएका छन् । 
शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पीडित पक्ष र प्रहरी प्रशासनबीच सहमति भएपछि मृतकका आफन्त शव बुझ्न सहमत भएका हुन् । 

भीमदत्त नगरपालिकाको तर्फबाट पीडित पक्षले अघि सारेका माग स्थानीय सरकार र प्रशासनले पूरा गर्ने प्रतिवद्धता जाहेर गरेपछि मृतकका आफन्त शव बुझ्न सहमत भएको भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले बताउनुभयो । 

‘पीडित पक्षसँग दुई चरणमा छलफल भइसकेको छ’, पाण्डेयले भन्नुभयो ‘आइतबार बिहान फेरी एकपटक बसेर छलफल गर्ने भनेका छौ । परिवार शव बुझ्न सहमत भइसके । कानुनी प्रक्रिया पनि पुरा भइसक्यो ।’ 

उहाँका अनुसार निर्मलाको हत्यारा पत्ता लगाई दोष्ीालाई यथाशीघ्र सार्वजनिक गर्ने, घटनास्थलमा नियमित प्रहरी गस्ती र प्रहरी बिट स्थापनाका लागि

प्रशासनले पहल गर्ने, पीडित परिवारलाई न्याय दिलाउने र राहतका लागि नियमसंगत ढङगबाट पहल गर्ने सहमति भएको छ । 

त्रिपक्षीय सहमति भएपनि लिखित नभएकाले सहमतिका विषयमा स्थानीय सशंकित छन् । उनीहरुले स्थानीय सरकार र प्रहरी प्रशासनबाट सहमतिको लिखत माग गरेका छन् । 

उनीहरुले पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप १५ लाख माग समेत गरेका छन् । उता पीडित परिवारले भने शव आइतबार दाहसंस्कार गर्ने तयारी गरेका छन् । 


विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा


भीमदत्त नगरपालिका २ की स्थनीय सरस्वती माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा निर्मला पन्तको बलात्कार गरी हत्या भएपछि कञ्चनपुरका विद्यार्थी संगठनले तीन दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । 

शनिबार महेन्द्रनगरमा विभिन्न ६ विद्यार्थी संगठनको बैठकबाट तीन दिने आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरिएको हो । 

नेवि संघले आइतबार एकदिनका लागि शैक्षिक संस्था बन्दको घोषणा गरेको छ ।

यसअघि नेविसंघले शुक्रबारबाट हत्याको विरोधमा विरोध प्रदर्शन, शनिबार बजार बन्द र ४ घण्टाका लागी प्रदर्शनका कार्यक्रम गरेको नेवि संघ कञ्चनपुरका सदस्य किशोर प्रसाद जोशीले बताउनुभयो । 

उता, अन्य ५ विद्यार्थी संगठनले तीन दिने आन्दोलनको घोषणा गरेका छन् ।

अखिल क्रान्तिकारी, अनेरास्वियु, विप्लव-वैद्य क्रान्तिकारी र अखिल छैटौँले उनीहरुले छात्रामाथि भएको जघन्य बलात्कार र क्रुर हत्याको विरोधमा संयुक्त रुपमा आन्दोलनको घोषणा गरेको जनाएका छन् । 

५ वटै विद्यार्थी संगठनले आइतबार विरोध सभा गर्दै प्रशासनमा ज्ञापन पत्र बुझाउने, सोमबार दुई घण्टा जिल्ला प्रशासन कार्यालय घेरा गर्ने र मंगलबार शैक्षिक हडताल गर्ने घोषणा गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Ben bahadur thapa

    July 29, 2018, 5:18 a.m.

    हाम्रो देशको कानुन मा बलात्कारको दाेषीलाई लिङ्ग छेदन गर्ने व्यवस्था हुनु अत्यन्तै अावश्यक छ यसाे गरे बापत अपराधीलाई जीवन भरीकाे पश्चाताप र अरुको अगाडि यस्ता जघन्य अपराध गरे काे सजाय स्वरुप एउटा प्रत्यक्ष उदाहरण बनेर समाजमा बाँच्ने छ , यसरी बालिका तथा नारीहरु समाजमा निर्धक्क संग सुरक्षित रहने छन् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया