खाना बाेकेर सडक मानवसम्म पुग्छन् सहयाेगी हातहरु

 चैत २९, २०७६ शनिबार १६:२५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – देश 'लकडाउन'मा छ । आमनागरिक घरभित्र बसेका छन् । घर नहुने सडक मानव भने यतिखेर भोकै खुला आकाशमुनि अलपत्र छन् । तर पनि अहिलेसम्म उनीहरुले भाेकै बस्नु परेकाे छैन । 

हरेक दिन राति सात बजेदेखि रातो पीपीई सेट लगाएका चार जना अरनिको राजमार्गमा पर्ने नलिन्चोकदेखि जडिबुटीसम्मको सडक, कौशलटारको आकाशे पुल, मध्यपुरथिमि सिद्धीकाली लगायतका क्षेत्रमा अलपत्र रहेका सडक मानवकाे हातहातमा खाना पुर्‍याउन व्यस्त हुन्छन् । साथै उनीहरु सानाेठिमी, भक्तपुरको सल्लाघारी, दत्तात्रय, पाँचतले मन्दिर, कमलविनायक लगायतका नगरका भित्री क्षेत्रहरुमा पुग्छन् । 

चाँगुनारायण नगरपालिका ३ गेलालगाउँमा बेवारिसे सडक मानवको आश्रय बन्दै आएको मानव कल्याण समाज (सेवा घर) कि अध्यक्ष सुमित्रा चौलागाईँ नेतृत्व चार जनाको टोली यसैगरी हरेक रात हातमा खानाको पोको बोकेर सडक मानवसम्म पुग्छन् । आमाले कतिखेर खाना ल्याउलिन् भन्दै  सन्तानले कुरेजस्तै कतिखेर आइपुग्छ खाना लिएर सुमित्राको टोली भनेर रात परेपछि बाटो हेरेर बस्छन्, सहाराविहीन सडक मानव ।

भारी बोक्ने काम गर्दै आउनुभएका सिन्धुपाल्चोकका दिलबहादुर भुजेल पाटीमा बस्दै आउनुभएकाे छ । लकडाउन अघिसम्म भारी बोकेर जसोतसो ज्यान पाल्दै आउनुभएका उहाँ लकडाउनपछि भोकै पर्नुभयाे । तर विगत ११ दिनदेखि उहाँकाे बाँच्ने आधार बन्नुभएकाे छ, उनै मानव कल्याण समाज कि अध्यक्ष सुमित्रा चौलागाईँ ।

भुजेल भन्नुहुन्छ, 'काम पाइँन, बस्ने कोठा छैन, ५–६ दिन भोकै बसेँ, अचेल त राति तातो खाना खान पाइन्छ, सुमित्रा बहिनी आउँदा आमाले खाना ल्याए जस्तै लाग्छ, कहिले रात पर्ला र उनी खाना लिएर आउलिन् जस्तो हुन्छ ।' लकडाउनअघि भरिया काम गरेर बाँच्नेहरु, फोहर र प्लास्टीक टिप्नेहरु, जोगी र माग्दै जीवन टाल्ने सडक मानवहरु यतिखेर खुला आकाशमुनि भोकै देखेपछि एकछाक तातो खाना खुवाउने अभियानमा जुट्यो मानव कल्याण समाज ।

मध्यपुरथिमिको भित्री बस्तीको पाटीमा बस्दै आउनुभएका ६८ वर्षीय बुद्धिकुमार खड्का शाही बिरामी हुनुहुन्छ । दम र खोकीको बिरामी खड्का भन्नुहुन्छ, 'बुढो भए, सहारा कोही छैन, खान पाइँन । अहिले यी छोरीले ल्याइदिन्छिन्, बाँचिन्छ कि जस्तो लाग्न थालेको छ ।' उहाँ मात्रै हैन भारी बोकेर सडकमा जीवन गुजारा गर्दै आउनुभएकी पर्वतकी सुमित्रा गिरी, भीम राई, ज्यामी काम गर्ने धरानका सुमन राई, सिन्धुलीका चन्द्रबहादुर राई लगायत ६ वर्षदेखि ६८ वर्षसम्मका ५० जनाभन्दा बढीको अवस्था अहिले उस्तै छ ।

भारी बोकेर जीवन गुजार्ने राई पाइन्टको गोजीको नाम्लो देखाउँदै भन्नुहुन्छ, 'काम छैन हजुर, घर जान पनि पाइएन, यता खान पनि पाइएन । सरकारले दिने राहत हामीले पाएनौँ, पाए पनि पकाउने ठाउँ छैन । अहिले राति खाना खुवाउन भाइबहिनी आउँछन्, खुसी लागेको छ ।' 

चन्द्रबहादुर झ्याप्लेको छोरा ड्राइभर हुनुहुन्छ, अहिले कहाँ छन् थाहा छैन, श्रीमती पनि साथमा नभएपछि अहिले उहाँकाे बास पाटीमा छ । लकडाउनले सडक मानवको दयनीय अवस्था देखेपछि सडकमा रहेका मानिसहरुको खोजी गर्दै अहिले ५० जनालाई राति खाना खुवाउने गरेको मानव कल्याण समाज भक्तपुरकी अध्यक्ष सुमित्रा चौलागाईँ बताउनुहुन्छ ।

'हाम्रो सेवा घरमा अहिले पनि नौ जना बालबालिकादेखि ६३ जना सडक मानवलाई आश्रय दिइरहेका छाैँ । लकडाउनमा सडकमा बस्नेहरु भोकै भएको थाहा पायौँ, त्यसैले बेलुका एकछाक तातो खाना खुवाउने अभियान सुरु गर्‍याैँ, अब लकडाउनभरि बेलुकाकाे खाना खुवाउँछौँ ।' अनुगमनका क्रममा जिल्लाभित्र ५० जना यस्ता मान्छे भेटिएपछि झौखेलकाे सेवा घरका पाँच जना स्वयंसेवकको टोली खाना, तरकारी, अचार प्याक गरी दाल थर्मसमा राखेर, पानी सहित रात परेपछि खाना खुवाउन सडकमा जानु अहिले दैनिकी बनेको छ ।

यसका लागि सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले स्थापना गर्नुभएको मानवीय आस्था नेपालले खाद्यान्न उपलब्ध गराएको छ भने गोपी न्यौपाने संयोजक रहेको नागरिक हेल्थ ट्रस्टले उनीहरुका लागि पाँच सेट पीपीई, मास्क (मुखावरण), पञ्जा, स्यानिटाइजर उपलब्ध गराएको छ । सडकमा मानिस भोकै भएको थाहा पाएर सडक मानवको उद्धार गर्दै आएको मानव कल्याण समाजलाई रासन उपलब्ध गराएर खाना खुवाउने व्यवस्था मिलाएको सांसद बस्नेत बताउनुहुन्छ ।

वेभ ग्रुपका अध्यक्ष एवम् हनुमन्ते सफाइ अभियन्ता नरेश रञ्जित आ–आफ्ना वडामा रहेका बेसहारा मानवलाई वडामार्फत खाना खुवाउने व्यवस्था नगरपालिकाहरुले गर्न नसक्नु बिडम्बना भएकाे बताउनुहुन्छ । स्थानीयहरु सडक मानवमुक्त गर्ने सरकारको घोषणालाई साकार पार्न उनीहरुको उद्धार गर्छौ भनेर सरकारसँग बर्सेनि करोडाैँ लिने संस्थाले यिनै सडक मानवलाई अहिले नदेखेको गुनासो गर्छन् ।

स्थापना भएको  डेढ वर्षको अवधिमा समाजले दुई सय बेसहारा सडक मानवको उद्धार, ७५ लाई परिवारसँग पुर्नर्मिलन गराएको र १८ काे मृत्यु भएपछि प्रहरीकाे सहयाेगमा दाह संस्कार गराएकाे समाजकी अध्यक्ष चौलागाईँ बताउनुहुन्छ । कोरोनाका कारण तत्काल सडक मानवको उद्धार गर्न समस्या भए पनि लकडाउन खुलेपछि उनीहरुको उद्धार गर्ने समाजले तयारी गरेको छ ।

भक्तपुर अस्पतालका क्विक रेस्पोन्स टिमका अरुण सैजूको अनुरोधमा शनिबारदेखि भक्तपुर अस्पताल, क्यान्सर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्रमा भर्ना भएका बिरामी, कुरुवा र आइसोलेशनमा उपचारमा रहेका झण्डै ५० जनालाई निःशुल्क खाना खुवाउन सुरु गरेको समाजकी अध्यक्ष चौलागाईँ भन्नुहुन्छ । 

सरकारको सहयोग नरहे पनि स्थानीय विभिन्न दाताले दिने खाद्यान्न लगायतको सहयोग, जन्मोत्सव, विवाहोत्सव, पितृको तिथि लगायतमा दिने दानले संस्था चल्दै आएको छ । अहिले नौ जना बालबालिका सहित ६३ जना रहेको समाजले ओमकृष्ण सेवा सदनले उपलब्ध गराएको भवन र अर्को २५ हजार मासिक भाडा तिरेर लिएको घर साहाराविहीनहरुकाे आश्रय बन्दै आएको छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया