‘लकडाउन न्युजरुम’ : हामी एकान्तबासबाटै ‘ड्युटी’मा छौँ, तपाईंहरु पनि घरमै बस्नुस्

 बैशाख ३, २०७७ बुधबार १६:४७:४८ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - बिहान ४ बजे कहिले रत्न दाइ त कहिले बाबु दाइको मोबाइलबाट रिङ बज्थ्यो । त्यो रिङ बज्न छोडेको आज २१ दिन भएछ । अँध्यारोमै उज्यालो घरको ‘न्युजरुम’ पुग्दा छुट्टै चहलपहल सुरु भइसकेको हुन्थ्यो । पाँच बजे रेडियो खोल्ने चाँजो मिलाउन प्राविधिक त्यसअघि नै पुगिसकेका हुन्थे । ताजाताजा समाचारका लागि पत्रिका पल्टाउने, समाचार खोज्ने र बनाउने चटारो पौने छ बजेसम्म हुन्थ्यो । छोटो समयमा समाचारको ‘हेडलाइन’ बनाउने, ‘क्यू’ मिलाउने र कायाकैरनको ‘सिग्नेचर ट्युन’ नबज्दै स्टुडियोमा पुग्ने हतारो हुन्थ्यो ।  

त्यो बिहानको दैनिकी लकडाउनले अहिले फेरिदिएको छ । चार महिनाअघि चीनको वुहानमा देखिएको कोरोना भाइरस विश्वका दुई सय दश देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको छ । जसको प्रभावले विश्वका अर्बौं मानिसकोजस्तै हामी र हाम्रो ‘न्युजरुम’को दैनिकी बदलिएको छ । हिजोजस्तो लाग्छ चीनको वुहानलाई कोरोनाले त्रस्त भएको खबर पढेको । बिस्तारै यूरोप, अमेरिका र दक्षिण एसियामा कोरोना फैलिएको खबर लेखेको र पढेको पनि हिजोजस्तो नै लाग्छ । 

एक सय ६२ देशमा कोरोनाको सङ्क्रमण फैलिँदा वल्र्डओमिटरले नेपाललाई ‘ग्रिन जोन’मा समेटेको खबर बनाउँदा र पढ्दा हामी सुरक्षित रहेको अनुभूति गरेका थियौँ । कोरोना सङ्क्रमित भेटिएका तर उनीहरु निको भैसकेपछि त्यस्ता देशलाई वल्र्डओमिटरले ‘ग्रिन जोन’मा राख्ने गर्छ । गएको माघ ९ गते चीनबाट आएका पुरुषमा पहिलो पटक कोरोना पुष्टि भएको थियो । उनी उपचारपछि निको भए । त्यसपछि फेरि ‘ग्रिन जोन’मा परेको नेपाल गएको चैत १० गते दोस्रो सङ्क्रमित भेटिएपछि वल्र्डओमिटरको ‘ग्रीन जोन’बाट हट्यो । 

नेपालका १६ जनासँगै विश्वका विभिन्न देशमा गरी सङ्क्रमितको सङ्ख्या २० लाख नाघिसकेको छ । चार लाख ८४ हजारभन्दा धेरै सङ्क्रमित उपचारपछि निको भएका छन् । तेर्ह लाखभन्दा धेरैको उपचार चलिरहेको छ भने एक लाख २६ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । 

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बुधबार ११ हजार नाघेको छ । तीन सयभन्दा बढीको ज्यान गइसकेको छ । त्यहाँ सङ्क्रमण फैलिएपछि खुला सीमा र रोटीबेटीको सम्बन्ध रहेको नेपाल कसरी अछुतो रहन सक्थ्यो र ! स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ पुगेको छ । सुरुमा विदेशबाट आएका नेपालीमा देखिएको कोरोना चैत २२ गतेदेखि स्थानीय रुपमै अर्को व्यक्तिमा सरेर सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको छ । 

विश्व स्वास्थ्य सङ्गठनको अनुसार विदेशबाट आएका व्यक्तिबाट परिवार, आफन्त वा साथीभाइमा कोरोना सर्नु दोस्रो चरण हो । कसले कसलाई सारेको हो भन्ने थाहा नहुनु तेस्रो चरण हो । चिकित्सकले तेस्रो चरणलाई महामारी भन्ने गरेका छन् । कोरोनालाई दोस्रो चरणबाट तेस्रो चरणमा प्रवेश गर्न नदिन हाम्रो भूमिका महत्वपूर्ण छ । 

वनमा लागेको डढेलोबाट एउटा रुखलाई कसरी जोगाउन सकिन्छ ? अहँ, सम्भव छैन । डढेलो लागेपछि निभाउन पोखरी वा खोला खोज्नुभन्दा लाग्नै नदिनु उत्तम हो । विश्वभर यसको नियन्त्रणका निम्ति एउटै मात्र उपाय लकडाउन देखिएको छ । हामीले यसको उल्लङ्घन गरे त्यसको परिणामको भागिदार हामी नै हुनुपर्छ । जसरी डढेलोले जङ्गलका ठूला र साना बोटबिरुवालाई विभेद गर्दैन त्यसरी नै रोगले हामी कसैलाई छाड्ने छैन । तपाईं एकजनाले लकडाउन उल्लङ्घन गरे परिवार, समाज र पूरै देशमा महामारी फैलिने खतरा हुन्छ । त्यसैले राज्यले आफ्नो लागिभन्दा पनि जनताको स्वास्थ्यका लागि गरेको लकडाउनको उल्लङ्घन नगरौँ । आफू बचौँ र अरुलाई पनि सङ्क्रमणबाट बचाऔँ । 

विश्वव्यापी महामारीबाट आफू जोगिने र अरुलाई सचेत गराउने हाम्रो खबरदारी घरघरबाटै निरन्तर चलिरहेको छ । राज्यको चौथो अङ्ग भनिने सञ्चारमाध्यमलाई लकडाउनले रोकटोक गरेको छैन । निर्बाध रुपले अफिस गएर काम गर्न हामी स्वतन्त्र छौँ । तर हामी ‘न्युज रुम’मा जम्मा भएर गर्ने काम घरघरबाटै गर्दैछौँ । 

एक जना प्राविधिक साथी उज्यालो घरको एकान्त बासमा बस्नुहुन्छ । अफिस जाने, त्यहाँ काम गर्ने र घर फर्किने हाम्रो दैनिकी अहिले तोडिएको छ । हामी सबै घरघरबाटै प्रविधिको प्रयोग गरेर समाचार खोज्छौँ । 

त्यतिमात्र होइन, समाचार बुलेटिनको ‘ओपनिङ’ पनि फेरिएको छ । बिहान ६ बजेको ‘कायाकैरन’ र राति ८ बजेको ‘नेपाल दर्पण’ साथी मिलनले कीर्तिपुरको एकान्तबासबाट पढ्नुहुन्छ । बिहान ८, ९ र १२ को ‘नेपाल खबर’ साथी लक्ष्मणले भक्तपुरको बालकोट र म ललिपुरको नखिपोटबाट पढ्छौँ । दिउँसो ३, साँझ ५ र ६ बजे दीपाले कलङ्की र टेकमानले सीतापाइलाको एकान्तबासबाट पढ्नुहुन्छ । साथीहरु भोजेन्द्र, अर्जुन र मदनले घरघरबाटै रिपोर्ट बनाउनुहुन्छ भने उज्यालो अनलाइनको काम सबै साथीहरुले घरघरबाटै गरिरहनुभएको छ । 

हामी सिङ्गो ‘न्युजरुम’लाई प्रविधिको सहयोगमा घरघरबाटै सञ्चालन गरिराखेका छौँ । दैनिक हुने ‘न्युजरुम मिटिङ’ अनलाइनबाटै हुन्छ । कामको बाँडफाँड त्यही मिटिङले गर्छ । प्रविधिको उपयोगले रेडियोको काम त सम्भव भएको छ भने तपाईं आफ्नो दैनिकी यो बन्दाबन्दीमा सजिलैसँग किन बिताउन सक्नुहुन्न ? अहिलेलाई ‘मर्निङ वाक’ छोडिदिनुहोस् । घरभित्रै शारीरिक कसरत गर्नुहोस् । मिठो खोज्न बाहिर दौडिनुभन्दा आफ्नै ‘किचन’को पुरानो बट्टाको गुन्द्रुक र सिन्कीमा झोल हाल्दै खानुहोस् । आफू र आफ्नो परिवारलाई सङ्क्रमणबाट जोगाउनुहोस् ।

फुर्सदमा नयाँनयाँ पुस्तक पढ्नुहोस् । केही नयाँ काम गर्नुहोस् । परिवारसँग बस्ने, उनीहरुसँग आफ्ना कुरा साट्ने, उनीहरुका कुरा सुन्ने अनि आउँदा दिनमा कसरी अघि बढ्ने भन्ने योजना बनाउनुहोस् । यसलाई तनाव होइन, अवसरको रुपमा लिनुहोस् । 

विज्ञान र प्रविधिलाई चुनौती दिएर फैलिएको कोरोनालाई जित्न सक्ने औषधि वा खोपको लागि विभिन्न अनुसन्धान भइरहेका छन् । कोरोनाको आजको औषधि भनेको लकडाउन नै हो । हिजो अमेरिका, इटली र स्पेनजस्ता देशमा लकडाउन पालना नगर्दा कोरोना महामारीकै रुपमा फैलिएको छ । त्यो अवस्थाबाट नेपाललाई जोगाउन खान नमिल्ने तर घरमै बसे रोगले छुनै नसक्ने लकडाउन औषधिको पूर्ण पालना गरौँ । कोरोना महामारीबाट सुरक्षित रहौँ । 

अन्तिम अपडेट: चैत ११, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

1 Comments

  • अर्जुन परियार दाङ

    April 15, 2020, 7:09 p.m.

    म उज्यालोका समाचारहरु कायाकैरन, नेपाल दर्पण निरन्तर सुन्छु । उज्यालोले लकडाउन भए देखि आफ्ना सबै कार्यक्रम एकान्तबासबाट सुरक्षीत तरिकाले प्रशारण गरिरहेको छ । तर प्राय स्थानीय रेडियोहरुका कर्मचारीहरु भने अहिले सम्म आफू सुरक्षित हुनु पर्छ भन्ने कुरा बुझ्न नसकेको जस्तो लायो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया