डा.पुनलाई स्पष्टीकरण नसोधिएको स्वास्थ्य मन्त्रालयको दावी

 बैशाख ७, २०७७ आइतबार १८:४१:५४ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टीकरण नसोधिएको बताएको छ । 

मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सह-सचिव रघुराम विष्टले डा. पुनलाई स्पष्टीकरण नसोधिएको बताउनुभयो । मन्त्रालयले डा. पुनलाई पठाइको पत्रमा स्पष्टीकरण सोधिएको भनी प्रकाशन/प्रसारण भएका समाचार सत्य नभएको उहाँको भनाइ छ ।

‘अस्पतालको काममा बाधा नपर्नेगरी कोभिड–१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउन उपस्थित हुन’ भनेर पत्राचार गरिएको सह-सचिव विष्टले बताउनुभयो । सञ्चारमाध्यममा सत्यतथ्य नबुझी समाचार प्रकाशित गरिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण भएको सह-सचिव विष्टले बताउनुभयो । 

विष्टले विनाप्रमाण समाचार बनाउने र मन्त्रीको चरित्र हत्या गर्ने काम सञ्चारमाध्यमहरुबाट भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रालयले पठाएको पत्रमा उहाँलाई स्पष्टीकरण सोधेको भनी कपोलकल्पित समाचार प्रसारण, प्रकाशन गर्नु खेदपूर्ण छ ।’

मनगणन्ते हेडलाइनका समाचार बनाएर मन्त्रीको चरित्रहत्या गर्ने र कोभिड-१९ रोकथाम, नियन्त्रण उपचारमा खटिने टिमको ध्यान भंग गरी जनतामा नैराश्य छर्ने काम भएको सहसचिव विष्टको भनाइ छ । 

 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया