असिना पानीले अछामकाे मङ्गलसेनमा लगाइएकाे गहुँबाली नष्ट, ६ बाख्रा मरे

 बैशाख १२, २०७७ शुक्रबार ९:५६:६ | चन्द्र थापा
unn.prixa.net

अछाम – बिहीबार साँझ परेको असिना पानीले अछामकाे मङ्गलसेन नगरपालिका १ का विभिन्न ठाउँका गहुँबालीमा क्षति पुगेकाे छ । वडाको लेकाली भेग आगरतोला, पिठिबान्ना–दोबाटाखाललगायतका ठाउँमा पाक्नै लागेको गहुँबाली असिना पानीले सखाप बनाएको हो ।

असिना पानीले स्थानीय किसानहरुले लगाएको गहुँसहित जौ, मसुरो, कलालगायत तेलहन बालीमा पनि क्षति पुगेकाे स्थानीय किसान रामबहादुर साउदले जानकारी दिनुभयो । असिना पानीले बीउसमेत नरहने गरी गहुँबाली सखाप बनाएको उहाँको भनाइ छ ।

यस्तै असिना पानीले स्थानीय लालबहादुर थापा र गगने थापाका तीन/तीन वटा बाख्रा मरेका छन । जङ्गलबाट चराएर फर्काउँदै गरेको अवस्थामा असिना परेपछि बाख्रा मरेको लालबहादुर थापाले बताउनुभयो । असिना १२ घण्टासम्म पनि नपग्लिने गरी जम्मा भएको उहाँको भनाइ छ ।

हिउँदमा पर्याप्त पानी परेका कारण सप्रिएको गहुँबाली भित्र्याउनै लाग्दा असिनाले सखाप बनाएपछि किसानहरु भाेकमरी लाग्ने हाे कि भन्ने चिन्तामा छन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया