दल दर्ता प्रक्रिया रोक्न निर्वाचन आयोगमा निवदेन

 वैशाख १४, २०७७ आइतबार १७:३१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी एक भइ बनेको जनता समाजवादी पार्टीको दल दर्ता प्रकृया रोक्न निर्वाचन आयोगमा निवदेन परेको छ। 

नेपाललाई ‘बहुराष्ट्रिय राज्य’ कायम गर्ने उद्देश्य राखेको पार्टीको दल दर्ता प्रकृया रोक्न राष्ट्रिय युवा संघ नेपालका अमित लामा र अधिवक्ता विपिन ढकालले आयोगमा निवेदन दिनुभएको हो । 

दुवै दलको सहमति पत्रमा उल्लेख भएको ‘बहु राष्ट्रिय राज्य’ भन्ने व्यहोरा नेपालको संविधान विपरित भएको उल्लेख गर्दै दल दर्ताको प्रकृया रोक्न निवेदन दिइएको अधिवक्ता ढकालले बताउनुभयो । 

बहुराष्ट्रिय भन्नाले छुट्टै देश भन्ने अर्थ झल्कने गरी दल दर्ता प्रस्ताव गरिएकोमा प्रकृया रोक्न आयोगमा निवेदन दर्ता गरिएको उहाँको भनाइ छ । ‘पार्टीले प्रयोग गर्ने भनिएको झण्डासमेत बुर्किमा फासो देशको झण्डासँग मेल खाएकाले त्यसले परराष्ट्र सम्बन्धमा प्रतिकूल असर पर्छ’, उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघको वडापत्रमा प्रत्येक सदस्य राष्ट्रको सार्वभौमिकतालाई प्रत्येक सदस्य राष्ट्रले मान्यता दिनुपर्ने प्रवधान विपरित छ ।’ 

नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षाका लागि दल दर्ता प्रकृया रोक्न माग गरिएको अभिवक्ता ढकालले बताउनुभयो । युवासंघ नेपालका सह-संयोजक रमेश पौडेलले जातिय रुपमा समाज विभाजित गर्ने, देशलाई खण्डखण्ड गरेर टुक्राउने चलखेल भइरहेकाले त्यसलाई रोक्न पनि दर्ता प्रकृया रोक्न माग गर्नुभयो ।

बिहीबार राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकृत भइ बनेको ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ । 

दल दर्ता गर्न राजपा अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो, सरदसिंह भण्डारी, समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लागयतका नेताहरु कान्तिपथमा रहेको निर्वाचन आयोगको कार्यालय पुग्नुभएको थियो ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • बिजय कुमार श्रेष्ठ

    April 27, 2020, 3:11 p.m.

    यो नयाँ पार्टी जातीय, वर्ण र क्षेत्रीयताको आधारभूमिमा नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको बर्खिलाप क्रियाकलाप गर्ने र नेपालभन्दा अन्य राष्ट्रको हित नै आफ्नो हित ठान्ने ब्यक्तिहरुको झुण्डले खोलेको हुनाले यश पार्टी दर्तामा विशेष ध्यान दिनु आवस्यक छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया