पहिलाे हाफमा नेपाल र म्यानमारबीच २–२ गाेलकाे बराबरी
फागुन ११, २०८१ आइतबार
युरोपेली युनियनले नेपाललाई उडान सुरक्षाको कालोसूचीमा राख्दा पनि हाम्रोमा राता, पहेँला, हरिया, सेता र नीलाहरूको जगजगी थियो । अहिले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी लगानीको जोखिमपूर्ण खैरो सूचीमा पर्दा पनि हाम्रो खान्दानी रङ्ग हराएको छैन । सत्ता र प्रतिपक्षमा बाँडिएका नेताहरू मात्रै होइनन्, हामी नागरिक पनि थरीथरी रङ्गमा रङ्गिएका छौँ । रङ्गहरूको दुनियाँमा थरीथरीका रङ्ग मिसाउँदा अर्को नयाँ रङ्ग बन्छ । यस्तै रङ्ग भएका दलहरू आलोपालो सत्ता र प्रतिपक्षमा मिसिँदा संसारले नेपाललाई कहिले कालो देख्ने गरेको छ, कहिले खैरो ।
रङ्गहरूकाे विज्ञान बुझ्नुअघि नागरिकलाई रङ्गीन सपना बाँड्ने दलहरूका खान्दानी रङ्गलाई नजिकबाट नियालौंँ ।
सबैभन्दा ठूलो दल काङ्ग्रेसको झण्डा र चुनावमा रातो, सेतो र हरियो रङ्ग मिसिएको छ । त्यसैले उसलाई रातो र सेतोसँगै हरियो रङ्ग पनि उल्कै मन पर्छ । एमालेको झण्डा हेर्दा थाहा हुन्छ, उसलाई रातो र सेतो मात्रै मन पर्छ, अनि माओवादीलाई चाहिँ रातोबाहेक अरू केही मन पर्दैन । नाममा कम्युनिस्ट झुण्ड्याइरहेका अरू साना–ठूला पार्टीहरू पनि रातो र सेतै बढी मन पराउँछन् । राजासँगको उठबस र आशीर्वादलाई क्रान्ति ठान्ने राप्रपालाई पहेँलो र नीलो बढी मन पर्छ । मधेशका पार्टीहरू चाहिँ रातो र हरियो मन पराउँछन् । अनि आफूलाई अरूभन्दा जान्ने हो भनेर ठान्ने रास्वपाले सेतो र नीलो रोजेको छ ।
दलहरूलाई रातो, सेतो, नीलो, हरियो र पहेँलो रङ्ग उल्कै मन पर्नुको आफ्नै कारण छ । रातो रङ्गलाई ऊर्जा, जोश र विजयको प्रतीक मानिन्छ । सुख, शान्ति, स्फूर्ति दिने रङ्गका रूपमा हरियो रङ्गलाई लिइन्छ । सेतो रङ्ग पवित्रता, शुद्धता, विद्या तथा शान्तिको प्रतीक हो । नीलो रङ्गलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ । पहेँलो रङ्गलाई ज्ञान तथा विद्या, सुख–शान्ति, अध्ययन, विद्वता, योग्यता, एकाग्रता, मानसिक तथा बौद्धिक उन्नतिको प्रतीकका रूपमा लिइन्छ । त्यसैले रङ्गमा भएका यी सबै गुणहरू आफू र आफ्नो पार्टीमा मात्रै छ भनेर दलहरूले आफ्नो झण्डालाई थरीथरीका रङ्गले रङ्ग्याउने हानथाप गरेका हुन् ।
उबेला देशमा राताहरूको जगजगी थियो । ऊर्जा, जोश र विजयको प्रतीक रातो रङ्ग अल्छीहरूलाई पनि मन पर्ने, हरुवाहरूलाई पनि त्यही चाहिने । आफूलाई क्रान्तिकारी भन्नेहरूले त कपाल पनि रातै बनाउँथे । नेपाल पनि रातै पार्छाैं भनेर भाषण ठोक्थे । तर रातो पार्छाैँ भनेर उफ्रिँदा उफ्रिँदै यिनीहरूले दिउँसै रात पारे । जात र भात भन्दै अरूलाई उचालेर आफूतिर खातैखात बनाए । अहिले यिनीहरूको झण्डामा मात्रै रातो छ । थैलोको धन र आफ्नो मन चाहिँ कालो भैसकेको छ । पहिले रातो मन पर्नेको अहिले मन कालो । झण्डाको टालोदेखि कार्यालयको भित्तोसम्ममा नीलै पोत्नेहरूको पनि मन कालो । पहेँलोमा पौडिनेहरू र कालै मन पराउनेहरू त यसै पनि कालो भैहाले । कालो मन भएकाहरूको कालाकर्तुत र कालोधन बढ्दै जाँदा सत्ता र प्रतिपक्षमा कालो रूप भएका मान्छेहरूको जगजगीले शुरूमा जग हाँस्थ्यो, अहिले जग हल्लिरहेको कुरा जगजाहेर नै छ ।
नीलोक्रान्ति भन्दै बुरुकबुरुक गर्नेको रूप पनि कालो रैछ । सेतो, रातो, हरियो र पहेँलो टालो फर्फराउँदै जङ्गल, दरबार, सडक र सत्ता चाहार्दै हिँड्नेहरू त दौडधुप र धपेडीले नै कालो हुन गए । त्यसमाथि सत्ता र प्रतिपक्षमा थरीथरीका रङ्ग भएका अनुहार पालैपालो मिसिँदा पनि देश कहिले कालो र कहिले खैरो स्वरूपमा देखिन थालेको छ ।
रङ्गहरूको विज्ञान अनुसार रातो, नीलो र हरियो रङ्गलाई आधारभूत रङ्ग भनिन्छ । यी रङ्गहरू विभिन्न मात्रामा मिसाउँदा अरू रङ्गहरू बन्छन् । रातो र नीलो मिसाउँदा बैजनी रङ्ग बन्छ । बैजनीमा हरियो मिसाउँदा गाढा र मैलो रङ्ग देखिन्छ । यो मिश्रणले प्रायः खैरो या गाढा खैरो रङ्ग बनाउँछ । रातो, नीलो र पहेँलो समान अनुपातमा मिसाउँदा गाढा खैरो या कालो जस्तो गाढा रङ्ग बनाउँछ ।
सत्तामा पहिलेदेखि अहिलेसम्म यस्तै रङ्ग भएकाहरूको मिश्रण अदलबदल भैरहेको छ । त्यसैले शासकहरूको कार्यशैली कहिले कालो देखिन्छ, कहिले खैरो । रङ्गको विज्ञान अनुसार सेतो रङ्गमा अरू मिसाउँदा रङ्गहरूकाे चहकिलोपन बढ्दै जान्छ । कालो रङ्गमा अरू रङ्ग मिसाउँदा फिक्कापन बढ्दै जान्छ । अहिले संस्कृति र प्रकृतिमा समेत कालो रङ्गको मात्रा बढ्दै जाँदा राजनीतिमा चहकिलोपन खोज्नु खैरो र कालोसूचीबाट पार पाउनु जत्तिकै गाह्रो छ । तर देखेको कुरा भनौँ भने होली नआउँदै अनुहारमा कालोमोसो दलिदिने पो हुन् कि डरले कलम लगलग गर्न थाल्यो । अब मैले लेख्न मन लागेर पनि लेख्न आँट नगरेको कुरा तपाईं स्वतः बुझ्नु हुन्छ भने मैले बढी किन बोल्नु... किन लेख्नु ....!
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।