माैसम बदली : चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना

 बैशाख १६, २०७७ मंगलबार ७:५०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – अहिले देशका धेरै ठाउँको मौसम बदली भइ केही ठाउँमा पानी परिरहेको छ । केही ठाउँको मौसम भने आशिंक बदली भएको छ ।

पूर्वमा बनेको न्यून चापीय क्षेत्रसँगै, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिरहेकाले देशका धेरै ठाउँको मौसम अहिले बदली भइ केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले धनकुटा आसपासका क्षेत्रमा पानी परिरहेको छ भने डढेल्धुरा, धनगढी, जुम्ला, बाराको सिमरा आसपासको मौसम खुल्न सकेको छैन । अरु ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली भएको छ ।

एकैपल्ट धेरै प्रणाली सक्रिय भएकाले अहिले खुलेको ठाउँको मौसम पनि दिउँसोपछि बदली हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभरिकै मौसम सामान्य बदली भइ धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना छ ।

यस्तै आज राति पनि देशभरिकै मौसम बदली भइ मध्य र पूर्वका केही तथा पश्चिमका थोरै ठाउँमा पानी पर्नेछ । बुधबार र बिहीबार पनि देशभरिकै मौसम बदली भए पनि आजको भन्दा कम पानी पर्ने मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया