उज्यालो सम्झना : खोकी लाग्दा मन्त्रीको फोन !

 बैशाख १६, २०७७ मंगलबार १२:४२:५४ | मिलन तिमिल्सिना
unn.prixa.net

कोरोनाको जोखिमबाट आफू बच्ने र अरुलाई पनि बचाउने उदेश्यले एकान्तवासबाटै समाचार प्रस्तुत गर्न थालेको एक महिना पुगेकै दिन यसअघि कहिल्यै नभोगेको घटना भोग्नुपर्‍याे । 

बिहान ६ बजेको कायाकैरन प्रस्तुत गर्दै थिएँ, एक्कासी घाँटीमा केही आएर बसेजस्तो भयो । अरुबेला घाँटीमा यस्तो समस्या हुँदा खोक्दा ठिक हुन्थ्यो । तर समाचार वाचन गरिरहेको बेला खोक्न मिलेन, खोकी रोक्न खोजेँ । तर खोकी रोक्न खोज्दा झन् समस्या भयो । समाचार पढ्दापढ्दै स्वर भासियो, गला अवरुद्ध भयो, पढ्नै सकिनँ । नजिकै पानीको ग्लास थियो, हत्तपत्त पानी पिएँ, तै पनि भएन । 

एकान्तवासमा एक्लै छु । अफिस नगएर एकान्तवासबाटै समाचार वाचनलगायतका काम गर्न थालेकोले सँगै अर्को साथी पनि छैन । स्टुडियोमा रहेका प्राविधिक साथीसँग फोन र मेसेन्जरमा मात्रै कुरा हुन्छ । स्टुडियोमा भएको भए, यस्तो समस्या हुँदा अर्को साथीले समाचार पढ्छन्, प्राविधिकले थाहा पाएर उतिखेरै मिलाउँछन् । तर एकान्तवासमा यो सम्भव भएन । पढ्न खोज्छु, सक्दिनँ । खोक्दा हुन्छ कि भनेर खोकेर घाँटी सफा गरेँ, अझै भएन । के गर्ने, कसो गर्ने अलमल भयो ।

सम्झेँ, म पो एकान्तवासमा एक्लै छु, तर मेरो आवाज लाखौँले सुनिरहनु भएको छ । यतिबेला म एकछिन मात्रै अड्कँदा कायाकैरन सुनिरहेका सबैलाई अन्याय हुन्छ, मैले जसरी पनि पढ्नुपर्छ । कोसिस गर्दागर्दै एक मिनेट त्यसै बित्यो । एक मिनेटपछि भासिएको स्वर फर्कियो । सामान्य अवस्थामै कायाकैरन सकेँ ।

कायाकैरन सकेपछि लाग्यो, मैले आज जिन्दगीमा पहिलो पटक ठूलो गल्ती गरेँ । रेडियोमा चार/पाँच सेकेण्ड प्रसारण रोकिनु पनि क्षम्य हुँदैन । तर मेरो कारण झण्डै एक मिनेट प्रसारण रोकियो । त्यो पनि देशकै सबैभन्दा धेरैले सुन्ने दैनिक रेडियो समाचार पत्रिका कायाकैरनमा, उज्यालोसहित दुई सयभन्दा धेरै एफएम रेडियो स्टेशनमा !

हो, मान्छेको स्वास्थ्य कहिलेकाहीँ गडबड हुन्छ, यस्तो समस्या आइपर्छ । तर जेजस्तो भए पनि मैले समाचार बिगार्न हुँदैन थियो । गल्ती भयो । मैले स्वभाविक स्वास्थ्य समस्याभन्दा पनि यसलाई आफ्नो गल्ती बढी ठानेँ । 

अरु दिन कायाकैरन सकेर बाहिर चौरमा योग गर्न जान्थेँ । एकछिन नाचगान र रमाइलोमा सहभागी हुन्थेँ । तर त्यो दिन बाहिर निस्कनै मन लागेन, कम्प्युटर चलाएर बसिरहेँ । त्यहीबेला साथी धिरेन्द्र सिनालले फेसबुकमा मलाई मेन्सन गर्दै लेखेको स्टाटसमा आँखा पर्‍याे– ‘तपाईँलाई सलाम छ साथी, स्वास्थ्यमा समस्या हुँदा पनि कायाकैरन रोकिन दिनु भएन । स्वास्थ्यको पनि ख्याल गर्नुस् ।’ त्यही स्टाटस शेयर गर्दै गोपाल गुरागाईं सरले लेख्नुभएको रहेछ, ‘स्यालुट मिलनजी !’

कायाकैरन बिग्रेकोले गाली खाइने हो कि भन्ने चिन्ता भएको बेला उल्टै प्रशंसा ! पश्चाताप र चिन्ताले गह्रौँ भएको मन अलि हलुको भयो । फेसबुकमा कायाकैरनको लाइभ र ट्वीटमा कमेन्ट हेरेँ । त्यहाँ पनि सबैले यस्तै प्रतिक्रिया दिनुभएको रहेछ । कसैले पनि समाचार बिगारिस् भनेर गाली गर्नुभएको रहेनछ । एकान्तवासमा एक्लै समाचार पढ्दा अकस्मात स्वास्थ्यले साथ नदिए पनि सम्हाल्न सकेको भन्दै धेरैले प्रशंसा पो गर्नुभएको रहेछ !

एकछिनपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फोन गरेर सोध्नुभयो, ‘मिलन तपाईँलाई के भयो ?’ मैले भएको कुरा बताएँ । उहाँले पनि रेडियोको लाइभमा यस्तै हुन्छ, चिन्ता नलिनु भन्नुभयो । केहीबेरपछि कायाकैरन नियमित रुपमा सुन्नुहुने परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले फोन गर्नुभयो ।

सोध्नुभयो, ‘मिलनजी तपाईँलाई सञ्चो भएन हो ? कायाकैरनमा गाह्रो भएको थाहा पाएको थिएँ ।’

मैले भनेँ, ‘ठिक छु मन्त्रीज्यू, बिरामी भएको भए पनि तपाईँको यो सोधीखोजी र मायाले ठिक भइ हाल्थेँ ।’

‘एकान्तवासमा एक्लै हुनुहुन्छ, कहिलेकाहीँ यस्तै हुन्छ, यो स्वभाविक हो । लकडाउनको पालना गर्दै तपाईँहरुले घरबाट ननिस्कौँ भन्ने सन्देश र आफ्नो कर्तव्य दुवैलाई सँगसँगै लैजानुभएको छ, यही नै ठूलो कुरा हो’, परराष्ट्र मन्त्री ज्ञवालीले हौसला थपिदिनुभयो । खिन्न भएको मन उज्यालो भयो । 

गोपाल गुरागाईँ सर र अफिसका अरु साथीहरुले पनि फोन गरेर यसै भन्नुभयो । समाचार बिगारेर पनि तारिफ र हौसला पाएँ ! तर अवस्था यस्तै थियो, एकान्तवासबाट एक्लै समाचार पढ्दा स्वास्थ्यले साथ नदिँदाको परिणाम थियो । 

लकडाउन भए पनि अफिस गएर काम गर्न हामीलाई रोकतोक हुँदैन थियो । तर हामी आफैँले लकडाउनको पालना पनि गर्ने र काम पनि नरोक्ने भनेर काम थाल्यौंँ। उज्यालो व्यवस्थापनको सही निर्णय र समाचार कक्षका सबै साथीहरुको मेहनतले हामीले एकान्तवासबाटै समाचार वाचन गरेको आफैमा ऐतिहासिक घटना हो । अनि समाचारको बीचमा खोकेर पनि तारिफ र हौसला पाएको अर्को ऐतहासिक क्षण ।

उज्यालोको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरले अर्को वार्षिकोत्सव मनाइरहँदा यस्तै अरु ऐतिहासिक र अविस्मरणीय घटनाको याद आउँछ ।

– पाँच वर्षअघि वैशाख १२ गते भूकम्प जाँदा सबै रेडियो, टेलिभिजन र अनलाइन बन्द भए । कम्प्युटरहरु ढलेपछि उज्यालो रेडियो नेटवर्कको प्रसारण पनि पाँच मिनेट जति रोकियो । त्यतिबेला उज्यालोमा दिउँसो १२ बजे र ३ बजे दिउँसोको समाचार बुलेटिन थिएनन् । समाचारको समयमा पनि गीत बज्थ्यो । 

गीत बज्ने समय भएकाले समाचार कक्षका हामी साँझका बुलेटिनहरु र अरु काममा व्यस्त थियौँ । ११ बजेर ५६ मिनेटमा डरलाग्दो भुइँचालो गयो । काम गर्दै गरेको कम्प्युटर ढल्यो । अरु सबैजस्तै हामी पनि आत्तियौँ । के गर्ने, कसो गर्ने अलमल र अन्याेलमा सबै भर्‍याङबाट तल झरेर सडकसम्म पुग्याैँ ।

भूकम्पले टेबुलका कम्प्युटर ढालेपछि प्रसारण रोकिएको थियो । तर भूकम्पको धक्का रोकिएको थिएन । अफिसको चार तले भवन बाँस हल्लिए झैँ हल्लिँदै थियो । भवन भूकम्प प्रतिरोधी भएकाले हल्लिए पनि ढल्दैन भन्ने विश्वास चाहिँ भूकम्पले पनि ढालेको थिएन । जे त होला, अब रेडियोबाट भुइँचालो गएको खबर भन्नुपर्छ भनेर हामी हल्लिरहेको भवनको दुई तलामाथिको स्टुडियोमा चढ्यौँ । 

भित्ता समाउँदै माथि पुगेपछि पनि सबैलाई डर लागेको थियो । जे त होला भनेर म स्टुडियोभित्र पसेँ । प्राविधिक साथी शशिन्द्र गौतमले कम्प्युटर र मिक्सर खोलेर मलाई इसारा गर्नुभयो । ‘भर्खरै ठूलो भूकम्प गएको छ, भूकम्प कतिको हो भन्ने थाहा नभए पनि यसले धनजनको ठूलो क्षति पुर्‍याएको आशङ्का गर्न सकिन्छ । भूकम्पको धक्का फेरि पनि गइरहेको हुनाले तपाईँ खुला ठाउँमा गएर सुरक्षित बस्नुहोला ।’

यति भन्न नभ्याउँदै भुइँचालाले फेरि हल्लायो । ल अब चाहिँ मरिने भइयो भन्ने मनमा डर लाग्यो । अफिसमा रहेका सबै आत्तियौँ । तर हामीले रेडियोको प्रसारण रोकेनौँ । अफिसको भवन भूकम्प प्रतिरोधी छ भन्ने विश्वासले हामीलाई आँट दियो । त्यसपछि लगातार हामीले थप सूचना र जानकारी बटुल्दै, प्रसारण गर्दै आयौँ । कहिले भुइँतलाबाट, कहिले दोस्रो तलाको स्टुडियोबाट । 

भोलिपल्ट दिउँसो ५ बजेतिर हामी भुइँतलाबाट भूकम्पसम्बन्धी जानकारी प्रसारण र प्रकाशनमा व्यस्त थियौँ । त्यही बेला कहिल्यै नदेखेका र नचिनेका एक जना वृद्ध उज्यालोमा आउनुभयो । ‘उज्यालोका मान्छे यहीँबाट बोल्दैछन् हो’ भनेर सोध्नु भो । हो, हामी नै उज्यालोमा बोल्दैछौँ भनेपछि भावुक भएर भन्नुभयो, ‘म तपाईँहरुलाई धन्यवाद दिन आएको ! तपाईँहरुले धेरैको ज्यान बचाउनुभयो !’ उहाँले यसोभन्दा सबैको छाती चौडा भएको अनुभव भयो । 

– २०५९ सालतिर हुनुपर्छ, महेन्द्ररत्न क्याम्पस ताहाचलमा सेनाले छापा मार्‍यो । त्यतिबेला म स्नातक तहमा शिक्षाशास्त्रतर्फको विज्ञान विषय पढ्थेँ । उज्यालोको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरमा काम गर्न थालेको केही समय भएको थियो । भनौँ काम सिक्दै थिएँ । क्याम्पसमा प्रयोगात्मक कक्षा सकिनेबित्तिकै कुपण्डोलमा रहेको कार्यालय पुग्थेँ ।

सधैँ झैँ त्यो दिन पनि विज्ञानको प्रयोगात्मक कक्षा लिन मात्र क्याम्पस पुगेको थिएँ । सेनाले हरेक विद्यार्थीको झोला र खल्ती जाँच गर्न थाल्यो । कार्यालय जान ढिलो हुने भयो । त्यतिबेला सेनासँग खुलेर बोल्न सकिँदैन थियो । 

खल्तीमा रेडियो नेपालको अस्थायी प्रवेशपत्र थियो । कम्यूनिकेसन कर्नरले त्यो बेला हाकाहाकी कार्यक्रम उत्पादन गर्थ्याे । कार्यक्रम रेडियो नेपालबाट प्रसारण हुन्थ्यो । कार्यक्रम उत्पादन र प्रसारणका लागि रेडियो नेपालमा आउजाउ बाक्लै गर्नुपर्ने भएकाले रेडियो नेपालले हामी सबैलाई अस्थायी परिचयपत्र बनाइदिएको थियो । 

मैले डराइ–डराइ सेनाका एक जना मेजरसँग ‘मलाई रेडियो कार्यक्रम बनाउन जान हतार भयो’ भनेर अनुरोध गरेँ । उनले परिचयपत्र हेरे । ‘हाकाहाकी कार्यक्रम बनाउने तपाईँ हो ?’, मलाई तलदेखि माथिसम्म हेरेर उनले सोधे । मैले ‘हो तर म त भर्खर मात्र सिक्दैछु’ भनेँ । 

‘गोपाल गुरागाईँ र मण्टेश्वरी राजभण्डारीले काम गर्ने यसमै हैन ?’ उनले फेरि सोधेपछि मैले हो भनेँ । उनले ‘ल म त यो कार्यक्रमको फ्यान हुँ । तपाईँलाई ढिला भएको हो भने जानुस्’ भनेर क्याम्पसबाट निस्कन दिए । म दङ्ग परेँ । 

सेनाले मलाई जाँच नै नगरि बाहिर जान दियो । म मात्रै क्याम्पस हाताबाट बाहिर जान पाएको देखेर अरु सैनिकले पनि मलाई हेरे । मेरा साथीहरु त ट्वाँ परेर नै मलाई हेर्दै थिए ।

– २०६२/०६३ को जनआन्दोलनको एक वर्षअघि काठमाण्डौमा कर्फ्यु लागेको दिन थियो । बिहान ६ बजे कायाकैरनमा पत्रिका पनि पढ्नुपर्ने । कर्फ्युका कारण समयमै पत्रिका आउन सम्भव थिएन । बिहानैको कायाकैरनमा डेराबाट आउन सजिलो थिएन । त्यसैले, सोहम सुवेदी, सरोज दाहाल र म अघिल्लो रात अफिसमै सुतेका थियौँ । बिहानै सहकर्मी सरोज दाहालले ‘हिँड मिलन हामी पत्रिका लिएर आउने’ भनेर बाइक स्टार्ट गरे । अघिल्तिर प्रेस भनेर टाँसे । म पछाडि बसेँ । सडक सुनसान थियो । त्यतिबेला सहजै कर्फ्यु पास पनि बन्दैन थियो । 

थापाथली पुल पुगेपछि ड्युटीमा रहेका सैनिकले रोके । हामीले आफ्नो परिचयपत्र देखायौँ । ‘ए कायाकैरनका लागि हो ? ल ल जानुहोस्, तर बाटोमा कसैले रोके भने परिचयपत्र देखाउनुहोस्, अनि कायाकैरनका लागि भन्नुहास् है’ भने । हामी मख्ख पर्दै अगाडि बढ्यौँ । सडक सुनसान थियो । सेना र प्रहरीबाहेक सडकमा कोही थिएनन् । ठाउँठाउँमा रोकिँदै, आफ्नो परिचयपत्र देखाउँदै हामी अगाडि बढ्यौँ । 

न्युरोडमा गोरखापत्र संस्थान अगाडि सधैँ झैँ पत्रपत्रिका पाइयो । पत्रपत्रिका बोकेर कार्यालय फर्किंदै गर्दा थापाथली पुलमा फेरि अर्का सैनिकले रोके । हामीले परिचयपत्र देखायौँ र बाटो माग्यौँ । उनले हाम्रो कुरा सुनेनन् । ‘अब एक शब्द बोल्नुभयो भने म बोल्दिनँ, जे गर्छ यसैले गर्छ’ भनेर बन्दुक देखाएपछि हाम्रो सातो गयो । ७ बजे कर्फ्यु खुल्ने समयसम्म अफिसबाट सय मिटर टाढा थापाथली पुलमा बस्नुपर्‍यो । वर्षमा तीन सय ६५ दिन प्रसारण हुने कायाकैरन त्यो दिन केही गरे पनि समयमा प्रसारण भएन । 

– आन्दोलन चर्किंदै जाँदा तत्कालीन सरकारले दलका शीर्ष नेताहरुलाई घरमै नजरबन्दमा राख्थ्यो । एक पटक यसैगरी नेताहरु नजरबन्दमा थिए । आन्दोलनका कमाण्डर कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला पनि नजरबन्दमै हुनुहुन्थ्यो । उहाँ मिडियामा कमै बोल्नुहुन्थ्यो । सितिमिति प्रतिक्रिया दिनुहुन्न थियो । उहाँको निवास महाराजगञ्जमा प्रायः सुशील कोइराला पनि सँगै हुनुहुन्थ्यो ।

शीर्ष नेताहरु नजरबन्दमा परेपछि अब आन्दोलन के होला भन्नेमा सबैको चासो थियो । पत्रकारले सकेसम्म गिरिजाप्रसाद कोइरालाको प्रतिक्रिया लिन खोज्थे । तर उहाँको प्रतिक्रिया लिन सजिलो थिएन । उहाँले प्रतिक्रिया नदिए पनि कोइराला निवासमा कांग्रेसका अरु कोही नेता होलान् भनेर एक दिन मैले फोन गरेँ । फोन सुशील कोइरालाले उठाउनुभयो । फोन गर्नुको कारण बताएपछि उहाँले ‘सभापतिज्यू यहीँ हुनुहुन्छ कुरा गर्नुस्’ भनेर गिरिजाप्रसाद कोइरालालाई फोन दिनुभयो । गिरिजाप्रसाद कोइरालासँग कुरा हुन्छ भन्ने सोचेकै थिइनँ । 

मैले बोल्न नपाउँदै गिरिजाप्रसाद कोइरालाले भन्नुभयो, ‘ए कायाकैरनबाट हो ? ल देशभरिका मान्छेलाई भनिदिनू हाम्रो आन्दोलन अझै सशक्त हुन्छ । अरु मिडियालाई पनि तपाईँले नै मेरो कुरा भनिदिनुस् ।’ यति भनेर उहाँले फोन राखिदिनुभयो ।

– २०६२/०६३ को जनआन्दोलन सफल भएपछि माओवादी शान्ति प्रक्रियामा आउने पर्खाइ थियो । तर नेताहरु भूमिगत नै थिए । पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई भारतमा रहेछन् । भट्टराईका सहयोगी विश्वदीप पाण्डेको नम्बर फेला पर्‍यो । 

बाबुराम र प्रचण्ड दुवैसँग फोनमा अन्तर्वार्ता लिएँ । अन्तर्वार्ताको सुरुमा कायाकैरनको नाम लिनेबित्तिकै दुवैले भन्नुभयो, ‘हामी डाँडाकाँडा र वनपाखामा हिँडेको बेला तपाईँहरुकै समाचार सुन्छौँ । समाचार ब्यालेन्स लाग्छ र विश्वसनीय पनि छ । यसलाई कायम राख्नुहोला ।’

यी त भए आफैलाई मख्ख पार्ने दुई/चार वटा प्रसङ्ग । तर आफ्नो पेसाको मर्यादासित जोडिएका केही तीता प्रसङ्ग पनि बेला बेला आइरहन्छन् । एकदिन फलफुल विकास निर्देशनालय कीर्तिपुरका प्रमुखसँग कुराकानी गर्नुपर्ने थियो । कुराकानीको समय लिन फोन गर्दा उनी अन्कनाए । निकै बेरपछि अन्कनाउँदै भने, ‘ठिकै छ कुरा त गर्नुहोस्, तर हामी केही दिन सक्दैनौँ ।’ केही भनेको के हो र ? मलाई त तपाईँको कुरा मात्रै चाहिएको हो भने । त्यसपछि बल्ल उनले यहीँ आउनुहोस् अनि केही भनेको के हो भनौँला भने । 

समय मिलाएर म उनको कार्यालय गएँ । तर कुराकानी सुरु गर्ने बेलामा उनले भने, ‘धेरैले यसैगरी कुराकानी गर्छन्, अनि तपाईँको कुरा प्रसारण या प्रकाशन गरेबापत पैसा चाहिन्छ भनेर भन्छन्’ ।  उनको कुरा सुनेर मलाई अचम्म लाग्यो । पत्रकारलाई कुराकानी गरेबापत पैसा दिन पर्दैन, हामी त त्यस्तो कल्पना पनि गर्दैनौँ भन्दा उनी केहीबेर नपत्याएर जिल्लै परे ।

उनले आफूबाट पैसा लिनेको नाम त भन्दिनँ, तर चलेकै पत्रिकाका पत्रकारले पनि मसित पैसा लिएर गएका छन् भनि सुनाए । त्यसपछि उनीसित समय लिन हामीलाई कहिल्यै कठिनाइ भएन । उनले उज्यालोका कार्यक्रम र उज्यालोमा काम गर्ने पत्रकारहरुप्रतिको विश्वास बढेको बताए ।

फलफुल विकास निर्देशनालयका प्रमुखले मात्र होइन, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का एक जना अधिकृतले पनि यस्तै गुनासो गरे । उनले केही पत्रकारहरुले भिडियो सामग्री बनाइदिन्छौँ भन्दै पैसाको लागि बार्गेनिङ गरेको दुखेसो गरे । 

एकदिन पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुले भने, ‘मेरो अफिसमा बसेर चिया नखाने पत्रकार अति थोरै छन्, तर उज्यालोका पत्रकारहरु चिया खान बोलाउँदा पनि आउँदैनन् । चिया खान म नै उज्यालोमा आउनुपर्छ । उज्यालोका कार्यक्रम पनि विश्वसनीय छन्, काम गर्ने मान्छे पनि इमान्दार छन् ।’

उज्यालोको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरले वार्षिकोत्सव मनाइरहँदा दिमागमा यस्तै यस्तै धेरै खालका सम्झना एकैपटक आउँछन् । एउटै संस्थामा काम गरेको पनि दुई दशक भएछ भनेर अत्यास पनि लाग्छ । तर धेरैको यस्तै विश्वास र प्रशंसाले यहीँ टिकाइराखेको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

2 Comments

  • sajan magar

    May 7, 2020, 6:58 p.m.

    त्यो दिन यहाँको स्वास्थ्य खराब भएको लाइभ सुनिरहेको थिएँ / मा सोच्दै थिएँ कि अब के भन्नु होला भनेर .....

  •  0 Reply
  • Rama pun

    April 28, 2020, 9:59 p.m.

    त्यो दिन मैले पनि समाचार सुन्दै थिएँ, हजुरलाई गाह्रो भएको थाहा पाउँदा दु:ख लाग्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया