बजेटमा ठूला र नयाँ विकासका योजना नआउने,  गौरवका आयोजनालाई पर्याप्त बजेट

 बैशाख १८, २०७७ बिहिबार १५:४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आउँदो आर्थिक वर्षको बजेटमा नयाँ र ठूला विकासका आयोजनामा बजेट विनियोजन नहुने भएको छ ।

कोरोनाको प्रभावका कारण सरकारी आयमा कमी आउने र धेरै बजेट कोरोना रोकथाम तथा स्वास्थ्य सेवाका अन्य क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने भएकाले नयाँ र ठूला आयोजनाको बजेटमा धेरै कमी आउने अर्थ मन्त्रालयले जनाएको छ  । 

‘आउँदो वर्ष हामीलाई चालु खर्चमै चाप हुने र स्वास्थ्य सेवा तथा संरचनामा धेरै बजेट विनियोजनको खाँचो छ । त्यसैले बजेटमा नयाँ र ठूला आयोजनाको लागि बजेट पर्ने सम्भावना न्यून छ’, अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले भन्नुभयो । 

राष्ट्रिय गौरवका आयोजना र सम्पन्न हुन थालेका आयोजनाको लागि भने बजेट अपुग हुन नदिने गरी बजेट आउने उहाँले जानकारी दिनुभयो । राष्ट्रिय योजना आयोगका भौतिक पूर्वाधारतर्फका सदस्य इन्जिनियर सुशिल भट्टले पनि आउँदो आर्थिक वर्षको बजेटको प्राथमिकता नै चालु आर्थिक वर्षको बजेटकोभन्दा फरक हुने बताउनुभयो । 

‘चालु आर्थिक वर्षको बजेटमा हामीले दीर्घकालीन योजना र विकासलाई जोड दिएका थियौँ । तर आउँदो आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्र र कोरोनाको प्रभावपछिको अर्थतन्त्र उकास्ने हिसाबले लाग्नुपर्ने देखिएको छ’, भट्टले भन्नुभयो । 

राष्ट्रिय गौरवका आयोजना, एक नम्बर प्राथमिकतमा रहेका अर्थात पी वन आयोजनामा बजेटको कमी हुन नदिने उहाँले बताउनुभयो। तर पन्ध्रौं आवधिक योजना र दीर्घकालीन सोचसहितको विकासको खाकामा रहेका धेरै ठूला र नयाँ आयोजनाको लागि भने अध्ययन बजेट मात्रै छुट्याइने उहाँको भनाइ छ । 

‘हामीले केही गेमचेन्जर आयोजनाको अध्ययनको लागि बजेट विनियोजन गर्न सुझाव दिएका छौँ । नयाँ र अन्य ठूला आयोजनाको  एक्सनकै लागि बजेट अपुग हुने देखिन्छ’, योजना आयोगका सदस्य सुशिल भट्टले भन्नुभयो । 

सरकारले १८ वटा आयोजनालाई गेम चेञ्जर आयोजनाको रुपमा सूचीमा समावेश गरेको छ । सबैभन्दा धेरै बजेट पाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो वर्ष १ खर्ब ८७ अर्बको सिलिङ पाएको छ ।  

तर योजना आयोगले अब बजेटको प्राथमिकता नै परिवर्तन हुनसक्ने भन्दै मन्त्रालयहरुलाई अर्को सिलिङ तोकेर पठाउने तयारी गरेको छ । गएको वर्ष भौतिक पूर्वाधार तथा यातायात तर्फको जेट १ खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो ।  

बजेट रकम चालु वर्षकै हाराहारीमा 

सरकारले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।

 साधारण अवस्था रहेको भए १७ खर्ब रुपैयाँभन्दा धेरैको बजेट ल्याउन तयारी गरेको सरकारले कोरोनाको कारण अर्थतन्त्रमा समस्या देखिएपछि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउन लागेको हो । 

यो वर्ष सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट ल्याएको थियो । आउँदो आर्थिक वर्षको लागि पनि १५ खर्ब २५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी रहेको  अर्थ मन्त्रालय स्रोतले बतायो । 

‘योजना आयोगले मन्त्रालयहरुलाई नयाँ सिलिङ तोकेर पठाउने तयारी गरेको छ, आउँदो आर्थिक वर्षको लागि स्रोतको समस्या हुने भएकाले १५ खर्ब २५ अर्ब रुपैयाँ हाराहारीको बजेट आउने सम्भावना छ ।’ अर्थका एक अधिकारीले उज्यालो अनलाइनसँग भने ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया