धार्चुला क्वरेण्टीनमा बसेर अछाम आइपुगेकालाई फेरि क्वरेण्टीनमा राखिने

 बैशाख २०, २०७७ शनिबार २०:३२:४७ | चन्द्र थापा
unn.prixa.net

अछाम – भारतको धार्चुलामा एक महिनासम्म क्वरेण्टीनमा बसेका ५० जना शनिबार अछाम आइपुगेका छन् । दार्चुला सीमा नाका भएर अछामको ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाका ४६ जना पुरुष र चार जना महिला जिल्ला भित्रिएको प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले जानकारी दिनुभयो । 

उनीहरु सबैलाई २१ दिनसम्म फेरि पनि क्वरेण्टीनमा राखिने पौडेलले जानकारी दिनुभयो । उनीहरुमध्ये केही मात्र क्वरेण्टीनमा बसेकाे र सबै जना एउटै बसमा आएकाले सबैले २१ दिनसम्म क्वरेण्टीनमा बस्नुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ । उनीहरु केही दिन क्वरेण्टीनमा बसेपछि मात्र र्‍यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) बाट जाँच गरिने जानकारी दिनभयो ।

दुई वटै गाउँपालिकाले क्वरेण्टीनमा बसाउनको लागि सम्पूर्ण तयारी गरिसकेको जानकारी दिएका छन् । ढकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर ओलीले केहीलाई गाउँपालिकाको क्वरेण्टीन र केहीलाई वडाले निर्माण गरेको क्वरेण्टीनमा राख्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

अछामलगायत बाजुरा र सुर्खेतका गरी एक सय ६७ जना शनिबार बिहान डोटी र अछामको सीमा नाका चौखुट्टे पुगेका थिए । तीमध्ये ५० जना अछाम, ९५ जना बाजुरा र २२ जना सुर्खेतका रहेको जनाइएको छ । 

सबैको सामान्य जाँचपछि मात्रै गन्तव्यतर्फ पठाइएको दुनी स्वास्थ्य चौकीका सीएमए रेश्मी कुँवरले जानकारी दिनुभयो । उनीहरुको अवस्था सामान्य रहेको पाइएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया