स्वदेश फर्किन नपाएपछि भारतको क्वरेण्टीनमा जन्माइन् बच्चा, नेपालीलाई बासी खाना र प्रहरीको लट्ठी

 बैशाख २१, २०७७ आइतबार १६:८:२७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - आफ्नो देश फर्किन नपाएपछि नेपाल-भारत सीमामा रहेको क्वरेण्टीनमा एक महिलाले बच्चा जन्माएकी छन् । भारतबाट चैत १४ गते स्वदेश फर्किंदै गर्नुभएकी बझाङको थलारा गाउँपालिकाकी हर्कलादेवी दाहालले बच्चा जन्माउनुभएको हो । 

दाहालले भारतको रामपुर भन्ने ठाउँमा वैशाख १० गते बच्चा जन्माउनुभएको उहाँका श्रीमान जीवन दाहालले बताउनुभयो । आमा र बच्चाको अवस्था निकै कमजोर हुन थालेको श्रीमान दाहालको भनाइ छ । खान र बस्न उचित व्यवस्था नभएको कारण बच्चा र आमाको स्वास्थ्य कमजोर हुँदै गएको दाहालले बताउनुभयो । 

‘मात्र बिहान र बेलुका दुई छाक खान दिइएको छ । त्यो पनि धेरैजस्तो बासी, सडेगलेको  र चिसो खान खानुपर्ने बाध्यता छ । जसको कारण बच्चा र आमा दुबै बिरामी भएका छन्,’ दाहालले भन्नुभयो । सुत्केरी महिलासँगै क्वरेण्टीनमा रहेका थलारा गाउँपालिकाका अन्य ९२ जनाको अवस्था पनि उस्तै छ । क्वरेण्टीनमा बढी महिला र बालबालिका रहेका छन् । 

उनीहरुको अवस्था दिनानुदिन कमजोर हुँदै गएको स्थानीय भरतबहादुर थापाले बताउनुभयो । ‘न खानेपानीको व्यवस्था छ, न बस्ने राम्रो प्रबन्ध नै । त्यसमा झन् ५ वर्ष मुनिका बालबालिका, गर्भवती, सुत्केरी महिला र वृद्धवृद्धाहरुलाई जोखिम बढ्दै गएको छ,’ थापाले भन्नुभयो । नाममात्रको क्वरेण्टीन छ । बाथरुमको फोहोर पानी पिउनुपर्ने बाध्यता छ । त्यो पनि बत्ती नआएको दिन पानी आउने गरेको छैन ।  

बालबालिकाले खाना खानेबित्तिकै बान्ता गर्न थालेका छन् । खाना राम्रो नभएको कारण खानेबित्तिकै सबैलाई बान्ता हुने गरेको उनीहरुले गुनासो गरे । बिरामी भएर औषधिको माग गर्दा तपाईंहरुको सरकारले के दिएको छ ? हाम्रो सरकारले तपाईंहरुलाई खाना खुवाएको छ । यत्रो व्यवस्था गरेको छ । तपाईंहरुको सरकारले तपाईंहरुलाई लग्न मान्दैन भन्दै भारतीय प्रहरीले बेइज्जती र गाली गर्ने गरेको उनीहरुले दुखेसो पोखे । कसैलाई यस बारेमा जानकारी गराउँदा त्यहाँको प्रहरीले लट्ठी भाँचिदासम्म हानेको उनीहरुले बताए ।  

आफूहरुले जिताएका जनप्रतिनिधि, सांसद र पार्टीका सामान्य कार्यकर्ताहरुलाई समेत यसबारे बारम्बार जानकारी गराउँदा ५ हजार भारतीय रुपैयाँभन्दा बढीको रिचार्ज सकिएको र आफूहरुसँग अब फोन गर्ने पैसा पनि नभएको उनीहरुले गुनासो गरे । 

क्वरेण्टीनमा १४ दिनसम्म ठिकै व्यवहार गरेको भएपनि त्यसपछि भने तपाईंहरुको सरकारले तपाईंहरुलाई लिन आउँदैन भन्दै गालीगलौज र अपहेलना गरेको उनीहरुले तितो पोखे । 

नेपालमा फर्किन पाए सरकारको नियम पूर्ण पालना गर्नुका साथै आफूहरु आफ्नो देशमा जे पनि सहन तयार रहेको उनीहरुको भनाइ छ । स्वदेशमा चौपाया बाँध्ने गोठमा पनि बस्न आफूहरु तयार रहेको भन्दै उनीहरुले उद्धार गर्न नेपाल सरकारलाई अनुरोध गरेका छन् । आफ्नो देशमा केही खान नपाएपनि सफा पानी पिएर बाँच्ने इच्छा रहेको भारतको क्वरेण्टीनका रहेकाहरुको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया