पैसा छोएपछि पनि हात धुनुहोस् : विज्ञ

 बैशाख २५, २०७७ बिहिबार १४:१५:२२ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस सङ्क्रमणको डरले मानिसका व्यवहारहरु बदलिएका छन् । डेढ महिनादेखि घरभित्रै बस्नुपरेको छ । घरबाट बाहिर निस्कँदा अर्को मान्छे देख्नसाथ छेउ लाग्ने बानी परेको छ ।

घरमा केही सामान सकियो भन्ने किन्न जाँदा पसलमा, किनिएका सामानमा वा पैसामा बसेर भाइरस आउँछ कि भन्ने डर धेरैमा हुन्छ । यही डरका कारण हिँडडुल, किनमेल तथा अरु काममा मानिसका व्यवहार बदलिएका हुन् । कसैले बुझेरै सावधानी अपनाइरहेका छन् भने कतिपयले अन्योलकाबीच अनावश्यक व्यवहार पनि देखाएको पाइन्छ । 

कोरोना भाइरस नयाँ भएकोले यसको बारेमा धेरै कुरा थाहा पाउनै बाँकी छ । के/के बाट सर्छ, भाइरस कहाँ/कहाँ बस्छ, कस्ता मान्छेलाई छिटो सङ्क्रमण गर्छजस्ता प्रश्नहरुको सही जवाफ पत्ता लागिसकेको छैन ।

अध्ययन/अनुसन्धानहरु भइरहेका छन् । अहिलेसम्म गरिएको अनुसन्धान तथा भएका तथ्याङ्कले जे देखाउँछ, त्यसैको आधारमा आफ्नो व्यवहार बदल्नुपर्ने विज्ञहरु बताउँछन् । 

खोप वा उपचारको औषधि पत्ता लागिनसकेको अवस्थामा अहिले बच्ने एउटै उपाय आफ्नो शरीरमा भाइरस पस्न नदिनु भएको डाक्टरहरुले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले बारम्बार साबुनपा २० सेकेण्डसम्म मिचीमिची हात धुन र व्यक्तिगत दुरी कायम गर्न भनेको छ । यीबाहेक हाम्रा दैनिक जीवनका व्यवहारहरुमा पनि सचेत हुनुपर्छ । 

नोट तथा सिक्काको प्रयोग

विश्व स्वास्थ्य सङ्गठनले नोट वा सिक्काबाट पनि कोरोना भाइरस सर्छ भन्ने चेतावनी दिएपछि चीनमा ठूलो परिमाणमा नोटहरु नष्ट गरियो । सबै किसिमका मान्छेका हातमा पुग्ने नोटमा भाइरस बाँच्ने वातावारण पनि हुन्छ भन्ने कुरा यसअघिका अनुसन्धानहरुले पनि देखाएका छन् । सरुवा रोग विशेषज्ञ एवं शुक्रराज ट्रपिकल तथा सरुवार रोग अस्पताल टेकुका प्रवक्ता डाक्टर अनुप बाँस्तोला कोरोना भाइरस पैसाबाट सरेको प्रमाणित तथ्य नभए पनि यसअघिका भाइरसको व्यवहारलाई हेर्दा कोरोना भाइरस पनि सर्न सक्ने बताउनुहुन्छ । 

पैसामा भाइरस बाँच्न सक्ने वातावारण हुने भएकोले यदि सङ्क्रमित व्यक्तिबाट नोटमा भाइरस पुग्यो र केही समयमा अर्को व्यक्तिले त्यो नोट समातेर हात नधोइ नाक, मुख वा आँखा छोएमा भाइरस त्यो व्यक्तिको शरीरमा प्रवेश गर्न सक्ने भएकोले पैसा समातेपछि साबुन पानीले राम्रोसँग हात धुनु उपयुक्त हुने डाक्टर बाँस्तोला सुझाव दिनुहुन्छ । 

पैसामा धेरै भाइरस रहने भएकोले सकेसम्म पैसाको चलन कम गर्न विज्ञहरुको सुझाव छ । बैंकर्स एसोसिएशनका अध्यक्ष एवं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल मोबाइल बैंक, कार्ड तथा इन्टरनेटका माध्यमबाट कारोबार गर्न सकिने विभिन्न व्यवस्थाहरु भएकोले त्यस्ता सुविधा प्रयोग गर्न सुझाव दिनुहुन्छ । सबैको पहुँचमा मोबाइल बैंकिङ, इन्टरनेट तथा कार्डहरु नभए पनि सरकार र बैंकहरुले सेवा विस्तार गरिरहेको हुँदा ग्राहक पनि यस्ता विकल्पको प्रयोगमा इच्छुक भएमा चाँडै नोटको प्रयोग घट्ने दाहाल बताउनुहुन्छ । 

दैनिक उपभोग्य वस्तुको किनमेल

भाइरसको डरले मानिसको किनमेल शैली पनि फेरिएको छ । किनमेलका लागि पसलमा जाँदा अर्को मानिससँग हुन सक्ने भेट तथा किनिएका सामानमा भाइरस आउँछ कि भन्ने चिन्ता धेरैमा पाइन्छ । धेरैले ताजा तरकारी, माछामासु, प्याकेटको दूध, पत्रपत्रिका, दाल चामललगायत दैनिक उपभोग्य वस्तुबाट कोरोना भाइरस सर्छ कि भन्ने डर लागेको बताउने गरेका छन् । 

कतिपयले यस्ता सामान किनेर ल्याएपछि घाममा सुकाउने गरेको, साबुन पानीले धुने गरेको तथा स्याइनिटाइजर प्रयोग गरेर निर्मलीकरण गर्ने गरेको पनि बताउने गरेका छन् । कतिपयले लामो समय राखेर पनि प्रयोग गर्न सक्ने वस्तु छानेर एकै पटक धेरै ल्याउने र बिस्तारै प्रयोग गर्ने गरेको पनि बताउने गरेका छन् ।

सरुवा रोग विशेषज्ञ डाक्टर बाँस्तोला सचेत रहनु राम्रो भए पनि धेरै चिन्ता भने आवश्यक नभएको बताउनुहुन्छ । कुनै पनि सामान छोएपछि हात नधोइकन अनुहार नछुने र मानिससँगको दुरी ६ फिटभन्दा बढी बनाएमा कोरोना भाइरसबाट बच्ने सम्भावना धेरै हुने उहाँले बताउनुभयो । 

कति समय बाँच्छ भाइरस ? 

कुन/कुन वस्तुबाट भाइरस सर्छ भन्ने बुझ्न सबैभन्दा पहिले कुन वस्तुमा कति समय बाँच्न सक्छ भन्ने बुझ्नुपर्छ । अहिलेसम्मको अध्ययन अनुसार स्टिल तथा प्लास्टिकको सतहमा भाइरस तीन दिन वा त्योभन्दा बढी समय पनि बाँच्ने देखिएको छ । 

बाक्लो कागजका बट्टाहरुमा एक दिन, तामामा चार घण्टासम्म, पत्रपत्रिकामा तीन घण्टासम्म, सिसाहरुमा तीन/चार दिनसम्म बाँच्न सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यसरी भाइरस बाँच्नुमा त्यो सतहमा भएको न्यानोपन, घामले भेट्ने वा नभेट्ने जस्ता कुराले पनि फरक पार्दछ । घाम पर्ने वा सुख्खा ठाउँमा भाइरस चाँडै मर्ने सरुवा रोग विशेषज्ञ डाक्टर बाँस्तोला बताउनुहुन्छ । 

यसरी सतहमा पनि लामो समय बाँच्ने भएकोले कुनै पनि वस्तुमा भाइरस आउँछ कि भन्ने डर लाग्नु स्वभाविक भएको डाक्टर बाँस्तोला बताउनुहुन्छ । त्यसैले सामान किन्न जाँदा पसलमा भिडभाड नगर्ने वा हरेक मानिससँग कम्तीमा ६ फिट टाढा बसेर किनमेल गर्ने र सामान लिएर फर्केपछि साबुन पानीले राम्रोसँग हात धुने, तरकारीलगायतका वस्तु केलाउनु वा पकाउनुअघि र खाना खानुअघि पनि साबुन पानीले राम्रोसँग हात धुनुपर्ने डाक्टर बाँस्तोलाको सुझाव छ । 

धेरैजसो सतहमा केही घण्टा भाइरस बाँच्ने भएकोले अनुहार छुनुअघि हात धुने, मानिसबीचको दुरी बढाउने, लक्षण देखिएकाले अनिवार्य र सकेसम्म सबैले मास्क मुखावरण लगाउने जस्ता व्यवहार दैनिक जीवनमा अपनाए कोरोना भाइरसबाट बच्न सकिने विज्ञहरुले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया