तीन दिनमा पाँच हजार पीसीआर नमुना परीक्षण गर्दै सरकार

 बैशाख २७, २०७७ शनिबार १९:३:३० | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – सरकारले प्रदेश १ को उदयपुर, प्रदेश २ काे रौतहट, बारा र पर्सा तथा प्रदेश ५ काे सबैजसो जिल्लामा कोरोना परीक्षणलाई तीव्रता दिएको दाबी गरेको छ । 

कोरोनाको सङ्क्रमण धेरैमा देखिएपछि उदयपुर, रौतहट, बारा र पर्सा तथा प्रदेश ५ काे धेरै जिल्लामा कोरोना परीक्षणलाई तीव्रता दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभएको हो । उहाँका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाका स्वास्थ्यकर्मीको टोलीले यी प्रदेशमा पाँच हजार तीन सय २० जनाको पीसीआर विधिबाट परीक्षण गर्न नमुना सङ्कलन गरिरहेको छ । 

अहिलेसम्म झण्डै चार सय जनाको नमुना सङ्कलन गरिएको र बाँकी झण्डै पाँच हजार जनाको नमुना सङ्कलन तीन दिनमा गरिसक्ने योजना रहेको मन्त्रालयका प्रवक्ता देवकाेटाकाे भनाइ छ । यस्तै अहिले देशका विभिन्न ठाउँमा गरी १४ हजार पाँच सय ९२ जना क्वरेण्टीनमा रहेकाे उहाँले जानकारी दिनुभयो ।

नेपालमा शनिबार बिहान थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक सय नाै पुगेको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा उदयपुरको भुल्केका तीन, कपिलवस्तुको मायादेवी र शुद्धोधन नगरपालिकाका तीन र पर्साका एक जना गरी सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

उदयपुरकाे भुल्केका १८, ४५ र ६५ वर्षीया महिला, कपिलवस्तुका १८ वर्षीय दुई र १७ वर्षका एक जना युवक तथा पर्साको छपकैयाका ६२ वर्षीय पुरुष गरी सात जनामा कोरोना पुष्टि भएको हो । 

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या एक सय नाै पुगेकाे हाे । ३१ जना भने उपचारपछि निको भएका छन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया