नेपाली भूमिमा भारतीय गतिविधिकाे विराेधमा नेपकिपाद्वारा प्रदर्शन

 वैशाख २८, २०७७ आइतबार १५:२४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक निर्माण गरेको विरोधमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले विरोध र्‍याली प्रदर्शन गरेकाे गरेको छ । 

नेमकिपाको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा आज भक्तपुरको कमलविनायकबाट विरोध जुलस प्रदर्शन सुरु भएको थियो । 

नेमकिपाका युवा नेता एवं वाग्मती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंको अगुवाइमा भएको विरोध प्रदर्शन कमलविनायकबाट सुरु भइ दत्तात्रय, सुकुलढोका, टौमढी हुँदै सूर्यविनायक पुगेर सम्पन्न भएको थियो । 

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनका क्रममा प्रदर्शन गरिएकाे विरोध र्‍यालीमा भारतको विस्तारवादविरुद्ध र नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहितको नारा लगाइएकाे थियाे । 

नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले बारम्बार नेपालको भूमिमाथि हस्तक्षेप गर्दै आएको भारतीय विस्तारवादको नीति र लिपुलेकको सडक निर्माण रोकेर नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सेना हटाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन भएको बताउनुभयो ।

सरकारले यो समस्यालाई कूटनीतिक पहलबाट मात्र समाधान गर्न नसक्ने भन्दै तत्काल यसलाई अन्तर्राष्ट्रीयकरण गरी अन्तर्राष्ट्रिय अदालत जानुपर्ने उहाँले बताउनुभयो । 

यसअघि नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले भारतले नेपालको भूमि लिपुलेक अतिक्रमण गरी लिपुलेक भञ्ज्याङसम्म सडक निर्माण गरेकाेप्रति विरोध एवं भर्त्सना गरेको थियो । 

बैठकपछि पार्टीले प्रेस विज्ञप्ति निकाल्दै भारतीय रक्षा मन्त्री राजनाथ सिंहले वैशाख २६ गते भारतको उत्तराखण्डको पिथौरागढ जिल्लाको धार्चुलादेखि नेपालको भूमि लिपुलेक भञ्ज्याङसम्म ८० किमी सडककाे भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेकोप्रति आपत्ति जनाउँदै नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भएको ठहर गरेको थियो । 

विज्ञप्तिमा भारतले सन् २०१९ नोभेम्बर २ मा नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय नक्सामा गाभेर प्रकाशित गरेको नक्सा खारेजीको माग गरिएको छ । 

साथै सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भू-भाग भएकाले यहाँ तैनाथ भारतीय सेना तत्काल हटाउनसमेत माग गरिएको छ ।

नेमकिपाका सचिव प्रेम सुवालको हस्ताक्षरमा निकालिएकाे विज्ञप्तिमार्फत नेपाली भूमि लिपुलेक अतिक्रमण गरी धार्चुला-लिपुलेक भञ्ज्याङ सडक सन् २००८ देखि निर्माण सुरु गरी गएकाे महिना सम्पन्न भएकाे बताइएकाे छ । त्यतिबेलासम्म नेपाल सरकारले थाहा नपाएकोप्रति विरोध जनाउँदै आफ्नो भूमि रक्षाका लागि यो विषयलाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्नेमा जोड दिइएको छ । 

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • नारायण प्रसाद शर्मा

    May 10, 2020, 4:11 p.m.

    लिपुलेक हाम्रो हो भन्नै पर्दैन हो नै तर पटक पटक यसको चर्चा हुन्छ अनि सेलाउछ किन सरकारले यसको यथोचित र दिर्घकालिन निकास गर्दैन ह ? राष्ट्रवादि सरकार भनिएका को यस्तो रवैया नाटक देख्दा देख्दै सवै देश भक्त हामि नेपालि वाक्क दिक्क भै सकियो के हाम्रो जिवनकालमा यसको निकास देखन पाइने होइन ? सरकारलाई केले छेक्यो केको अभाव पर्यो भन्नु पर्यो हाम्रो मातृभूमि को रक्षा गर्न आवस्यक श्रोत साधन को प्रवन्ध सहित ज्यान दिन तयार छौ ! अगुवा गर्ने सहासी नेतृत्व को जरुरत छ यहाँ सरकार सके आट गर नसके संयुक्त राष्ट्रसंघमा लग नत्र अरुलाई मौका देउ टुलुटुलु हेरेर निरिह बनेर नबस यसलाई सानोतिनो समस्या नठान ! अनि यो भुमिमा भएको सडक निर्माणमा भारत र चिन दुवैको भुमिका हुनु पर्ने होईनर किन हामी सधै दक्षिण को मात्र बिरोध गर्दछौ राष्ट्रवादि जनता यो जान्न, बुझन र जुधन चाहानछ्न ! सरकार , हामिलाई यसको बास्तबिक जानाकारि र हालसम्मको यथार्थ प्रगति देउँ तिम्रो कुर्चि सङग हाम्रो देश को राष्ट्रीयता न साट ! जय राष्ट्रवाद ! नारायण प्रसाद शर्मा , बाग्लुङ

  •  0 Reply

तपाईको प्रतिक्रिया