क्वरेण्टीनमा बसेकाहरुलाई विना परीक्षण घर पठाइँदै

 बैशाख २८, २०७७ आइतबार १७:३२:५० | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व - रुकुम पूर्वमा कोरोना संक्रमणको लागि जाँच गरिने र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किट सकिएकाले क्‍वरेन्टीनमा बसेकाहरुलाई जाँचबिना नै घर पठाउन थालिएको छ।

 प्रदेश सरकारले पठाएको किट सकिएपछि जाँचै नगरी क्‍वरेन्टीनमा बसेकाहरुलाई घर पठाउन थालिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वले जनाएको छ । किटको अभावपछि क्‍वरेन्टीनमा बसेकाहरुको थर्मलगनले ज्वरो नाप्दै घर पठाउने गरिएको छ । भूमे र पुथाउत्तरगंगा गाउँपालिकाले निर्माण गरेका विभिन्न क्‍वरेन्टीनमा बस्दै आएका २ सयभन्दा बढी व्यक्तिलाई जाँचबिना नै घर पठाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताउनुभयो।

क्‍वरेन्टीनबाट घर पठाइएका उनीहरुलाई होम क्‍वरेन्टीनमा बस्न भनिएको छ।  प्रशासन कार्यालयको तथ्याङ्कानुसार १६५ नागरिक विदेशबाट भित्रिए पनि १२९ जनाको मात्र आरडीटी परीक्षण गरिएको छ। 

कोरोना परीक्षणका लागि प्रदेश सरकारले १६० वटा मात्रै किट पठाएको थियो। त्यसमध्ये १२९ जनाको आरडीटी गरिएको र ३१  किट आकस्मिक अवस्थाका लागि राखिएको छ । प्रदेश सरकारसँग किट माग गरिएपनि अहिलेसम्म नपठाइएको शर्माले बताउनु भयो।

अन्तिम अपडेट: बैशाख १, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया