प्रदेश १ : रोग प्रतिरोधी क्षमता बढाउन कोरोना सङ्क्रमित र निको भएकालाई आयुर्वेदिक र होमियोप्याथिक औषधी

 बैशाख २९, २०७७ सोमबार १२:१४:९ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - प्रदेश १ मा नागरिकको रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक तथा होमियोप्याथिक औषधी खुवाउन थालिएको छ ।

प्रदेश सरकारले कोरोना उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका कोरोना सङ्क्रमित तथा निको भएर फर्किएकाहरुको लागि आयुबेवदिक औषधी वितरण गर्दै आएकोमा अब होमियोप्याथिक औषधी पनि उपलब्ध गराउने भएको छ । 

रोग प्रतिरोधी क्षमता बढाउनको लागि होमियोप्याथिक औषधि निशुल्क उपलब्ध गराइने भएको हो । 

सामाजिक विकास मन्त्रालयमा होमियोप्याथिक संघका पदाधिकारीहरुले रोग प्रतिरोधी क्षमता बढाउने खालका औषधी वितरण गर्ने बारेमा छलफल गरेको हो ।
आयुर्वेदिक उपचार गर्ने संस्थाहरुले पनि ३ प्रकारका औषधी दिँदै आएकोमा अब होमियोप्याथिक आर्सेनिक एल्व औषधी पनि दिइने  मन्त्रालयको तयारी छ । 

त्यस्तै सङ्क्रमित क्षेत्रमा पनि होमियोप्याथिक औषधी वितरणको व्यवस्था मिलाउने बारेमा पनि छलफल भएको होमियोप्याथिक एशोसिएशनका अध्यक्ष डा. केपी सुबेदीले बताउनुभयो ।

भारतले आर्सेनिक एल्व नामको औषधी यस अघि नै प्रयोग गरेकोले यहाँ प्रयोग गर्न लागिएको डा. सुबेदीको भनाइ छ ।

होमियोप्याथिक एशोसिएशनको टोलीसँगको छलफलको क्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदयपुरमा एकदिने अभियान सञ्चालन गरेरै उदयपुरको भुल्के क्षेत्रका करिब २ हजार  नागरिकलाई होमियोप्याथिक औषधी वितरण गर्ने र झापाको दक्षिणी क्षेत्रमा पनि यो अभियान सञ्चालन गर्न सकिने बताउनु भयो । 

आयुर्वेद औषधी बिरामीको हातमा

प्रदेश सरकारले पहिलो कोरोना बिशेष अस्पताल कोभिड १९ उपचार केन्द्रबाट निको भएर फर्किएका र उपचाररत संक्रमितलाई पनि अश्वगन्धा, गुर्जो, च्यवनप्राश वितरण गरेको छ ।

यसले उपचार भएर फर्किएका  बिरामी र उपचाररत संक्रमितको रोग प्रतिरोधी क्षमता बढाउने सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक डा. सरोज विशालले बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनले समेत अश्वगन्धा, गुर्जो, च्यवनप्राश लगायतका बनस्पतिजन्य औषधी कोरोनाबाट संक्रमित भएका ब्यक्तिहरुलाई  सेवन गराउन सक्ने निश्कर्ष निकालेकोले उपलब्ध गराइएको डा.विशालको भनाइ छ । 

भारतमा कोरोना उपचारको लागि आयुर्बेद औषधीहरु प्रयोग गर्नका लागि आधुनिक अनुसन्धान कर्ताहरुले क्लिनिकल ट्रायल सुरु गरिसकेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया