'राष्ट्रियता र लाेकतन्त्र अपहरणमा पर्‍याे, नेपाली भूमि फिर्ता गर्न तत्काल वार्ता थालियाेस्'

 बैशाख ३१, २०७७ बुधबार १३:२८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय सभाको विशेष समयमा बोल्ने सांसदहरुले सीमा समस्या समाधान र कोरोना महामारीपछि आउने अवस्थाको सामना गर्न सरकार तयार हुनुपर्ने बताएका छन् ।

बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसदहरुले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न वार्ताको प्रक्रिया थाल्न सरकारलाई आग्रह गरेका छन् । सांसद रमेशजङ्ग रायमाझीले राष्ट्रियता र लोकतन्त्र अपहरणमा परेको उल्लेख गर्दै समस्या समाधानका लागि सरकार गम्भीर नभएको बताउनुभयो ।

रोटी र बेटी सम्बन्ध भएको बताउने छिमेकी भारतले नेपालको राष्ट्रियता अपहरण गरेको उहाँको भनाइ छ । भारतसँगको सीमा समस्या समाधानका लागि सम्पूर्ण राजनीतिक दलहरुले साथ दिँदा पनि सरकारले वार्ताको पहलसमेत गर्न नसकेको उहाँले बताउनुभयो । रायमाझीले प्रधानमन्त्रीको कार्यशैलीले लोकतन्त्र अपहरणमा परेको बताउनुभयो ।

सांसद भैरवसुन्दर श्रेष्ठले सुगौली सन्धि विपरीत भारतले नेपालको सिमाना अतिक्रण गरिरहेको बताउनुभयो । परराष्ट्र मन्त्री र प्रधानमन्त्रीस्तरमा समस्या समाधानका लागि वार्ता गर्न पनि उहाँले सरकारलाई सुझाव दिनुभयो ।

प्रधानमन्त्रीस्तरको वार्ताबाट पनि समस्या समाधन नभए अन्तर्राष्ट्रिय अदालत जानुपर्ने उहाँको भनाइ छ । नेपाल भारत प्रबुद्ध समूहले बनाएको प्रतिवेदन सदनमा पेस गर्न माग गर्दै उहाँले एक आर्थिक वर्षको बजेट सिमानामा पर्खाल लगाउनका लागि छुट्याउन पनि आग्रह गर्नुभयाे । 

सांसद मायाप्रसाद शर्माले कोरोना भाइरस र छिमेकी देशको भाइरसले नेपालमाथि आक्रमण गरिरहेको बताउनुभयो । विश्व कोरोनासँग लडिरहेका बेला भारतले कोरोनाको रुपमा नेपालमाथि आक्रमण गरिरहेको उहाँले बताउनुभयो । कोरोना नियन्त्रणका लागि देशभरि औषधि, दक्ष जनशक्तिलगायत अन्य स्वास्थ्य उपकरणको व्यवस्था गर्नतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शेखरकुमार सिंहले नेपाल–भारत सीमा समस्या वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गर्नुभयो । भारतबाट नेपाल भित्रिका नागरिकमा कोरोना सङ्क्रमण देखिएको उल्लेख गर्दै उहाँले सरकारले यसको व्यवस्थापनका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद खिमलाल भट्टराईले कोरोना सङ्क्रमणबाट देशलाई जोगाउन भएका सरकारी प्रयासहरु सार्थक भएको उल्लेख गर्नुभयो । विभिन्न अस्पतालमा आइसोलेशन वार्ड आईसीयूको व्यवस्था हुनु, रहेक पालिकामा क्वरेण्टीन निर्माण गरिनु, देशव्यापी लकडाउन गरी राहतको व्यवस्थापन गर्नु सरकारका सकारात्मक प्रयास भएको उहाँले बताउनुभयो ।

सरकारले गरेका राम्रा कामहरुलाई पनि गरेन भनेर जनतामा भ्रम छर्ने काम भएको उहाँले बताउनुभयो । 'राज्यका सम्बन्धित निकायहरुले छानबिन गरिरहेका वाडबडी वा स्वास्थ्य सामग्री खरिदजस्ता विषयहरु उछालेर सरकारको भ्रष्टाचारविरुद्धको सङ्कल्प र महाअभियानमाथि भ्रम छर्ने प्रयास भएको छ', उहाँले भन्नुभयो ।

भारतलगायत विभिन्न देशबाट नागरिकहरु स्वदेश फर्केपछि बेरोजगारी समस्या उत्पन्न हुने उल्लेख गर्दै उहाँले यसको व्यवस्थापनतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । खुला नाकाबाट लुकेर नेपाल प्रवेश गरिरहेको अवस्थाले भोलि भयावह स्थिति आउने भन्दै सीमा क्षेत्रमा अलपत्र नागरिकरुको उचित व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • Indra THapa

    May 14, 2020, 6:41 p.m.

    अब नेपाल आर्मीले बाटो बनाउने पेट्रोल बेच्ने, सरकारले नसकेर औषधी खरिद गर्ने अथवा व्यापार गर्ने भए पछि उहाँहरु (प्रतिनिधी सभाका ६०१ सभासद् र राष्ट्रिय सभाका ५९ गरी जम्मा ६६० ) सभासद्हरुलाई देशको सिमानामा सुरक्षार्थ खटाउनु प¥यो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया