'नागरिकको जीवनभन्दा ठूलो सरकारी ढुकुटीमा जम्मा भएको पैसा हाेइन'

 बैशाख ३१, २०७७ बुधबार १९:४०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी कोषमा थन्किएर बसेको अरबाैँ रुपैयाँ पालिकालाई दिएर कोरोना नियन्त्रणका लागि खर्च गर्न आग्रह गरेको छ ।  सरकारको विपद् व्यवस्थापन कोषमा अरबाैँ रकम जम्मा भए पनि कोरोना नियन्त्रणका लागि सरकारले खर्च गर्न नसकेको कांग्रेसले जनाएको छ ।

कोषमा झण्डै तीन अर्ब रकम जम्मा भए पनि सरकारले कोरोना नियन्त्रणका लागि खर्च गर्न नसकेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । सरकारले रकम नदिँदा पालिकाहरु सीमित स्रोत र साधनका बीच कोरोनासँग लडिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'सरकारको विपद् व्यवस्थापन कोषमा पहिले पनि डेढ अर्ब थियो । अहिले कोषमा करिब ३ अर्ब रुपैयाँ जम्मा भएको छ । त्यो रकम कोरोना नियन्त्रणका लागि सिंहदरबारमा बस्ने सरकारले नभएर राहत बोकेर घरमै जाने पालिकाका वडाध्यक्षहरुले खर्च गर्ने हो । केन्द्रको सरकारको ढुकुटीमा जम्मा भएको रकम पालिकालाई राहतको लागि दिनुपर्ने भए पनि अहिलेसम्म पालिकामा त्यो रकम पुग्न सकेको छैन ।' 

कांग्रेसले पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको समेत कोरोना परीक्षण गर्न माग गरेको छ । मङ्गलबार पहिलो पंक्तिमा रहेर काम गर्ने क्षेत्रका व्यक्तिहरुमा समेत सङ्क्रमण देखिएकोतर्फ सङ्केत गर्दै शर्माले व्यवस्थित रुपमा उनीहरुको परीक्षण गर्न आग्रह गर्नुभयो ।

कोरोना परीक्षणकाे दायरा बढाउन आग्रह गर्दै शर्माले सांसद विकास कोषको रकम पनि यसका लागि खर्च गर्न आग्रह गर्नुभयो । एक नागरिकको जीवनभन्दा ठूलो सरकारी ढुकुटीमा जम्मा भएको पैसा नहुने भएकाले परीक्षणतर्फ ध्यान केन्द्रित गर्न उहाँले सरकारलाई आग्रह गर्नुृभयो ।

अहिले श्रम, विद्यार्थी र बेरोजगारहरु जस्तै विभिन्न पेसा व्यवसायका व्यक्तिहरु पनि समस्यामा रहेकाले सबैलाई समेट्ने गरी राहतका कार्यक्रम ल्याउन पनि उहाँले आग्रह गर्नुभयो । विभिन्न देशमा अलपत्र परेका नागरिकको उद्धारका लागि गम्भीरता देखाउन पनि उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

रोजगारी गुमाएर आएका हजारौँ नेपाली सिमानामा रोकिएर बसेको र केही नागरिकहरु लुकीछिपी नेपाल प्रवेश गरिरहेकोतर्फ पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । लुकीछिपी नेपाल प्रवेश गरिरहेका नागरिकहरुबाट सङ्क्रमण फैलिएको उल्लेख गर्दै शर्माले सीमा क्षेत्रमा रहेका नागरिक र अन्य देशमा अप्ठ्यारोमा परेका नागरिकलाई व्यवस्थित रुपमा स्वदेश ल्याएर क्वरेण्टीनमा राख्न पनि आग्रह गर्नुभयो ।

सरकारले कोरोना परीक्षणका लागि केन्द्र विस्तार र स्वास्थ्य सामग्री खरिदजस्ता राम्रो काम गरे पनि ढिलासुस्ती, अपारदर्शीता भएको उहाँले बताउनुभयो । सरकारले व्यवस्थित र विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको क्वरेण्टीन निर्माण गर्न नसकेको, कोरोनासँग जुध्नुपर्ने बेलामा प्रधानमन्त्री सत्ताको खेलमा लागेको शर्माले बताउनुभयो । शर्माले अहिलेको सरकारले नैतिक र राजनीतिक रुपमा शासन गर्ने अधिकार गुमाएको ठहर कांग्रेसले गरेको बताउनुभयो ।

नेपाली भूमि कालापानी क्षेत्रबाट भारतीय सेनालाई फर्काउने विषयमा पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । नेपालको अविछिन्न अधिकार रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रका विवाद समाधानका लागि सरकारले भारत र चीनसँग संवाद गर्नुपर्ने उहाँले बताउनुभयो । कुटनीतिक र राजनीतिक प्रक्रियाबाट यसको पहल गर्नुपर्नेमा सरकार औपचारिक वक्तव्यमा राष्ट्रवादलाई प्रस्तुत गर्नमा मात्रै सीमित भएको उहाँकाे भनाइ छ ।

लकडाउनको अघिल्लो दिन स्थगित भएको एसईई परीक्षाको विषयमा अहिलेसम्म सरकारले केही नभन्दा विद्यार्थीहरु आफ्नो भविष्यप्रति चिन्तित भएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया