लकडाउनमा धमाधम बालविवाह : परिवार मौन, प्रहरी बेखबर

 जेठ १, २०७७ बिहिबार १४:२६:१० | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसबाट बच्न देश लकडाउनमा रहेको बेला बाँकेको एउटा गाउँपालिकाका बालबालिकाले भने उमेर नपुग्दै विवाह गरिरहेका छन् । 
लकडाउनको ५० दिनमा बाँकेको राप्ती सोनारी गाउँपालिकामा ७ जोडीले बालबिवाह गरेका छन् । गाउँपालिकाको वडा नम्बर ५ ललैकी रेसु थारु (नाम परिवर्तन)ले चैत १३ गते भागेर बिहे गरिन् । रेसु राति कसैलाई थाहा नदिएर भागेकी भन्ने कुरा परिवारले अर्को दिन मात्रै थाहा पायो । उनी वडा नम्बर ५ कै नयाँ बस्तीका १५ वर्षीय केटासँग भागेकी थिइन् ।

परिवार विवश

यो कुरा थाहा पाउनेबित्तिकै रेसुका आमाबुवा नयाँ बस्ती पुगे । आमाबुवाले रेसुलाई १४ गते नै आफूसँगै ल्याए ।सानो उमेरमा बिहे गर्नु हुँदैन भन्दै उनीहरुले छोरीलाई सम्झाइबुझाइ गरे । तर, रेसुले मानिन् । सानै उमेर भएपनि केटासँगै बस्ने र कसैले अलग गर्न खोजे बिष खाएर वा झुण्डिएर आत्महत्या गर्ने रेसुले अड्डी कसिन् । छोरीको जिद्दीसामु उनका आमाबुवाको केही चलेन । रेसु चैत १६ गते फेरि त्यही केटासँग गइन् । छोरी मर्नुभन्दा बरु बिहे गरेकै बेस भन्दै आमाबुवाले रोकेनन् । यसरी १५ वर्षकै उमेरमा रेसु बुहारी बनिन् । 

त्यही गाउँपालिकाको वडा नम्बर ५ कै गञ्जोडिया की १६ वर्षीया अर्की किशोरीले चैत १६ गते भागेर बिहे गरिन् । एसईईको तयारीमा रहेकी किशोरी त्यही गाउँपालिकाको वडा नम्बर २, कटनापुरका १७ वर्षीय केटासँग भागिन् । उनका आमाबुवाले भने उनको खोजी गरेनन् । छोरीले आफ्नो इच्छाले बिहे गरेकी हुन् भन्दै आमाबुवा चुपचाप लागेर बसे । भागेर गएदेखि उनी फर्केर आएकी छैनन् ।

भाग्ने समय राति 

अहिले स-साना केटाकेटीदेखि वृद्धवृद्धा सबैको हातमा मोबाइल छ । सञ्चारको सुविधाले चिनजानदेखि बिहे गर्नेसम्मको छिनोफानो केटाकेटीले आफैँ गर्न थालेका छन् । अन्य समयमा दिउँसै भागेर जानेहरुको समय भने लकडाउनमा फेरिएको छ । अहिले दिनभर बाहिर निस्कन नमिल्ने भएकोले बालविवाह गर्नेहरु राति ९/१० बजेतिर भाग्ने गरेको स्थानीय बताउँछन् । 

लकडाउनमा रोक्न गार्हो 

लकडाउनको कारण उमेर नपुगेर गरिएका बिहे रोक्न समस्या भएको छ । महिला हिंसा र बालविवाहविरुद्ध आवाज उठाउँदै आएका राप्ती सोनारीका बाल क्लब र सामुदायिक छलफल केन्द्रका सहजकर्ताहरु लकडाउनमा बाहिर जान नपाउँदा बालविवाह रोक्न नसकेको बताउँछन् । एक टोलबाट अर्को टोल जान नपाइने र कसैलाई भेट्न नपाइने भएकोले समस्या भएको कमला विश्वकर्माले बताउनुभयो ।

कमला भन्नुहुन्छ, ‘अहिले केटाकेटीले उमेर नपुग्दै धमाधम  विवाह गर्दैछन् । हामीले यो विषयमा वडा अध्यक्षलाई जानकारी गराउँदा उनले हामी राहत वितरणमा छौँ भन्छन् । मेरै टोलमा ७ जोडीले उमेर नपुग्दै बिहे गरेका छन् । अन्य वडामा पनि बालविवाह भएको खबर सुनिरहेको छु ।’

जानकारी नै छैन

गाउँपालिकाकी उपाध्यक्ष धनकुमारी खत्री लकडाउनको अवधिमा न्यायिक समितिमा कुनै पनि उजुरी नआएको बताउनुहुन्छ । ‘पहिले दिनहुँ महिला हिंसा र बालविवाहलगायतका विषयमा उजुरीहरु आउँथे । लकडाउनको समयमा कुनै उजुरी आएको छैन,’ उहाँले भन्नुभयो । 

न्यायिक समितिको नेतृत्वमा रहने गरी गाउँपालिकाका सबै वडामा मेलमिलाप समिति गठन भएका छन् । ती समितिले वडामा भएका सामान्य विवादहरु मिलाउने गर्दछन् । मेलमिलाप समितिले वडामा मिलाउन नसकेका विवाद भने न्यायिक समितिले हेर्नुपर्ने हुन्छ ।

‘लकडाउनमा बालविवाह भइरहेको भन्ने जानकारी आज तपाईंमार्फत नै पाएँ । म लकडाउनमा मेरो गाउँपालिकामा अलपत्र परेकाहरुलाई ओसारपसार गर्ने काममा व्यस्त छु,’ उपाध्यक्ष खत्रीले भन्नुभयो ।

जनप्रतिनिधि अन्योलमा 

आफ्नो वडामा किशोर किशोरीहरुले उमेर नपुग्दै विवाह गरिरहेको जानकारी त्यस गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्ष झगरु थारुलाई छ । बालविवाहको हकमा आफूहरु अन्योलमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केटाकेटी एक अर्कालाई मन पराएर भागेका हुन्छन् । जबरजस्ती छुटाउन पनि सकिँदैन । न त कारबाही नै गर्न सकेको छु ।’ 

केटाकेटीले एकअर्कालाई मन पराएर भाग्ने चलन पहिलेदेखि नै रहेको भन्दै अध्यक्ष थारुले यो विषयमा कसरी अघि बढ्ने भन्नेबारे अधिवक्ता र प्रहरीसँग सल्लाह लिइरहेको बताउनुभयो ।

प्रहरीमा उजुरी छैन

जिल्लामा यस आर्थिक वर्षमा अहिलेसम्म ४८ वटा बालविवाह रोकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । लकडाउनमा बालविवाह भइरहेको जानकारी भने आफूलाई नआएको बाँके प्रहरीका प्रमुख डिएसपी शिवकुमार सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जिल्ला प्रहरीमा बालविवाहविरुद्ध अहिलेसम्म एउटा पनि लिखित उजुरी नपरेको छैन ।’ संघसंस्था र बाल क्लबहरुले दिएको जानकारीको आधारमा ४८ वटा बालविवाह रोकेको डिएसपी सिंहले बताउनुभयो ।

उहाँको गुनासो छ, ‘बालविवाह हुन लागेको जानकारी पाएर आफूहरु रोक्न जाँदा अभिभावकहरुले झुक्याउने गर्छन् ।’ 

अन्तिम अपडेट: चैत १५, २०८०

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया