१० महिनामा ५६८ फर्मलाई जरिबाना, ३ कराेड राजस्व सङ्कलन

 जेठ १, २०७७ बिहिबार १४:४२:१७ | रासस
unn.prixa.net

काठमाण्डाै – बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दश महिनामा अनुचित व्यापारिक कारोबार गरेबापत पाँच सय ६८ फर्मलाई जरिबाना गरेको छ । गएकाे साउन १ गतेदेखि वैशाख मसान्तसम्ममा काठमाण्डाै उपत्यका र बाहिर सञ्चालन भएका फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही स्वरुप जरिबाना गरिएको जनाइएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार उपत्यकाका चार सय ७० र बाहिरका ९८ फर्मबाट कारबाही स्वरुप दुई करोड ८९ लाख सात हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । उहाँका अनुसार काठमाण्डाै उपत्यका र उपत्यकाबाहिर बजार अनुगमनका क्रममा विभिन्न फर्म तथा उद्योगलाई कारबाही गरी जरिबाना तिराइएको हो ।

विभागको तथ्याङ्क अनुसार दश महिनामा बजार अनुगमका क्रममा खान अयोग्य तथा म्याद सकिएका एक करोड ५५ लाख ४३ हजार तीन सय तीन रुपैयाँ बराबरको खाद्य सामग्री तत्काल नष्ट गर्ने वा सम्बन्धित कहाँ फिर्ता गर्न लगाइएको थियो ।

त्यस्तै अनुगमनकाे क्रममा चार सय २९ फर्म सामान्य अवस्थामा रहेको तथा ६ सय ४२ फर्ममा सामान्य कैफियत भएको र तत्कालै सुधार गर्न निर्देशन दिइएको थियो । सूचना अधिकारी आचार्यका अनुसार एकसय ४३ फर्मलाई आवश्यक कागजातसहित स्पष्टीकरणमा बोलाइएकोे थियो । तीमध्ये उपत्यकाका एक सय ३७ र बाहिरका ६ छन् ।  तिनमा उपत्यकाकाका लकडाउन अवधिका नौ फर्म छन् । त्यस्तै दश फर्मबाट परीक्षणका लागि वस्तुको नमुना लिइएको र ६ फर्मको कारोबार रोक्का गरिएको जनाइएको छ ।

६४ फर्मलाई जरिबाना

सरकारले गएकाे चैत ११ गतेदेखि सुरु गरेको लकडाउन अवधिमा अनुचित व्यापारिक कारोबार गरेको भन्दै विभागले ६४ फर्मलाई जरिबाना गरेर ८६ लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ  । लकडाउनकाे मौका छोपी खाद्य र  पेट्रोलियम पदार्थ, स्वास्थ्य सामग्री तथा मासुजन्य पदार्थको बिक्रीवितरणमा बढी मूल्य लिएको भन्दै विभागले ती फर्मलाई कारबाही स्वरुप जरिबाना गर्ने गरेको छ । 

लकडाउन अवधिमा काठमाण्डाै उपत्यकामा सञ्चालित विभिन्न अस्पतालले उपभोक्ताबाट बढी शुल्क लिने गरेको भन्दै स्वास्थ्यकर्मीका साथमा अस्पतालको समेत अनुगमन गरिँदै आएको छ । लकडाउन अवधिमा उपभोक्ताबाट गुनासो आएको भन्दै विभागले ठमेलकाे मनमोहन मेमोरियल अस्पताललाई दुई लाख ५० हजार रुपैयाँ र थापाथलीकाे नर्भिक इन्टरनेशनल हस्पिटललाई आवश्यक कागजसहित लिखित जवाफ माग गरेको थियो ।

विभागले टोल फ्री नम्बर ११३७ मा आएको उपभोक्ताको गुनासोलाई आधार बनाएर दैनिक बजार अनुगमन गर्दै आएको छ ।  चार वर्षदेखि नै टोल फ्री नम्बर सञ्चालन गर्दै आएको भए तापनि लकडाउन अवधिमा धेरै गुनासो आएको विभागका अधिकारी बताउँछन् । बिहान ८ देखि बेलुका ८ बजेसम्म विभागले त्याे नम्बरमा आएको गुनासो सम्बोधन गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया