भारतसँगको सीमामा तारबार र यात्राकाे अभिलेखीकरण गर्न साझा पार्टीको माग

 जेठ २, २०७७ शुक्रबार १३:३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साझा पार्टीले नेपाल भारत सीमामा तारबार र यात्राकाे अभिलेखीकरण गर्नुपर्ने बताएको छ ।

दुवै देशका विकासका आकांक्षा, राष्ट्रिय सुरक्षाका चुनौती, अर्थतन्त्रको व्यवस्थापन, सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन लगायत कारण खुला सीमा र अव्यवस्थित आवागमन दुवै देशको हितमा नभएकाले सीमामा तारबार गरी यात्राको अभिलेखीकरण गर्नुपर्ने साझा पार्टीले बताएको हो ।

खुला सिमानाका कारण दुई देशबीचको सीमा निर्धारणका प्राविधिक कार्य समेत प्राथमिकतामा नपरेको, सयौँ सीमा स्तम्भ हराएको, दर्जनौँ सीमा स्तम्भहरू नेपाली भूभागतर्फ सारिएको, कयौँ ठाउँमा नेपालीले भूमीमाथिको स्वामित्व गुमाएको, अन्तर्राष्ट्रिय कानुन विपरीत सिमानामा बाँध तथा सडक निर्माण गरिँदा नेपाली बस्तीहरू वर्षायाममा जलमग्न हुने गरेको र सीमाक्षेत्र नजिक बस्ने धेरै नेपालीमाथी भारतीय सीमा सुरक्षा बलले ज्यादती गर्ने गरेकाले सीमा क्षेत्र व्यवस्थित गर्नुपर्ने साझा पार्टीले माग गरेको छ ।

साझा पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले निकालेको विज्ञप्तिमा खुला सिमानाले तस्करीलगायत राष्ट्रिय सुरक्षाका सम्वेदनशील पक्षमा निम्त्याउने जटिलता धेरै रहेको र अर्को देशका नागरिक आफ्नो देशमा छन् भन्ने अभिलेख पनि नरहेकाले सीमामा तारबार लगाउनुपर्ने उल्लेख गरिएको छ ।

‘सीमा क्षेत्रका बासिन्दालाई समस्या नपर्नेगरी नेपाल भारत सीमामा निश्चित नाकामात्र अभिलेखीकरणको व्यवस्था सहित खुला गर्न र सिमानाका अन्य भाग तारबारसहित बन्द गर्न साझा पार्टीले नेपाल सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

यसका लागि राहदानी, नागरिकता, परिचयपत्र र अरु प्रविधिको सहयोगमा सीमा वारपारलाई नियमन गर्नु नेपाल र भारत दुवैको दीर्घकालीन हितमा भएको साझा पार्टीको दावी छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया