शनिबार ११ जनामा कोरोना सङ्क्रमण पुष्टि, धुलिखेलमा सुत्केरीको ज्यान जानुको कारण खुल्न बाँकी

 जेठ ३, २०७७ शनिबार १८:३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शनिबार एकैदिन ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ७८ पुगेको छ । त्यस्तै ३६ जना उपचारपछि घर फर्किएका छन् ।

शनिबार महोत्तरी, काभ्रे, कपिलवस्तु, बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुष, कपिलवस्तु शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै बर्दियाकी २८ वर्षीया महिला, सिरहा सखुवाका ३० वर्षीय पुरुष, वीरगञ्ज नगरपालिकाका २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगरका १८ वर्षीया युवती र चितवन गढौली १ की २५ वर्षीया युवतीमा शनिबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरु सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीकै निगरानीमा रहेकाे पनि मन्त्रालयले जनाएको छ ।

धुलिखेल अस्पतालमा सुत्केरीको ज्यान जानुको कारण खुल्न बाँकी

सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरीको ज्यान जानुको कारण अझै खुलिसकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित बिफ्रिङमा सुत्केरी महिलाको ज्यान जानुको कारण खुल्न बाँकी रहेको जानकारी गराएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सुत्केरी महिलाको गएको २४ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्राकृतिक रुपमा प्रसूति भएको र २५ गते अस्पतालबाट डिस्चार्ज गरेको जानकारी दिनुभयो । उहाँले डिस्चार्जपछि सुत्केरी महिलालाई घर लगेपछि ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको खुल्न आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्यमा समस्या भएपछि सुत्केरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएको तर अवस्था गम्भीर भएपछि काभ्रेको धुलिखेल अस्पताल ल्याउँदै गर्दा ज्यान गएको पाइएको छ ।’ सुत्केरीको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेकोले ज्यान जानुको कारण नखुलेको र रिपोर्ट आएपछि औपचारिक जानकारी गराइने पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया