'लकडाउन' लम्ब्याउँदै थप कडाइ गर्न उच्चस्तरीय समितिकाे सिफारिस

 जेठ ४, २०७७ आइतबार १८:३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको छ । 

लकडाउन लम्ब्याउनेबारेमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । नेपालमा कोरोना सङ्क्रमणको अवस्था हेरेर १५ दिनसम्म लकडाउनको अवधि थपिन सक्ने बताइएको छ ।

आइतबार बसेको समिति बैठकले जेठ ५ गतेपछि लकडाउन थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको हो । लकडाउनकाे कारण ठूलो दुर्घटनाबाट जोगिएको अवस्थामा थप कडाइ गर्ने विषयमा सरकारलाई सिफारिस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताउनुभयो ।

बजेट छुट्याएरै भए पनि पालिकाहरुमा स्थापना भएका क्वरेण्टीनहरुलाई व्यवस्थित गर्नुपर्ने निर्णय बैठकले गरेको छ । उहाँले भन्नुभयो, ‘सङ्क्रमितकाे सङ्ख्या बढ्दो छ । दुई जनाको निधन भएको खबर पनि आएका छन् । लकडाउन नभएको भए अझ अवस्था भयावह हुन्थ्यो भन्ने बैठकको निष्कर्ष छ । लकडाउन अझ कडाइ गर्दै लैजाने र पालिकाहरुमा स्थापना भएका क्वरेण्टीनहरुलाई व्यवस्थित गर्दै लैजाने बैठकको निष्कर्ष छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी गर्ने, आपूर्ति व्यवस्थालाई सहज गर्दै दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति गर्ने निर्णय पनि गरेको छ । 

सरकारले पछिल्लो पटक थपेको लकडाउनको अवधि यही सोमबार सकिँदैछ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया