इदको समयमा साउदीमा कर्फ्यु, भेटघाट नगर्न दूतावासको आग्रह

 जेठ ५, २०७७ सोमबार १०:५१:३ | उज्यालो सहकर्मी

काठमाण्डौ – मुस्लिम धर्मावलम्वीको महान पर्व इदको समयमा साउदी अरबमा कर्फ्यु लाग्ने भएको छ । 

साउदीको गृह मन्त्रालयले ईदको समयमा हुने जमघटलाई कम गरी कोरोना  नियन्त्रण गर्ने उद्देश्यले मे २३  देखि २७ सम्म २४ घण्टा कर्फ्येु लागू गर्ने निर्णय गरेको हो । 

कर्फ्येु उल्लङ्घन गर्नेलाई जरिवाना समेत तोकिएको साउदीमा रहेको नेपाली महावाणिज्य दूतावासले जनाएको छ । 

यस समयमा आफूलाई चाहिने आवश्यक वस्तु तथा खाद्यान्न पहिले नै खरीद गरी कर्फ्यु समयको पूर्ण पालना गर्न साउदीमा रहेका नेपाली श्रमिकलाई दूतावासको अनुरोध छ ।

श्रमिकहरुको आवास क्षेत्रमा कोरोना सङ्क्रमण बढी फैलिएको पाइएकोले गएका वर्षहरुमा जस्तो जमघट वा भेटघाट नगर्न पनि दूतावासले सबैलाई सूचित गरेको छ ।

एक कम्पनीको आवासबाट अर्को कम्पनीको आवासमा आवतजावत गर्न साउदी सरकारले निरुत्साहन गरेका कारण त्यहाँ रहेका नेपालीहरुलाई पनि त्यसो नगर्न दूतावासको अनुरोध छ ।

यस्तै कोरोनाबाट संक्रमित वा लक्षण देखिएका तर आईसोलेसन र क्वरेण्टीनमा नियम पालना नगर्ने बिरामीलाई साउदी सरकारले जरिवाना तोकेको हुँदा त्यसको पालना गर्न पनि दूतावासले सबैमा आग्रह गरेको छ ।

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया