जङ्गबहादुरपछिकाे 'शक्तिशाली प्रधानमन्त्री' देशकाे भूमि मिचिँदा पनि भारतसँग कुरा गर्न डराउनुभयाे : सांसद शाही

 जेठ ५, २०७७ सोमबार १५:६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले शक्तिशाली सरकार देशको भूमि अतिक्रमण हुँदा पनि भारतसँग कुरा गर्न डराएको बताउनुभएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा शाहीले जङ्गबहादुरपछिको शक्तिशाली प्रधानमन्त्री सीमा अतिक्रणका विषयमा भारतसँग कुरा गर्न डराउनुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, 'जङ्गबहादुरपछि शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् तर चिनियाँहरुले पुलिस कुट्दा, भारतले भूमि लुट्दा र सीमामा जनता छुट्टिँदा हाम्रो प्रधानमन्त्री ज्यू ! एक कल फोन गर्न भारतको बडे भैयासित डराउनुहुन्छ ।' 

सांसद शाहीले कोरोना महामारीको विषयमा कुरा गर्न खोज्दा उपप्रधानमन्त्रीले सांसदहरुलाई नचिनेको बताउनुभयो । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘एउटा देशको रक्षा मन्त्री/उपप्रधानमन्त्रीले सांसदलाई चिन्दैन । देशमा यस्तो अवस्था छ, हामीले देशको रक्षा मन्त्री खोज्दै गर्दा उहाँको स्वकीय सचिवले हामीलाई जवाफ दिनुहुन्छ । रक्षा मन्त्रीलाई मोबाइलबाट त कोरोना सर्दैन होला ?' 

सरकारले निर्माण गरेको कोरोना कोषमा सांसदहरुले पनि एक महिनाको तलब दिएको बताउँदै उहाँले मन्त्रीहरुका कारण आफूहरुले गाली खानुपरेको बताउनुभयो । मन्त्रीहरुले आफ्नै खल्तीबाट राहत बाँडेजस्तो गरी कार्यकर्ता पाल्ने काम गरिरहेको उहाँले बताउनुभयो ।

‘मन्त्रीहरुले जम्बो टोली सचिवालयमा कर्मचारीहरु भर्ना गर्ने अनि सांसदले गाली खाने । डिजेल, पेट्रोल मन्त्रीहरुले खाने अनि सांसदहरुले गाली खाने । फजुल खर्च मन्त्रीहरुले गर्ने, गाली सांसदहरुले खाने । जनतामुखी बजेट ल्याउन नसक्ने, कार्यकर्ता पाल्ने बजेट ल्याउने अनि सांसदले गाली खाने, दशैँ मन्त्रीहरुले मनाउने, गाली खाने सांसद', उहाँले भन्नुभयो ।

मान्छे मरेपछि कोरोना परीक्षण भइरहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई देशलाई आइसोलेशनम कहिलेसम्म राख्नुहुन्छ ? भनेर प्रश्न गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया