लकडाउनमा 'आइसोलेसन'मा रहेको सगरमाथा मेरो सपनामा आउँछ

 जेठ १५, २०७७ बिहिबार १९:२१:५१ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ - मोबाइलमा घण्टी बज्यो । मोबाइल तानेर हेरेँ । फोन सरकारी अधिकृतको रुपमा सगरमाथाको आधार शिविरमा खटिनुभएका ज्ञानेन्द्र श्रेष्ठको रहेछ । फोन उठाएँ । उहाँले केही आरोहीहरु सगरमाथा शिखरमा पुगेको भन्दै विवरण दिनुभयो । विवरण टिप्दै थिएँ, फोनमा होहल्ला आयो । आत्तिएर के भयो भन्दै सोधेको, म पो आत्तिएर ब्युँझिएछु । 

हातमा मोबाइल त थिएन । शरीरभरि पसिना थियो । एकछिन सोचेँ - किन यस्तो सपना देखेँ । हुन त सपना देख्न किन कारण चाहियो र ! कल्पनाबाहिरका कुरा पनि देखिन्छ । गएको एक दशकदेखि प्रत्येक वर्षको जेठ महिनाको सुरुदेखि मध्यसम्म हरेक बिहान सगरमाथा आरोहण भए नभएको खोजी गर्थेँ । सगरमाथाको चौथो शिविरबाट रात छिप्पिदै गर्दा उकालो लागेको टोली बिहान सबेरै शिखरमा पुग्छ । त्यसैले बिहान सबेरै सगरमाथा आरोहणबारे खबर आउँथ्यो । 

कति जनाले सगरमाथा चढे ? कसले कस्तो रेकर्ड बनाए ? हिमालमा रोचक आरोहण वा अरु गतिविधि भए कि ? कोही हराए वा कसैको ज्यान पो गयो कि ? जेठ लागेपछि दुई हप्तासम्म यस्ता खबरहरु आइरहन्थे । म बिहानै उठेर सगरमाथा आधार शिविरमा रहेका स्रोतहरुसँग सोधीखोजी गर्थेँ । त्यही झझल्को आएर सपना देखेँ । अनि मलाई विभिन्न गाइड र सम्पर्क अधिकृतलगायतले सूचना दिन्थे । त्यसमा ज्ञानेन्द्र श्रेष्ठबाटै धेरै सूचना आउँथ्यो । त्यसैले उहाँसँगै जोडिएर सपना देखेँ । धेरै सपना कल्पना गरिएका वा झझल्को आइरहने कुरा नै देखिन्छ । 

निन्द्रा भड्कियो । कोल्टे फेरेँ । राति गर्मी बढेर फ्याँकेको ब्ल्याङ्केट तानेर ओढेँ । निन्द्रा आएन । मनभरि सगरमाथा घुम्न थाल्यो । चैत/वैशाख लागेदेखि हिमालका फेदतिर लालीगुराँस र सेता हिमाल हेर्दै घुम्न खोज्ने यो मन सगरमाथातिर घुम्न गयो । 

नाम्चेका कान्छा शेर्पाबाट सुनेको सगरमाथा आरोहणको पहिलो यात्रा, फोर्चेका पासाङ शेर्पाले सुनाएको हिउँमा पटक–पटक काललाई जितेको वीरतापूर्ण कथा, हिमालमा पति गुमाएका खुम्जुङ्गका एकल महिलाहरुले सुनाएको कारुणिक र रोमाञ्चक कथा, हिमाल आरोहण गर्नेहरुलाइ सेवा दिँदादिँदै जीवनमा कायापलट अनुभव गरेका शेर्पाहरुको कथा । यी सबै मेरो मानस पटलमा फनफन्ती घुम्न थाले । 

सन् १९५३ को मई २९ मा तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखर चुमेपछि नेपालमा हिमाल आरोहणको सम्भावना बढेको हो । सगरमाथाको शिखरमा मानव पाइला पुगेको सात दशकमै सोलुखुम्बुको खुम्बु क्षेत्रको जीवन स्तरमा निकै अन्तर आएको छ । सामान्य जीवन बाँचिरहेका त्यहाँका बासिन्दाको जीवन शैली विकसित देशकै हाराहारीमा पुगेको छ । खुम्बु मात्र होइन, नेपालमा पर्यटक क्षेत्रबाट हुने आम्दानीको ठूलो हिस्सा पर्वतीय पर्यटनबाट हुने गरेको छ । निकै महँगो प्याकेजको रुपमा चिनिने पर्वतीय पर्यटन सगरमाथालगायतका हिमालकै कारण भएको हो । 

विश्वमा नेपाललाई चिनाएको, पर्यटनबाट धेरैलाई रोजगार र व्यवसायको अवसर दिएको, देशको लागि राजस्व दिइरहेको हिमाल आरोहण यो वर्ष ठप्प छ । हरेक वर्ष ४० हजारको हाराहारीमा विदेशी पर्यटक पुग्ने सगरमाथा क्षेत्र यो वर्षको वसन्तु ऋतुमा सुनसान रहयो । पर्यटकका लागि भनेर जोहो गरिएका खाद्यान्न अहिले थन्किएका छन् । कतिपय खाद्यवस्तुको उपभोग्य म्याद सकिने चिन्ता छ भने मौसमी व्यवसायको रुपमा रहेको खुम्बुको व्यवसाय अहिले ठप्प छ । 

व्यवसाय ठप्प खुम्बुको मात्रै होइन, देशभरकै भएको छ । यो देशको मात्र होइन, सारा विश्वको समस्या हो । चित्त बुझाउने प्रयास गरेँ । तैपनि मन तिनै सेता हिमाल र राता लालीगुराँसतर्फ डुलिरह्यो । शेर्पाको आतिथ्य, उकालोमा श्वास बढेपछि केही समय थकाइ मार्दा शरीरमा प्राप्त हुने आनन्द, चिसो बतास, विदेशीहरुले मुस्कानसहित भनेको नमस्कार, झारल र कस्तुरी मृगको दौड र डाँफेलगायतका हिमाली चराहरुको चिरबिराहट सम्झिन थालेँ । 

हरेक वर्ष सगरमाथा आरोहणका खबर लेख्दा मन त्यसै रमाउँथ्यो । सगरमाथामा हुने केही दुर्घटना वा केहीको ज्यान गएकोजस्ता खबरहरु मन बिझाउने पनि हुन्थे । तर हिमाल आरोहण आफैँमा चुनौतीपूर्ण काम हो । साहसिक काम गर्न रुचाउनेहरु मात्रै जाने हो हिमाल चढ्न । त्यसैले मृत्युका खबरलाई साहसका खबरहरुले चुनौती दिन्थे । 

जेठ लागेपछि नेपाली सञ्चारमाध्यम मात्र होइन, विदेशी सञ्चारमाध्यममा समेत सेता हिमाल, सेता हिमालमा टाङ्गिएका रङ्गी विरङ्गी पाल, हिमालमा लगाउने कपडा लगाएर उकालो लागिरहेका आरोहीहरुका तस्बिर छ्याप्छ्याप्ती हुन्थे । आरोहीका कथा विभिन्न दृष्टिबाट आउँथे । आरोहण गाइडका कयौँपटक आरोहण गरेका कथा हुन्थे । उनीहरुले कमाएको चर्चा पनि हुन्थ्यो । भरियाका कथा हुन्थे । खाना बनाउनेहरुका कथा हुन्थे । जोक्पेहरुका कथा बन्थे । यस्ता धेरै कथा राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न पाइन्थ्यो । 

तर यो वर्ष सेता हिमालका कथा होइन, कोरोनाको कारुणिक कथा हेर्नु र पढ्नु परेको छ । धेरैको पदचापले थाक्ने हिउँको सतहका लागि केही वर्ष विश्राम दिनुपर्ने कुरा पनि उठिरहेकै थियो । तर यो विश्राम कोरोनाको कहरले दिएको कारण हिमालका कथाहरु झलझल्ती आइरहेका छन् । अनि आफ्नै मनलाई बुझाएँ - अर्को साल कोरोनालाई जितेर हिमालका फेदतिर घुम्ने हो र हिमालका खबर पनि लेख्ने हो । 

अन्तिम अपडेट: असार १३, २०७७

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया