मे २९ : कोरोनाले एक्लियो सगरमाथा

 जेठ १६, २०७७ शुक्रबार ८:१८:११ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ - पर्वतारोहणको क्षेत्रमा विशेष मानिने दिन मे २९ । तर कोरोना भाइरसको कारण पर्वतीय व्यवसायसँगै मे २९ पनि निरस बनेको छ ।

पर्वतारोहणको क्षेत्रमा काम गर्नेहरुले सामान्य रुपमा मे २९ लाई सम्झेका भए पनि अघिल्ला वर्षहरुमा जस्तो उत्साह छैन । कोरोनाले विश्वलाई नै सताइरहेको बेला मे २९ पनि गुमनाम बन्न पुगेको छ । 

मे २९ अर्थात सगरमाथा दिवस । ६७ वर्षअघि सगरमाथाको शिखरमा मानव पाईला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष मान्छन् भने साहसिक काम मन पराउनेहरुले साहसको प्रतीक । नेपाल सरकार पर्यटन विभागले पनि विशेष रुपमा मनाउने यो दिवसमा यो वर्ष छायाँमा पर्यो । 

सगरमाथाले नेपाललाई बिश्वमाझ चिनाइरहेको छ भने मे २९ मानिस र सगरमाथाबीचको सामिप्यता बढाउने दिन हो । सगरमाथाको आरोहण सुरु भएपछि नै यसको चर्चा विश्वभर भएको हो । यसबाट नेपालमा पर्वतीय पर्यटकको आवागमनसँगै यो क्षेत्र व्यवसायिक बन्यो । अहिले नेपालमा आउने पर्यटकमध्ये उच्च गुणस्तरका पर्यटक पर्वतीय क्षेत्रकै हुन् । जसले यहाँका धेरैलाई रोजगारी तथा व्यवसायको अबसर र देशलाई राजश्व दिइरहेका छन् । 

सुनसान सगरमाथा  

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । त्यसपछि सुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ । तालिम प्राप्त शेर्पा, अनुकूल कपडा तथा उच्च प्रबिधिका कारण आरोहणमा सहजतासँगै आरोहीहरु बढेका हुन् । 

तर यो वर्षको वसन्त ऋतुमा सगरमाथा सहित नेपालका सबै हिमालहरु सुनसान बने । कोरोना भाइरस संक्रमणको डरले यात्रा रोकिंदा आरोहीहरु आउन सकेनन् भने सरकारले सबै हिमाल आरोहणकार्य यो मौसमका लागि बन्द ग¥यो । यही कारण यो वर्ष सगरमाथा सुनसान बन्यो ।

झण्डै तीन महिना झकिझकाउ हुने सगरमाथाको आधारशिविर सुनसान बन्यो भने एक हजारको हाराहारीमा मानिस उकालो लाग्ने आधारशिविर माथिको बाटो बनाउने काम नै भएन । आरोहणमा प्रतिबन्ध लगाउनुअघि हिउँमा बाटो बनाउने आइसफल डाक्टर र केही गाइडहरु सगरमाथा आधार शिविरमा पुगेको भए पनि आरोहण नहुने भएपछि उनीहरु फर्किए । 

आरोहण नहुँदा सगरमाथा मात्र हैन, त्योभन्दा तल खुम्जुङ, नाम्चे, लुक्ला लगायतका ठाउँका होटलहरु पनि सुनसान भए । वसन्त ऋतुमा २० हजारको हाराहारीमा विदेशी पर्यटक पुग्ने खुम्बु क्षेत्रमा यो फागुन महिनामा केही पर्यटक गए पनि त्यसपछि कोही नगएका नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । कोरोनाको कहरले यो वर्ष विश्वमै पर्यटन क्षेत्र सुनसान भएको छ । 

१२ हजार भन्दा बढीको पाइला 

अघिल्लो वर्षसम्ममा साढे १२ हजारभन्दा धेरै मानिस सगरमाथाको शिखरमा पुगेका थिए । तीमध्ये आधा जति आरोहणको अनुमति लिएका र आधा जति आरोहण सहयोगी हुन् । यो वर्ष पनि आरोही र उनीहरुका सहयोगी समेत गरी आठ सयको हाराहारीमा मानिस शिखरमा पुग्ने अनुमान गरिएको भए पनि कोरोनाको डरका कारण कुनै आरोहण नभएको अन्नपूर्ण एक्स्पिडिसन प्रालिका कार्यकारी प्रमुख कामी निमा शेर्पाले बताउनुभयो । 

एक जना विदेशी नागरिकले सगरमाथा आरोहणका लागि ११ हजार डलर राजश्व बुझाउनुपर्छ । राजश्व सहित सबै व्यवस्थापनका लागि एक जना आरोहीले ३५ देखि ६० अजार डलर खर्च गर्छन् । झण्डै ६० दिनको बसाइका लागि आउने आरोहीहरु नेपालका लागि गुणस्तरीय पर्यटक हुन् । समग्र क्षेत्रका पर्यटकसँगै आरोहणका लागि आउने पर्यटक पनि नआउँदा पर्यटन व्यवसायमा धक्का पुगेको छ । 

उचाइ कति ? 

सगरमाथाको उचाइ ८८४८ मिटर हो । यो नाप १७२ वर्ष अगाडि अर्थात सन् १८४९ मा ब्रिटिस सर्भे अफ इण्डियाले सर्वेक्षण गरी प्रमाणित गरेको हो । तर अहिले विभिन्न कारणले सगरमाथाको उचाइ घटबढ भएको अनुमान गरिन्छ । अन्तर्राष्ट्रिय रुपमै सगरमाथाको उचाइमा प्रश्नहरु बढिरहेकोले नेपाल सरकारले गएको वर्ष सगरमाथाको उचाइ नाप्यो । विभिन्न ठाउँमा आधार स्टेसन बनाएर नापी विभागको एउटा टोली सगरमाथाको शिखरमै पुगेर नाप लिएको छ । तर उचाइ कति भन्ने अझै टुङ्गो लागेको छैन । 

यसैबीच सगरमाथाको उचाइ नाप्नको लागि चीनको एउटा सर्वे टोली यही १४ गते बुधबार बिहान सगरमाथाको शिखरमा पुग्यो । चीनतर्फको बाटोबाट टोली शिखरमा पुगेको हो । नेपालले लिएको नापको तथ्याँक मिलाउने काम अन्तिम चरणमा पुगेको र चीनले नापीको काम सकेपछि एकै पटक उचाइ सार्वजनिक गरिने नापी विभागले जनाएको छ । दुबै पक्षले नाप लिएपछि एउटै आधिकारिक नाप सार्वजनिक गर्नेबारे नेपाल र चीनका राष्ट्रपति स्तरमा सहमति भएकोले दुबैको नतिजा आएपछि मिलाएर एउटै नाप सार्वजनिक गरिन लागेको विभागले जनाएको छ । 

सरसफाई पनि भएन  

सगरमाथामा पहिलोपटक भएको आरोहणदेखिकै फोहोर बाँकी रहेको आरोहण क्षेत्रमा काम गर्नेहरु बताउँछन् । अघिल्लो वर्ष सरसफाई अभियान चलाएर सरकारले केही फोहोर व्यवस्थापन गरेको थियो ।

यो वर्ष पनि सरसफाई अभियानका लागि सरकारले सेनालाई जिम्मेवारी दिएको भए पनि कोरोना भाइरसका कारण सरसफाई अभियान सञ्चालन भएन । आरोहीहरुले सुरक्षाका उपाय सहित यो वर्ष सगरमाथा सफाइ गर्दा आरोहण नहुने भएकोले सजिलो हुने बताएका थिए । तर सरकारले आरोहण स्थगीत गरेकोले सरसफाई कार्यक्रम पनि भएन । 

सगरमाथा जाने बाटो

लुक्लासम्म काठमाण्डौबाट हवाइ जहाजमार्फत पुग्न सकिन्छ वा सल्लेरी हुँदै आधा बाटो गाडी र पैदल हिँडेर पनि लुक्ला पुग्न सकिन्छ । लुक्लाबाट सुरु हुन्छ मनै लोभ्याउने प्राकृतिक छटा सहितको यात्रा ।

लुक्लाबाट फाक्दिङ हुँदै झण्डै ९÷१० घण्टामा नाम्चे पुगिन्छ । ३ हजार ४ सय ४० मिटरको उचाइमा रहेको नाम्चे बजार सगरमाथाको प्रवेशद्वार हो ।  नाम्चे बजारबाट तेङ्बोचेका लागि पैदल यात्रामा निस्कन सकिन्छ ।

नाम्चेबाट ११ किलोमिटरको दूरीमा रहेको तेङ्बोचे ५ घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ । ३ हजार ८ सय ६० मिटरको उचाइमा रहेको तेङ्बोचेबाट सगरमाथासहित अमादब्लम, ल्होत्से, नुप्त्से र अरु हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । 

तेङ्बोचेबाट दिङ्बोचेका लागि यात्रा शुरु हुन्छ । १२ किलोमिटरको दूरीमा रहेको दिङ्बोचे पुग्न तेङ्बोचेबाट ५ घण्टा हिँड्नुपर्छ । ४ हजार २ सय ५० मिटरको उचाइमा रहेको डिङ्बोचे शेर्पा गाउँ हो, जहाँ मौलिकता अझै बाँकी छ । दिङ्बोचेमा खाजा खाएर लोबुचेको यात्रा सुरु हुन्छ । ५ घण्टामा १२ किलोमिटरको दूरी पार गर्दै ४ हजार ९ सय ३० मिटरको उचाइमा रहेको लोबुचे गाउँ पुगिन्छ । 

 

लोबुचेबाट सगरमाथा आधार शिविरका लागि यात्रा सुरु हुन्छ ।  १५ किलोमिटरको दूरी झण्डै ८ घण्टामा छिचोलेर सगरमाथा शिखरको प्रस्थान बिन्दु आधारशिविर पुग्न सकिन्छ । आधारशिविर यति मनोमहक छ कि जसको वर्णन शब्दमा गर्न कठिन हुन्छ । 

आरोहीहरु शरीरलाई मौसम अनुकूल बनाउनका लागि आधार शिविरमा एक हप्तादेखि महिना दिनसम्म पनि बिताउने गर्छन् । मौसम अनुकूल, आधार शिविरभन्दा माथि बाटो निर्माण कार्य, शिविर व्यवस्थापन आदिलाई ध्यान दिएर सगरमाथाको वास्तविक यात्रा पनि आधार शिविरबाटै सुरु हुन्छ । 

आधार शिविरबाट ६ हजार ५० मिटर उचाइमा रहेको पहिलो शिविर पुगिन्छ । खुम्बु आइसफलका कारण पहिलो शिविरमा जाने बाटो निकै खतरनाक छ । त्यहाँ आरोहीहरु एक दुई रात बिताउँछन् केही आधार शिविर आउजाउ पनि गर्छन् । 

पहिलो शिविरबाट दोश्रो शिविरमा जाने बाटो अलि सजिलो छ । ६ हजार ५ सय मिटर उचाइको दोश्रो शिविरमा आरोहीहरु दुई, तीन रात बिताउँछन् । ७ हजार २ सय मिटर उचाईमा रहेको तेश्रो शिविर आरोहीहरुको आराम गर्ने ठाउँ हो । दोश्रो शिविरबाट तेश्रो शिविरमा पुग्न आरोहीले विभिन्न औजार प्रयोग गर्नुपर्छ ।

सगरमाथा आरोहणको अन्तिम शिविर ७ हजार ९ सय मिटर उचाइमा रहेको चौथो शिविर हो । यहाँ आरोहीहरुको लागि अक्सिजन तथा अन्य औजार राखिन्छ । त्यहाँभन्दा माथि अन्य शिविर नभएकोले चौथो शिविरबाट सिधै शिखरको यात्रा तय हुन्छ । चौथो शिविरबाट १६ देखि १८ घण्टामा शिखर पुगिन्छ ।  

शिखर अर्थात ८,८४८ मिटरको उचाइ आरोहीले पाइला टेक्ने अन्तिम जमिन हो । संसारमा यो भन्दा अग्लो स्थानमा कुनै ठाउँ छैन ।  

अन्तिम अपडेट: असार २०, २०७७

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया