भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
सङ्खुवासभा - पूर्वी पहाडी जिल्ला सङ्खुवासभाका विभिन्न क्षेत्रमा उभौली लागेपछि औल झरेका भेडाहरु लेक फर्किन थालेका छन् । जिल्लाको उत्तरी मकालु गाउँपालिकाको सेदुवा, टाँसीगाउँ, पाथीभरा, माङसिम्मा र भोटखोला गाउँपालिकाको हटिया, हुङहुङ, चेपुवा, चाम्ताङ्ग, किमाथाङ्का, रिदाक र थुदामलगायतका ठाउँमा भेडापालन हुने गरेको छ ।
त्यसका साथै सिलिचोङ गाउँपालिकाको माथिल्लो क्षेत्रहरु सिकदिम, सिरुटार र मानेटार, चैनपुर नगरपालिकाको नुनढाकी र गुफापोखरी, सभापोखरी गाउँपालिकाको पावा र स्वाचीलगायतका ठाउँमा भेडा पाल्ने गर्दछन् । यी ठाउँमा पालिएका भेडाहरु जाडोको समयमा औल झर्ने र गर्मीको समयमा पुनः लेक फर्किने गर्दछन् ।
उद्यौली र उभौली
उद्यौलीको समयमा हिउँदमा हिमालको चिसो हिउँपानी छल्न र गाउँघरमा खेतबारी मलजल गर्नका लागि तल्लो क्षेत्र झार्ने तथा गर्मीको समयमा उभौली लेकाली खर्क नै फर्काउने गरेको मकालु गाउँपालिका–४ सिम्माका भेडापालक काजीमान गुरुङले बताउनुभयो । उहाँले भेडाको गोठ ६/६ महिना उद्यौली र उभौली अर्थात् तल्लो क्षेत्र र माथिल्लो क्षेत्र सार्ने गरिएको बताउनुभयो ।
मलजल गर्दा आम्दानी
नयाँ–नयाँ ठाउँमा घाँस पर्याप्त खुवाउन भेडाको गोठ तलमाथि सार्ने गरेको भेडापालकहरुको भनाइ छ । हिउँदको समयमा हिमाली क्षेत्रमा घाँसपात सुक्ने तर गाउँघरमा धेरै घाँसपात हुनुका साथै खेतबारी मलजल गर्दा आम्दानी समेत हुने भएकाले गोठ सार्ने गरिएको हो । किसानहरुले खेतबारी मलजल गरिदिएबापत निश्चित रकम बुझाउनुपर्ने नियम रहेको भेडापालक गुरुङको भनाइ छ ।
उत्तरी भेगमा भेडापालन
पछिल्लो समयमा जिल्लाको उत्तरी भेगमा सबैभन्दा बढी भेडा पालन गुरुङले गर्दै आउनुभएको छ । उहाँको गोठमा सात सयभन्दा बढी भेडा रहेका छन् । उहाँले तीन जना गोठाला राख्नुभएको छ । गुरुङ भने घर र गोठ हेरचाह गर्न तलमाथि गरिरहने बताउनुहुन्छ ।
उहाँबाहेक भोटखोला गाउँपालिकामा धेरै भेडा पाल्ने तेज्जी भोटे र पिम्बा भोटे हुनुहुन्छ । उहाँहरु दुवै जनाको गोठमा तीन सयभन्दा बढी भेडा छन् । त्यसैगरी तुङखालिङका बडिम्पा भोटेको गोठमा ३ सय ५० को हाराहारीमा भेडा छन् । भने हुङहुङका दाजुङ भोटेको गोठमा २ सय ५० भन्दा बढी भेडा छन् । त्यसबाहेक अन्य ठाउँका गोठमा एक सयदेखि दुई सयको हाराहारीमा भेडाहरु रहेको पाइएको छ । भेडाको सङ्ख्या कहिले बढ्ने कहिले घट्ने भइरहने गरेको भेडापालकहरुको भनाइ छ ।
मासुको लागि बढी बिक्री
जिल्ला सदरमुकाम खाँदबारी र आसपासका क्षेत्रमा खसी, राँगा र कुखुराको मासुभन्दा भेडाको मासु महँगो छ । अन्य मासुभन्दा भेडाको मासु प्रायः दुई/तीन सय रुपैयाँ बढी पर्छ । मासु र ऊन बेचेर भेडापालक किसानलाई आम्दानी हुने गर्दछ ।
चिचिला गाउँपालिका वडा नम्बर - ५ का राजेन्द्र घलेले चिचिला, खाँदबारी बजार र आसपासका क्षेत्रमा सात सय रुपैयाँमा खसीको मासु पाइन्छ । तर एक किलो भेडाको मासु किन्न ८ सयदेखि एक हजार रुपैयाँसम्म पर्ने बताउनुभयो । उहाँले खासगरी गुरुङ, घले, मगर र कुलुङलगायतका केही जातिको मुख्य चाड दशैँ, ल्होसार र चाक्चाचुरलगायतमा भेडाको अनिवार्य बली दिनुपर्ने भएकाले भेडा महँगो भएको बताउनुभयो ।
भेडा र गुरुङ
तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद्का जिल्ला अध्यक्ष मित्रकुमार गुरुङले भेडा र गुरुङ दुई पर्यायवाची शब्द जस्तै बनेको बताउनुभयो । उहाँले गुरुङ जातिले दशैँमा अष्टमी र नवमी मारका दिन छिप्पिएको भेडा साँढ काटेर रगत कुललाई चढाउनुपर्ने पुरानो परम्परा रहेको बताउनुभयो । त्यसका साथै अन्य समयको महत्त्वपूर्ण कुल पूजामा समेत भेडा पाठाले पूजाआजा गर्नुपर्ने उहाँको भनाइ छ । सोही कारणले पनि भेडाको माग बढेको हो ।
त्यसका साथै पछिल्लो समयमा उच्च रक्तचाप, सुगर र कोलेस्ट्रोल भएका बिरामीले समेत भेडाको मासु खाँदा असर नगर्ने भएकोले भेडा मासुको माग बढेको छ ।
चरन अभाव
प्रायजसो भेडीखर्क र लेकाली क्षेत्रमा मात्रै भेडापालन हुने भएकोले पछिल्लो समय यो व्यवसाय घट्दो क्रममा छ । प्रायः गुरुङ, भोटे, कुलुङ र तामाङ्ग समुदायले मात्र भेडापालन गरेका छन् ।
पछिल्लो समय आधुनिकता र शिक्षाका कारण युवाहरु भेडापालनमा नलाग्दा भेडी गोठ घट्नुका साथै मूल्य आकासिएको छ । अर्कोतिर वन जङ्गललाई सरकारले सामुदायिक बनाएकोले चरन अभावले समेत भेडापालन घटेको काजीमान गुरुङको भनाइ छ ।
सरकारले वनहरुलाई सामुदायिक बनाएपछि अधिकांश ठाउँमा चरनलाई निषेधित गरिएको छ । चरन क्षेत्रको समेत शुल्क बुझाउनुपर्ने भएपछि समस्या भएको भेडापालकहरुको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।