पुनर्निर्माणका काम गर्दा पालना गर्नुपर्ने मापदण्ड तयार, कामदार आफूखुसी हिँड्न नपाउने

 जेठ १७, २०७७ शनिबार ७:१७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका काममा कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने अनिवार्य मापदण्ड तयार पारेको छ ।

प्राधिकरणले तयार पारेको मापदण्डलाई कार्यकारी समितिको बैठकले स्वीकृत गरेसँगै पालना गर्नुपर्ने भएको छ । मापदण्डमा निजी आवास, स्वास्थ्य, शिक्षा, सम्पदा लगायतका क्षेत्रमा बाँकी रहेका पुनर्निर्माणका काम गर्दा उच्च सर्तकता अपनाउनुपर्ने उल्लेख छ ।

साथै कार्यस्थल व्यवस्थापन, सामग्री आपूर्ति, जनशक्तिको कार्य व्यवस्थापन, स्थानीय प्रशासन, पालिका र अन्य सरोकारवाला पक्षको भूमिकालाई पनि समेटिएको छ ।

अब पुनर्निर्माणका कामहरु अघि बढाउन सहज हुने : प्राधिकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मापदण्ड तयार भएकाले अब पुनर्निर्माणका कामहरु अघि बढाउन सहज हुने बताउनुभयो ।

मापदण्ड अनुसार पुनर्निर्माणका काम गर्दा सम्बन्धित निर्माण व्यवसायी वा उपभोक्ता समितिले उपलब्ध भएसम्म कार्यस्थल रहेको बस्ती र वडा, पालिका या जिल्लाभित्रकै जनशक्ति प्रयोग गर्नुपर्नेछ । सम्बन्धित पालिका भन्दा बाहिरका जनशक्ति परिचालन गर्दा भने वडा कार्यालयसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेछ । 

कामदारहरु आफूखुसी हिँडडुल गर्न नपाउने

कामदारलाई काममा लिनु अघि स्थानीय स्तरमा उपलब्ध भएको स्वास्थ्य परीक्षणबाट कोरोना भाइरसको लक्षण नभएको कुरा एकीन गर्ने, परीक्षणको विवरण राख्ने, कामदारलाई कार्यस्थल वा कार्यस्थल नजिक अस्थायी बसोबासको व्यवस्था गर्नुपर्नेछ । कामदारहरु सुपरिवेक्षकको अनुमतिबिना कार्यस्थलबाट अन्यत्र आफूखुशी हिंडडुल गर्न नपाउने लगायतका व्यवस्था गरिएको छ ।

सम्बन्धित निर्माण व्यवसायी र उपभोक्ता समितिले हरेक कामदारलाई सङ्क्रमण जोखिमबाट बच्ने उपायहरुको बारेमा स्पष्ट पार्न काममा लगाउनुपूर्व कोरोना भाइरस सम्बन्धी सामान्य जानकारी, भाइरस सङ्क्रमण हुने प्रक्रिया, सङ्क्रमित व्यक्तिमा देखा पर्न सक्ने लक्षण र सङ्क्रमण जोखिम रोकथाम र नियन्त्रण सम्बन्धमा अपनाइनुपर्ने उपायहरुबारे जानकारी गराउनु पर्नेछ ।

मापदण्ड अनुसार कार्यस्थल र क्याम्पमा हातमुख धुनका लागि साबुन पानी बन्दोबस्त, मास्कको उपलब्धता, ज्वरो नाप्नको लागि थर्मोमिटर, बढी जनशक्ति परिचालित हुने स्थलमा थर्मोगनको उपलब्धता, न्यूनतम सामाजिक र भौतिक दूरी कायम हुनुपर्ने, खानेपानीको व्यवस्थाका लागि सबै कामदारलाई आ आफ्नो बोतल र भाँडोको उपलब्धता हुनुपर्ने लगायतका न्यूनतम सुविधा उपलब्ध हुनुपर्नेछ । 

यस्तै निजी आवास पुनर्निर्माणको कार्य सुरु गर्नुभन्दा पहिले सम्बन्धित वडा कार्यालयलाई जानकारी गराई प्राप्त सुझाव बमोजिम मात्र कार्य प्रारम्भ गर्नुपर्नेछ । उपलब्ध भएसम्म स्थानीय कामदारलाई काममा लगाउनु पर्नेछ ।

स्थानीय स्तरमा कामदार उपलब्ध नभई बाहिरबाट कामदार ल्याउनुपरेमा सम्बन्धित पालिकाको सिफारिस सहित सहजीकरणको लागि जिल्ला आयोजना कार्यान्वयन इकाइलाई अनुरोध गर्नुपर्नेछ । कार्यस्थलमा अनिवार्य रुपमा साबुन पानी, मास्क, शौचालय र सरसफाइको व्यवस्था मिलाउनु पर्नेछ ।

यसैगरी खाद्य आपूर्ति तथा ज्याला भुक्तानी,  कोरोना भाइरसको लक्षण देखिएमा अपनाउने सतर्कता, निर्माण सामग्रीको आपूर्ति व्यवस्थापन, कार्यालय तथा बैठक व्यवस्थापन, समन्वय, सहजीकरण र अनुगमन सम्बन्धी पनि मापदण्ड तोकिएको छ ।

लकडाउन हटे पनि मापदण्ड अनिवार्य पालना गर्नुपर्ने 

प्राधिकरणका अनुसार यो मापदण्ड पुनर्निर्माण सम्बन्धी सम्पूर्ण सरोकारवालाहरुले लकडाउन कायम रहेको वा नरहेको अवस्थामा पनि अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । गत वैशाख २४ गतेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षा सम्बन्धी विभिन्न मापदण्डहरुको पालना गरी विकास आयोजनासम्बन्धी कार्य सुरु गर्न सकिने निर्णय गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया