कोरोना परीक्षणको दायरा बढाउँदै काठमाण्डाै महानगरपालिका

 जेठ १७, २०७७ शनिबार २१:८:४० | रासस
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले पछिल्लो समय कोरोना भाइरस परीक्षणको दायरा बढाएको छ । काठमाण्डौका फरक–फरक ठाउँमा कोभिड–१९ का बिरामी फेला पर्न थालेपछि महानगरले परीक्षण बढाएको हो ।   

यसैबीच वडा नम्बर १० बानेश्वर फूलचोकी मार्गका ४० जनामा गरिएको परीक्षणको नतिजा सङ्क्रमणरहित आएको जनाइएको छ । वडा नम्बर १० का  वडाध्यक्ष रामकुमार केसीका अनुसार त्यस क्षेत्रमा बस्ने एक व्यक्तिलाई यही जेठ २ गते गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएकाे थियाे । ती बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका ४० जनाको यही जेठ १२ गते पीसीआर र अप्रत्यक्ष सम्पर्कमा रहेका १० जनाको आरडीटी विधिबाट नमुना लिइएको थियो । 

त्यसैगरी केही दिनअघि विदेशबाट आएका एक जनामा सङ्क्रमण देखिएपछि वडा नम्बर १६ मा कन्ट्याक्ट ट्रेसिङमार्फत् २६ जनाकाे स्वाबकाे नमुना सङ्कलन गरिएको छ । 

सोह्रखुट्टे फलफूल चोक क्षेत्रमा भेटिएका बिरामीको सम्पर्कमा रहेका परिवार र आफन्तको नमुना सङ्कलन गरिएको वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिनुभयो ।

नमुना सङ्कलन गरिएका परिवार र व्यक्तिलाई आवत जावत गर्न र आफन्त वा अन्य कसैसँग भेटघाटमा रोक लगाइएको वडाध्यक्ष रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार निगरानीमा राखिएका परिवारको खाद्यान्नलगायत अत्यावश्यक र दैनिक जीवनसँग सम्बन्धित काममा वडाले सहयोग गरिरहेको छ । 

सोह्रखुट्टेका ५९ वर्षीय सङ्क्रमित पुरुष अहिले अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको अवस्था सामान्य रहेको पनि महानगरपालिकाले जानकारी गराएको छ । यसअघि महानगरपालिकाले जनप्रतिनिधि, सफाइमा काम गर्ने कर्मचारी र सिसडोलवासीको पनि परीक्षण गरिसकेको छ ।

पछिल्लो समय देशव्यापी रुपमा नै सङ्क्रमितको सङ्ख्या अत्यधिक रुपमा बढिरहेकाले अन्य क्षेत्रमा पनि परीक्षण बढाउने तयारी रहेको बताइएको छ ।  

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया