साेमबार एकैदिन २२६ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १ हजार ७९८ पुग्याे

 जेठ १९, २०७७ सोमबार १६:३१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा साेमबार एकैदिन दुई सय २६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । यो एकैदिन सङ्क्रमित हुनेको सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कञ्चनपुरमा ११ महिने बालिकासहित दुई सय २६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार सात सय ९८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

विराटनगरमा भएको परीक्षणमा झापाका दुई जनामा काेराेना पोजेटिभ देखिएको छ । यस्तै पोखरामा भएको परीक्षणमा नवलपरासीका तीन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ देखिएको छ, जसमा दैलेखका २४ र जुम्लाका १८ जना रहेका छन् ।

सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७, सल्यानका १० र सुर्खेतका पाँच गरी ३२ जनामा काेराेना पोजेटिभ देखिएको छ । यस्तै धुलिखेलमा गरिएकाे परीक्षणमा कलिवस्तुका दुई, रौतहटका १८ जनामा पोजेटिभ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजेटिभ देखिएको छ, जसमा धनुषाका सात, कपिलवस्तुका ३८, महोत्तरीका दुई, मकवानपुरका एक, सर्लाहीका ३८, सिरहाका पाँच र उदयपुरका एक जनामा पोजेटिभ देखिएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ । कैलालीका १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरका एक/एक जनामा पोजेटिभ देखिएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका सात जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका नाै जनामा पोजेटिभ देखिएको छ ।

अहिले प्रदेश नम्बर १ मा एक सय ३८, प्रदेश नम्बर २ मा पाँच सय ८९, वाग्मती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा पाँच सय ७०, कर्णाली प्रदेशमा एक सय ९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी एक हजार ५ सय ६९ जना सङ्क्रमित उपचाररत रहेको प्रवक्ता देवकाेटाले बताउनुभयो ।

देशभरिका विभिन्न अस्पतालमा उपचाररत दुई सय २२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म पीसीआर विधिबाट ७१ हजार नाै सय तीन र आरडीटी विधिबाट एक लाख १३ हजार सात सय ५७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट दुई हजार तीन सय १० र आरडीटीबाट दुई हजार ६ सय ४८ जनाको नमुना परीक्षण भएको छ । देशभरि क्वरेण्टीनमा रहेकाकाे सङ्ख्या एक लाख ३३ हजार नाै सय ७५ रहेकाे छ ।

सोमबार थपिएका सङ्क्रमितमध्ये दुई सय १३ जना पुरुष रहेका छन् भने १३ जना महिला रहेकाे मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

आज एक जना डिस्चार्ज भएसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई सय २२ भएको छ । सङ्क्रमणबाट अहिलेसम्म आठ जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया