रुस–युक्रेन युद्ध अन्त्य गर्नेबारेमा साउदी अरबमा वार्ता शुरू, ‘आवश्यक परे पुटिनले जेलेन्स्कीसँग वार्ता गर्ने’

 फागुन ६, २०८१ मंगलबार १८:२४:२४ | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र रुसबीच साउदी अरबमा वार्ता शुरू भएको छ । तीन वर्षअघि रुसले युक्रेनमा आक्रमण गरेपछि यो पहिलो आमनेसामने भेट हो ।

यस वार्तामा रुसको तर्फबाट विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकाको तर्फबाट विदेशमन्त्री मार्काे रुबियो सहभागी हुनुभएको बीबीसीले जनाएको छ । यस्तै वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज, मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ तथा साउदी विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल–साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मुसाद बिन मोहम्मद अल–एबान सहभागी छन् । यद्यपि यो बैठकमा युक्रेन र युरोपबाट कसैलाई पनि निमन्त्रणा गरिएको छैन ।

बैठक शुरू हुनुअघि अमेरिकाले युक्रेनलाई किन बाइपास गरिरहेको छ भनेर आफ्ना संवाददाताले सोधेको प्रश्नमा अमेरिकी विदेशमन्त्री रुबियोले जवाफ नदिएका बीबीसीको खबरमा उल्लेख छ ।

अमेरिकाले रुस–युद्ध अन्त्य गर्न गम्भीर छ कि छैन भनी जान्नका लागि यो वार्ता पहिलो पाइला भएको बताएको छ भने रुसले अमेरिकासँगको सम्बन्ध सामान्य बनाउने आशा गरेको बताएको छ । तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशलाई समावेश नगरी कुनै पनि सम्झौता स्वीकार नगर्ने बताउनुभएको छ ।

युरोपेली नेताहरू पनि वार्तामा सामेल हुन चाहन्छन् र हिजो उनीहरूले आपत्कालीन बैठक आयोजना गरेका थिए । बेलायती प्रधानमन्त्री केअर स्टार्मरले स्थायी शान्ति सम्झौताको अवस्थामा युक्रेनमा आफ्ना सेना पठाउन विचार गर्ने बताउनुभएको छ । तर अन्य देशहरू अहिलेसम्म उदासीन छन् ।

यसैबीच रुसले आवश्यक परे राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको जनाएको छ । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले आवश्यक पर्‍याे भने पुटिनले नै युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको बताउनुभएको बीबीसीले जनाएको छ । तर जेलेन्स्कीको वैधानिकतामा प्रश्न उठाउन सक्ने भएकोले सम्झौताहरूको कानूनी आधारमा छलफल आवश्यक रहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया