भूकम्पपछि झण्डै ६ लाख ३५ हजारका गुनासा फर्स्यौट :चित्त नबुझे पुनरावेदन विकल्प

 जेठ २०, २०७७ मंगलबार ७:१३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पूर्ण गुनासोलाई फर्स्यौट गरेको छ । प्राधिकरणले ६ लाख ३४ हजार ९ सय ७३ गुनासोलाई छिनोफानो गरेको हो ।

भूकम्पपछि विभिन्न चरणमा लाभग्राहीमा समावेश गरियोस् भनेर दर्ता भएका तथा घरधुरी सर्वेक्षणबाट संकलन गरिएका ती सबै गुनासो सम्बोधन भएका प्राधिकरणले जनाएको छ ।

झण्डै ६ लाख ३५ हजार गुनासो फर्स्यौटपछि १ लाख ६ हजार ४ सय ६५ गुनासोकर्ता लाभग्राही बनेका छन् । त्यस्तै ६७ हजार ६ सय ८१ गुनासोकर्ता प्रवलीकरण लाभग्राही कायम भएका प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । 

गुनासो फर्स्यौटपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणमा गुनासो सम्बोधन कार्य निकै चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लाभग्राही हुन नसकेका कुनै गुनासोकर्तालाई अझै लाभग्राहीमा पर्नुपर्छ भन्ने लागेमा पुनरावेदन समितिमा निवेदन दिन सक्नु हुनेछ ।”

२०७३ फागुनमा बसेको प्राधिकरण निर्देशक समिति बैठकले गैरलाभग्राहीहरुको पनि एकपटक स्थलगत परीक्षण गर्नुपर्ने निर्णय गरेपछि २०७४ साउनदेखि २०७४ कार्तिक २१ सम्म अति प्रभावित १४ जिल्लामा ३३२ इञ्जिनियर तथा त्यत्तिकै संख्यामा सामाजिक परिचालक सहितको टोली खटाएर छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको थियो । त्यसबेला १ लाख २९ हजार ४१० गुनासोकर्ताको सर्वेक्षण सम्पन्न भएको थियो ।

जनप्रतिनिधि चुनिएपछि पुन गुनासो दर्ता गर्ने काम भएको थियो । जसअनुसार भूकम्प प्रभावित १८ जिल्लामा समेत गरी थप १ लाख २ हजार गुनासो दर्ता भएका थिए । ती गुनासोको २०७५ चैत्र १५ देखि २०७६ साउनसम्म दोस्रो पटक छुट तथा पुनः जाँच सर्वेक्षण भयो । यसअन्तर्गत १ लाख ८८ हजारको स्थलगत सर्वेक्षण गरिएको थियो ।

सुरुमा प्राधिकरणले २०७२ माघदेखि २०७४ बैशाखसम्म ३ चरणमा भूकम्प पीडित पहिचानका लागि अति प्रभावित १४ जिल्लामा ८ लाख ६६ हजार ६० र कम प्रभावित १८ जिल्लामा १ लाख ७१ हजार २३१ गरी  १० लाख ३७ हजार २९१ घरपरिवारको सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षणबाट प्राधिकरणले ७ लाख २६ हजार ७३८ पुनर्निर्माण लाभग्राही र १९ हजार ८६६ प्रवलीकरण लाभग्राही पहिचान गरिएको थियो । गुनासो सुनुवाईमा प्राधिकरणले सूचना व्यवस्थापन प्रणालीको प्रयोग गरेको थियो ।

यस्ता गुनासोका लागि प्राधिकरणले पुनर्निर्माण सम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि बनाएको थियो । सबै गुनासो सम्बोधन भएपछि पुनर्निर्माण लाभग्राहीको संख्या ८ लाख ३१ हजार ९९४ पुगेको छ ।

त्यसैगरी, प्रवलीकरण लाभग्राहीको संख्या ७७ हजार २६४ पुगेको छ । तीमध्ये ७ लाख ८२ हजार ६९५ पुनर्निर्माण लाभग्राहीले सम्झौता गरिसकेका छन् जसमध्ये ७ लाख ७६ हजार ८९८ ले पहिलो किस्ता लिइसकेका छन् । त्यसैगरी प्रवलीकरण लाभग्राहीमध्ये ४६ हजार ११९ ले सम्झौता गरेका छन् । जसमध्ये ४५ हजार ७४२ ले पहिलो किस्ता लिइसकेका छन् । पुनर्निर्माण लाभग्राहीले निजी आवास पुनर्निर्माणका लागि ३ किस्तामा ३ लाख र प्रवलीकरण लाभग्राहीले घर प्रबलीकरण गर्न २ किस्तामा १ लाख रुपैयाँ अनुदान पाउँछन् । 

प्राधिकरणले गरेको गुनासो सम्बोधनबाट चित्त नबुझेमा गुनासोकर्ताले पुनरावेदन समितिमा निवेदन दिन सक्नेछन् । उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा तीन सदस्यीय पुनरावेदन समितिको व्यवस्था छ । पुनरावेदन समितिले त्यस्ता गुनसोकर्तालाई लाभग्राही हुने ठहर्याएमा उनीहरु अनुदान पाउन योग्य हुनेछन् ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया