महिनावारीपछिका मेरा परिवर्तनहरु

 जेठ २०, २०७७ मंगलबार १७:४७:४१ | सुष्मा तिमिल्सेना
unn.prixa.net

बर्दिया - चार दिनको जीवनमा खाने, बस्ने र रमाउने हो भन्ने मानिसले चार दिन महिनावारी हुँदा महिलाहरुलाई किन रमाउन सिकाएनन् । चार दिनको जीवन भएपछि चार दिनको महिनावारी पनि एउटै कुरा भयो । यदि जीवनलाई पवित्र मानिन्छ भने महिनावारी कसरी अपवित्र भयो ?

हरेक महिनाको चार दिन महिलाहरुको शरीरबाट बग्ने रातो रगतले हाम्रो समाजलाई के बिगारेको छ ? महिलाहरु महिनावारी हुँदा गर्व गर्ने यो समाजले त्यतिखेर महिलालाई किन खुसी राख्न सक्दैन ? महिलाको शरीरबाट बग्ने रातो रगतलाई अपवित्र मान्ने मानिसहरुले रातो अबिर र रातो फुल मन्दिरमा किन चढाउँछन् जस्ता प्रश्नहरु मनमा खेलिरहेका हुन्थे । यस्ता कुरामा समाजमा आवाज उठाउन सकेको भए हुन्थ्यो जस्तो लागेको थियो । तर हाम्रो समाजले छोरी मान्छेले धेरै बोल्नुहुँदैन भन्ने संस्कार सिकाएकोले बोल्न सक्ने अवस्था थिएन ।

चिसोको मौसम माघ-फागुन महिनाको समय थियो । कक्षा कोठामा पढ्दै गर्दा बाहिरको न्यानो घाम देखेर आज पढ्न बाहिर लगे नि हुन्छ जस्तो लाग्दै थियो । हल्का हल्का पेट पनि दुखिरहेको थियो । तर एक्कासि के भयो मलाई थाहा भएन । मेरा साथीहरुले मेरो घरमा पुर्याएछन् । पछि होस आउँदा थाहा भयो - म त महिनावारी पो भएको रहेछु । मेरो घरको आफ्नै दादा नभएपनि छिमेकी एक जना दादा हुनुहुन्थ्यो । उहाँले म बेहोस भएर घरमा ल्याउँदै गरेको देख्नुभएको रहेछ । हतारहतार मेरो घरमा आएर ‘नानी नानी’ भन्दै बोलाउन थाल्नुभयो । त्यतिबेला पहिलोचोटि महिनावारी भएको महिलालाई बोल्न बन्देज लगाइएको थियो । त्यस्तै मलाई पनि ।

दादाले जति नानीनानी भनेर बोलाएपनि म उहाँसँग चाहेर पनि बोल्न सकिनँ । यताउता हेरेर आमालाई बारीमा देखेपछि ‘अन्टी, नानीलाई के भयो’ भनेर सोध्नुभयो । त्यसपछि आमाले ‘नानी त आज महिनावारी भई । अब तिमीले १०, १५ दिन भेट्न पाउदैनौ’ भन्नुभयो । सधै हाँस्ने, खेल्ने, बोल्ने अनि झगडा गर्ने हामी दाजुबहिनीको सम्बन्ध पनि त्यसैदिनदेखि महिनावारी भएकी महिलाको जस्तै टाढा भयो । कक्षा १२ मा पढ्दै गर्दा पहिलोचोटि म महिनावारी भएकी थिएँ । त्यसैदिनदेखि मेरो जीवनमा धेरै परिवर्तन आए । ठूलो स्वरले झर्किएर बोल्ने म जब महिनावारी भएँ, त्यसबेलादेखि कसैसँग बोल्ने आँट पनि आएन ।

हरेक महिनामा चार दिन बग्ने महिलाहरुको रातो रगतले दादा र मबीचको साथीजस्तो सम्बन्धलाई अलि टाढा बनाइदियो । बिस्तारैबिस्तारै आमा र साथीहरुसँग घुलमिल गर्न सकेपनि दादासँग खुलेर बोल्न कहिल्यै सक्थेन । दिनप्रतिदिन मलाई दादासँग बोल्न अप्ठयारो लाग्दै गयो । मैले दादाको आँखामा हेरेर म महिनावारी भएकी छु भनेर कहिल्यै भन्न सकिनँ । किन ? किनकि मेरी आमाले जुन संस्कार आफूले सिक्नुभएको थियो, त्यही संस्कार मलाई दिनुभएको थियोे । आमाले दिनुभएका संस्कारहरु अङ्गाल्दै आएर सबैभन्दा नजिकको मान्छे मेरो दादासँग म टाढा भएँ ।

सायद मलाई यति लेख्ने आँट पनि आउने थिएन होला । म ११ कक्षामा पढ्दै गर्दादेखि बर्दियामा रहेको रेडियो टाइगर ९९.२ मेगाहर्जमा कार्यरत थिएँ । रेडियो टाइगरमा काम गर्दै गर्दा महिनावारी भएका महिलाहरु छाउगोठमा सुत्दा सर्पले डसेर मृत्यु भएको, निस्सासिएर ज्यान गएकोे, महिलाहरु बलात्कृत भएकोजस्ता समाचार पढ्दा मेरो मन धेरै दुख्थ्यो । अनि यिनै विषयमा महिलाहरु किन चुप लागेर बसेका छन् ? अब महिलाहरुले यस्ता कुरीतिविरुद्ध आवाज उठाउनुपर्छ जस्तो लाग्थ्यो । तर म एक्लैले बोलेर मात्र हुँदैनथ्यो । बाहिर समाजमा बोल्न नसके पनि म आफ्नो घरमा त बोल्न सक्थेँ । तर बोल्ने आँट पनि आएको थिएन ।

रेडियो टाइगरमा काम गर्दैगर्दा महिला हिंसाका बारेमा थोरैथोरै बोल्न मन लागेको थियो । बि.बि.एस. प्रथम वर्षमा पढ्दै गर्दा जुन दिन म विकासप्रेमी युवा समूहमा आबद्ध भएँ त्यसैदिनदेखि मेरो जीवनमा परिवर्तन हुँदै गयो । महिनावारी भएदेखि दादासँग बोल्न नसक्ने म आजभोलि महिनावारी हुँदा ‘प्याड किनेर ल्याइदिनुहोस् न’ भन्ने भएकी छु । उहिले आमा र साथीसँग महिनावारी हुँदा आफूमाथि भएका समस्याहरु साट्न सक्ने भएपनि दादासँग समस्या सेयर गर्न नसक्ने म आजभोलि सबै कुरा सेयर गर्न सक्ने भएकी छु । महिनावारी हुँदा पहिले छाउगोठमा सुत्ने म विगत एक वर्षदेखि घरको कोठामा सुत्ने भएकी छु । र, आजभोलि मेरो जीवनमा परिवर्तन भएका यस्ता अनेक कुराहरु देख्दा लाग्छ, समयअनुसार चल्न सिक्नुपर्ने रहेछ ।

पहिले मैले सहेजस्तै महिला हिंसाहरु तपाईंहरुले पनि सहँदै आउनुभएको छ या महिला हिंसाबाट कसरी मुक्त हुन सकिन्छ भन्ने सोच्नु भएको छ अथवा महिला पुरुष बराबर भएको देख्न चाहनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो सोच परिवर्तन गर्नुहोस् । पुरुषले गर्ने काम महिलाहरुले पनि गर्न सक्छन् भनेर सबै महिलाहरु एकजुट भएर काम गर्नुहोस् । महिलाहरु अगाडि बढ्नका लागि पत्रकारिता तालिम लिनुहोस अथवा विकासप्रेमी युवा समूहजस्ता सामाजिक कार्य गर्ने संस्थामा आबद्ध हुनुहोस् जसले मेरो जीवनमाजस्तै तपाईंको जीवनमा पनि परिवर्तन गर्ने छ ।

अन्तिम अपडेट: असार १३, २०७७

सुष्मा तिमिल्सेना

तिमिल्सेना बर्दियाको रेडियो टाइगरसँग आबद्ध हुनुहुन्छ ।

1 Comments

  • Ananta Bhattarai

    June 3, 2020, 8:36 a.m.

    सुष्मा तिमिल्सेनाको प्रगतिशील सोच प्रशंसनीय छ । समाजका यस्ता कुरीतिहरू विकासका वाधक हुन् । तर रूढिवादी नेपाली समाजमा यस्ता कुरीतिहरू तुरून्त हटाउन अस्म्भव छ, शनै शनै परिवर्तन हुन्छन् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया