सुदूरपश्चिममा काेराेना सङ्क्रमितकाे सङ्ख्या १०९ पुग्याे

 जेठ २४, २०७७ शनिबार २१:२:५० | सीताराम ओझा
unn.prixa.net

कैलाली – शनिबार साँझ थप चार जनामा कोरोना पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितकाे सङ्ख्या एक सय नाै पुगेकाे छ । यसअघि अपराह्न १३ जनामा कोरोना पुष्टि भएको थियो ।

धनगढीकाे कोरोना परीक्षण प्रयोगशालामा चार जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयाे ।नयाँ सङ्क्रमित चारै जना कैलालीको गौरीगङ्गा नगरपालिकाका हुन्, नगरपालिकाका १६, १८, २७ र ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यसअघि आज नै बझाङका ६, कैलाली र काठमाण्डाैका दुई/दुई, अछाम, कञ्चनपुर, डडेल्धुराका एक/एक जनामा कोरोना पुष्टि भएको थियो । कञ्चनपुरको महाकाली अस्पतालमा गरिएको परीक्षणमा महाकाली नगरपालिका  का ३८ वर्षीय पुरुष तथा काठमाण्डौको कागेश्वरी मनहरा नगरपालिका ९ का १८ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

अछामको मङ्गलसेन नगरपालिका १ की ५२ वर्षीया महिला र धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।सुदूरपश्चिममा पहिलो पटक सुत्केरीलाई कोरोना पुष्टि भएको छ । डडेल्धुरामा एक सुत्केरीलाई कोरोना भाइरसकाे सङ्क्रमण भएको पुष्टि भएको हो । अस्पतालका निमित्त मेसु डाक्टर जगदिश विष्टले नवदुर्गा गाउँपालिका ४ सिरोडकी २१ वर्षीया महिलालाई कोरोना पुष्टि भएकाे जानकारी दिनुभयाे ।

गएकाे जेठ २१ गते सुत्केरी हुन सिरोडको क्वरेण्टीनबाट डडेल्धुरा अस्पताल पुग्नुभएकी उहाँकाे २२ गते पीसीआर परीक्षणकाे लागि स्वाब सङ्कलन गरेर धनगढी प्रयोगशाला पठाइएको थियो । २३ गते सुरक्षित तरिकाले अस्पतालमा शिशु जन्माउनुभएकी उहाँको कोरोना रिपाेर्ट पोजेटिभ आएको हाे । कोरोना रिपोर्ट पाेजेटिभ आएपछि उहाँसहित शिशुलाई अस्पतालाको आइसोलेशनमा भर्ना गरिएको मेसु विष्टले जानकारी दिनुभयाे ।

यस्तै बझाङको खप्तडछान्ना गाउँपालिकाका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै बझाङमा सङ्क्रमितको सङ्ख्या सात पुगेको छ । शुक्रबार कोरोना पुष्टि हुनेमा २५, ३८, ५७, र ७० वर्षीय पुरुष तथा २ जना ४० वर्षीया महिला रहेका छन । उनीहरूमध्ये पाँच जना भारतको दिल्लीबाट एक हप्ता अगाडि धनगढीकाे त्रिनगर भन्सार नाका भएर आएको र एक जना २५ वर्षीय पुरुष २ हप्ता अघि काठमाण्डाैबाट बझाङ भित्रिएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डाक्टर मिलन खड्काले बताउनुभयाे । 

सङ्क्रमितलाई खप्तडछान्ना गाउँपालिकाले बनाएको आइसोलेशनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर खड्काले जानकारी दिनुभयाे । 

सुदूरपश्चिमका एक सय ९ जना सङ्क्रमितमध्ये एक सय पाँच जना प्रदेशभित्रै रहेका छन् भने दुई जना सङ्क्रमितको मृत्यु भइसकेको छ । दुवै जनाकाे मृत्यु भइसकेपछि मात्र रिपाेर्ट आएकाे हाे ।

त्यस्तै एक जना बझाङ र एक जना बाजुराका सङ्क्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ । सङ्क्रमितमध्ये १८ जना प्रदेशभित्रका विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

सबैभन्दा बढी कैलालीका ४६, अछामका १५, कञ्चनपुका १३, डोटीका १०, डडेल्धुरा र बझाङका सात/सात, बैतडीमा ६, बाजुराका तीन र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ९२, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पाँच जनामा कोरोना पुष्टि भएको छ ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया