खाडी र मलेसियाका राजदूत भन्छन् : नेपालीकाे स्वदेश फिर्ती चार्टर्ड जहाजभन्दा नियमित उडानबाट गरौँ

 जेठ २५, २०७७ आइतबार १२:५:४८ | उज्यालो सहकर्मी

कोरोनाको कारण विदेशमा समस्यामा परेका नेपालीहरु घर फर्कन थालेका छन् । शुक्रबार यूएईबाट १६८ र म्यानमारबाट २६ जना नेपालीहरु घर फर्किए । अरु देशबाट पनि नेपाली घर फर्कने तयारीमा छन् । तर विदेशमा अलपत्र परेका नेपालीलाई घर फर्काउन भनेजस्तो सजिलो छैन । यूएईबाट शुक्रबार घर फर्किएका नेपाली पनि दूतावासको सूचीमा परेकाहरु होइनन् । दूतावासको प्राथमिकतामा परेका र त्यही दिन आउने तयारीमा रहेकाहरु अझै उतै छन् ।

खाडीका देश र मलेसियाका लागि नेपाली राजदूतले नेपालीलाई घर फर्काउन चार्टर्ड जहाज महङ्गो हुने भएकाले व्यवसायिक उडान सुरु गर्न माग गरेका छन् । अहिले विदेशबाट घर फर्कन खोज्ने कतिपयसँग हातमा टिकट छैन, कतिलाई कम्पनीले टिकट दिनेछन् ।

तर जहाज चार्टड गर्दा फेरि नेपालीले टिकट काट्न नसक्ने र महङ्गो हुने हुँदा व्यवसायिक उडान नै खुलाउँदा नेपालीको घरफिर्ती सजिलो हुने राजदूतहरुको भनाई छ । शुक्रबार श्रम रोजगार पत्रकार समूहसँगको छलफलमा खाडीका दुई देश र मलेसियाका राजदूतले व्यक्त गरेको विचार यस्तो छ :

व्यवसायिक उडान नै गरौं 

(उदयराज पाण्डे, राजदूत मलेसिया )

मलेसियाबाट ६ हजार ३४३ जनाले दूतावासमा सम्पर्क गरेर घर फर्कनुपर्ने कारण बताउनुभएको छ । यो सङ्ख्यालाई हामीले प्राथमिकताको आधारमा सूचीकृत गरेका छौं । त्यसमा बिरामी र गर्भवती २०१ जना हुनुहुन्छ । त्यस्तै करार अवधि सकिएकाहरु तीन हजार ६७५, व्यवसाय बन्द भएर रोजगारी गुमेका १ हजार २६ जना, आफंै राजीनामा दिएर बस्नेहरु ९२२ जना, लामो बिदामा जान चाहने १०५ जना हुनुहुन्छ । 

उहाँहरुको प्रदेश अनुसार पनि हामीले वर्गीकरण गरेका छौं । तर अहिले त्यो तथ्यांकमा केही फरक आएको छ  ।

जतिबेला धेरै नेपाली श्रमिकले घर फर्कने चाहना राख्नुभएको थियो, त्यतिबेला मलेसियामा सङ्क्रमण बढेको थियो । तर अहिले नेपालमा सङ्क्रमण बढ्यो र मलेसियामा घट्दा धेरैले आफ्नो मनस्थिति बदलेका छन् । भिसा एक्चेन्ज गरेर यहीँ बस्न आग्रह गर्नेहरु धेरै छन् । हामीहरुले पनि कम्पनीसँग सल्लाह गर्नुस् भनिरहेका छौं । कतिले अहिले नर्फकने भनिरहेका छन् ।

नेपाल सरकारले दैनिक रुपमा पहिले चलिरहेका व्यवसायिक उडान खुला गर्यो भने सजिलो हुन्थ्यो । काठमाण्डौ र मलेसियामा चारवटा विमानले नियमित उडान गर्छन् । त्यसमा दुईटा नेपालका र दुईवटा मलेसियाका विमान छन् ।

व्यवसायिक उडान खुला भयो भने प्रतिस्पर्धामा आउँछन् र उनीहरुले आफ्नो मूलय तोक्छन् । त्यसपछि जसलाई घर जानुपर्नेछ उसले सम्बन्धित विमानसँग कुरा गरेर आफू सजिलै जान सक्छन् । त्यो भयो भने धेरै खालका जटिलताहरु उत्पन्नहुँदैन थिए । 

तर अहिले सरकारको तर्फबाट चार्टर्ड फ्लाइटकै कुरा भइरहेको छ । चार्टड फ्लाइट भए पनि समयमै जानकारी आउनुपर्यो । नत्र आज फारम भरेकाले भोलि नजाने भन्यो भने अनेक समस्या उत्पन्न हुन सक्छन् । भोलि मूल्यमा घटबढ हुने जस्ता विभिन्न समस्या आउन सक्छन् । 

यसअघि विश्व खाद्य कार्यक्रमको कर्मचारीलाई लिन नेपालमा एउटा फ्लाइट जाँदैछ भन्ने थाहा पाएपछि यहाँ विमानस्थलभित्रै ७० दिनदेखि एकदमै समस्यामा परेका एकजना नेपालीलाई हामीले पठायौं । यस्तै यहाँबाट खाली नेपाल जाने कुनै फ्लाइटहरु छन् भने त्यस्तो फ्लाइटको पनि हामी खोजी गरिरहेका छौं । यसको लागि नेपाल सरकारसँग पनि कुरा गरिरहेका छौं ।

कतिपयको काम गुमेको, अलेखवद्ध, कम्पनीबाट काम छुटेको जस्ता धेरै समस्या छन् । अहिलेसम्म त उहाँहरुलाई कम्पनीमा भनेर खाने, बस्ने सुविधा दिइरहेको छ। जसले पाउनुभएको छैन, उहाँहरुलाई एनआरएनए, सामाजिक संस्थाहरुलाई भनेर खाने बस्ने व्यवस्था गरिहेका छौं । तर सधैं यसरी राख्न पनि सकिंदैन । 

चार्टर्ड फ्लाइटको टिकट १८ सय, दुई हजार रिंगिट आउँछ, त्यो भनेको पचास, साठी हजार नेपाली रुपैयाँ हो । कम्पनीले त्यो खर्च व्यहोर्न मानेन भने त्यो खर्च कामदारले व्यहोर्नुपर्छ ।

अहिले डिपोर्टेसन सेन्टरमा २४६ जना हुनुहुन्छ । उहाँहरुलाई पनि घर पठाउनैपर्ने हुन्छ । त्यसकारणले हामीले अहिले नेपाल सरकारले कुन मोडालिटीमा कसरी जहाज पठाउने हो र कसरी अनुमति दिने हो त्यही नै कुरिरहेका छौं । त्यसको लागि हामीलाई कम्तिमा पनि सात दिन अगाडि जानकारी हुनुपर्‍यो । 

टिकटमा समस्या छ । टिकटको लागि नियमित फ्लाइट सुरु गरौं । कतिपयसँग पहिलेकै टिकट छँदैछ । कति कम्पनीले नियमित फ्लाइटमा आफ्ना कर्मचारीलाई फर्काउन सक्छन् । चार्टर्डलाई मात्र गर्‍यौं भने सुरुमा केही समयको लागि त केही कम्पनीले रिफण्ड पनि गरेको थियो ।

चार्टर्ड फ्लाइटको टिकट १८ सय, दुई हजार रिंगिट आउँछ, त्यो भनेको पचास, साठी हजार नेपाली रुपैयाँ हो । कम्पनीले त्यो खर्च व्यहोर्न मानेन भने त्यो खर्च कामदारले व्यहोर्नुपर्छ । त्यो व्यहोर्न कतिले सक्छन्, कतिले सक्दैनन् । अनि स्वास्थ्य परीक्षणको कुरा ठूलो समस्या हुँदैन होला । हामीले आरडीटी गरेर पठाउन खोजेका छौं । 

उद्धार हैन, स्वदेश फिर्ती भनौं र स्पष्ट निर्देशन हामीलाई दिनुहोस्

(प्रा.डा. महेन्द्रप्रसाद सिंह राजपूत, राजदूत, साउदी अरेबिया)

साउदीबाट १० हजार नेपाली तत्कालै स्वदेश फर्किनुपर्ने अवस्थामा छन् । स्वदेश फर्किन इच्छा गर्नेको सूची लामै भए पनि १० हजार जतिलाई तत्कालै नेपाल पठाउनुपर्ने अवस्था छ ।

साउदीको भूगोल ठूलो छ । यहाँ त्यस्ता गाउँठाउँ छैनन्, जहाँ नेपाली नपुगेको होस् । झण्डै तीन लाख २५ हजारको हाराहारीमा नेपालीहरु हुनुहुन्छ । जसमध्ये अधिकांश अदक्ष हुनुहुन्छ भने केही अर्धदक्ष पनि हुनुहुन्छ । यो ठूलो भूगोलमा कार्यरत नेपालीको विवरण सङ्कलन गर्नु नै चुनौतीपूर्ण रहेको छ । तर यसलाई हामीले अवसरको रुपमा लिएका छौं । दुःखमा रहेका नेपालीलाई मद्दत गर्नु आत्मसन्तुष्टिको कुरा पनि हो ।

स्वास्थ्य परीक्षण, हवाइ उडान र खर्चको बारेमा प्रष्ट निर्देशन हुनेबित्तिकै प्राथमिकतामा परेका नेपालीहरुलाई साउदी दूतावासले नेपाल पठाउने छ  । प्राप्त विवरणलाई १५ वटा प्राथमिकतामा राखेर १० हजारबाट पनि छनौट गर्ने काम हामीले गरिरहेका छौं ।

नेपाली दूतावासले अझै पनि तथ्यांक संकलनको काम गरिरहेको छ । सूचना संकलनकै लागि भनेर दुईजना कर्मचारीलाई दिनरात अनवरत रुपमा काममा खटाइरहेका छौं । प्राथमिकता र फ्लाइटको आधारमा लिस्ट तयार हुन्छ ।

त्यसको लागि सरकारले १०, १२ दिन पहिले नै हामीहरुलाई मेडिकल परीक्षणदेखि फ्लाइटको प्रष्ट जानकारी गरायो भने पठाउने काम सजिलो हुन्थ्यो । अहिले पनि विभिन्न कारणले समस्यामा परेका चार, पाँच सयलाई खाद्यान्नको व्यवस्था पनि गरिरहेका छौं । तर धेरै दिनसम्म यो सम्भव छैन । फर्काउनै पर्छ । 

घर जान इच्छा गर्ने व्यक्ति धेरै छन् । स्वदेश जानैपर्ने र पठाउनुपर्ने व्यक्तिको सूचीमा पनि १० हजार जनाको नाम छ । यो सूची पनि उकालोतिर लागिरहेको छ हामीले यसलाई बन्द गरेका छैनौं । अझै यो संख्या बढ्ने निश्चित छ ।

समय कहिले हो त यहाँबाट फर्काउन सुरु गर्ने ? त्यो समय हामीले पहिल्यै थाहा पाउनुपर्छ । यहाँ नेपाल पठाउन सरकारले दिएको प्राथमिकतामा मेल खाने एउटा सक्षम यात्रु तयार गर्नुपर्छ । त्यसका लागि टिकटको मूल्यको भुक्तानी बारेको झमेला सिध्याउनुपर्छ । दररेट कति हो र टिकेटिङ कहाँ गर्ने भन्ने विषय टुंगिनुपर्छ । नेपालबाट चार्टर्ड जहाज आउने भनिएको छ ।

हामीले कामदारको उद्धार गर्ने भनेका छौं । यहाँ कोही श्रमिकले त ‘उद्धार’ हो भने मैले पैसा किन तिर्ने ? भनिरहेका छन् । हामीले यसलाई ‘स्वदेशी फिर्ती’ भनेर नाम दिँदा हामीलाई सहज हुन्थ्यो । यसले गर्दा पनि कन्फ्युजन गराएको छ ।

भारतले १३ सय रियालमा आफ्नो यात्रु लग्यो, हामीले कममा लैजाने कि बढीमा लैजाने ? बढी गर्दा कति बढी गर्ने ? त्यो त छिनोफानो गर्नुपर्छ । त्यसो भयो भने हामीलाई सहज हुन्थ्यो । साथै यहाँ ६० वटा शवको पनि सवाल छ । त्यो शरीरलाई पनि कसरी लैजाने भन्ने चिन्ता छ ।

उड्नुअघि कामदारको स्वास्थ्य परीक्षण गरेर ‘फिट टू फ्लाइ’ प्रमाणित हुनुपर्छ । अब त्यसका लागि कहाँ, कसरी, कसको खर्चमा कस्तो परीक्षण गराउने भन्ने पनि प्रष्ट निर्देशन हुनुपर्छ ।
हामीले कामदारको उद्धार गर्ने भनेका छौं ।

यहाँ कोही श्रमिकले त ‘उद्धार’ हो भने मैले पैसा किन तिर्ने ? भनिरहेका छन् । हामीले यसलाई ‘स्वदेशी फिर्ती’ भनेर नाम दिँदा हामीलाई सहज हुन्थ्यो । यसले गर्दा पनि कन्फ्युजन गराएको छ ।

कुनै पनि श्रमिक साउदी आउँदा गरिने श्रम करारमा फिर्तीको व्यवस्था रोजगारदाताले नै गर्ने भन्ने हुन्छ । कतिपय रोजगारदाताले भिसा अवधि सकिएकाको केही महिना पहिल्यै टिकट काटिदिएकोे छ । अब त्यही दररेटको टिकट अहिले मान्य हुन्छ कि हुँदैन ? त्यो हामीले सल्टाउनुपर्छ । 

कम्पनीहरु महंगो भाडा तिरेर चार्टड बिमानमा पठाउन चाहँदैनन् 

(डा. नारदनाथ भारद्वाज, राजदूत कतार ।)

कतारबाट अहिलेको अवस्थामा ७ हजार नेपालीलाई तत्काल नेपाल फर्काउनुपर्ने अवस्था छ । धेरैले त मार्चको २३, २४, २४ तिरको टिकट काटेर नेपालको लकडाउनका कारण फर्कन नपाएकाहरु पनि हुनुहुन्छ ।

उहाँहरुले विभिन्न एअरलाइन्सबाट टिकट काट्नुभएको छ । केही कम्पनीले पनि टिकट काटिदिन्छन् ।

यी सबै टिकटलाई पुनः मिलाएर अर्को ठाउँमा टिकट लिने कुरा निकै जटिल छ । त्यस्ता कम्पनीहरुले महंगो भाडा तिरेर चार्टर्ड जहाजमा पठाउन चाहँदैनन् । उनीहरुले नियमित उडान खुलेपछि मात्र टिकट दिने भनिरहेका छन् ।

त्यसैले पनि नेपाल सरकारले नियमित उडान खोल्ने भने धेरै सजिलो हुने थियो ।  ७/८ महिनाका गर्भवती, तत्कालै उपचार गर्नुपर्ने, उपचार पर्खिरहेका बिरामीहरु, होटेलमा ट्रेनिङको लागि आएका विद्यार्थीहरु पनि हुनुहुन्छ । उहाँहरुलाई कसरी फर्काउने भनेर सरकारसँग कुरा भइरहेको छ । 

त्यसैले पहिले नै टिकट लिएका श्रमिकलाई त्यही टिकटमा ल्याउने व्यवस्था मिलाइयो भने सजिलो हुन्थ्यो । सरकारले चाँडो समय दियो भने हामी तयारी गर्थ्यौं । अरु देशले आफ्ना देशका नागरिकलाई लिइरहेका छन् ।

त्यसैले पहिले नै टिकट लिएका श्रमिकलाई त्यही टिकटमा ल्याउने व्यवस्था मिलाइयो भने सजिलो हुन्थ्यो । सरकारले चाँडो समय दियो भने हामी तयारी गर्थ्यौं । अरु देशले आफ्ना देशका नागरिकलाई लिइरहेका छन् ।

भारतले चेन्नइसम्म लिनको ८ सय रियाल भाडादर कायम गरेको छ । बंगलादेशले ढाकासम्मको १५ सय रियाल तोकेको छ । सरकारले जति छिटो मिति तोक्छ, हामी त्यति नै छिटो काम सम्पन्न गर्ने तयारीमा छौं । गएको हप्तादेखि कतारमा कोरोना सङ्क्रमणको प्रभाव कम भएको छ । यसले गर्दा यहाँको स्थितिमा केही सुधार आएको छ ।

नेपाल फर्किन चाहने सबैलाई पीसीआर परीक्षण गर्न सम्भव नभएको अवस्था छ  । बिरामी भएर अस्पतालमा भर्ना नभएसम्म कोभिड परीक्षणको खर्च कतार सरकारले नै गर्छ भन्ने छैन । कोरोना परीक्षण सरकारी अस्पालमा मात्र हुन्छ, तर सबैको लागि खुला हुँदैन ।  

बिरामी मात्र जान सक्छन् र ५० वर्ष माथिका प्राथमिकतामा पर्छन् । मैले कतार सरकारसँग यसबारेमा कुरा पनि गरेको थिएँ । तर कुनै पनि देशलाई यस्तो सहयोग नगरेकाले नेपाललाई पनि गर्न नसक्ने जनाएको छ ।

तर यहाँका मेडिकलहरुले केही छुटका साथ परीक्षण गरिदिने बताएका छन् । एकसय २५ रियालमा पीसीआर परीक्षण गर्ने बताएका छन् । त्यसको लागि अनुमति त मागेका छौं । अनुमतिबिना परीक्षण पनि गराउन पाईंदैन । यहाँ गरिने परीक्षण सस्तो र सहज छैन । त्यसैले अहिले थर्मल टेस्ट गराएरै कामदार पठाउनुपर्ने हुन सक्छ ।

अन्तिम अपडेट: असार १३, २०७७

1 Comments

  • सूर्य राज वाग्ले

    June 7, 2020, 4:45 p.m.

    मेरो मार्च ११ तारिख QID (कतार आइडी)सकिएको र मार्च १६ तारिख भिसा क्यान्सल गरि मार्च १७तारिखको फ्लाइटमा घर जान खोज्दा लकडाउनले गर्दा साढे दुई महिना भयो तेतिकै कोठामा बस्नु परेको छ । अझै पनि सरकार लाचारी भै बसेको छ सरकार हातमा पासपोर्ट र टिकट हुनेलाइ घर फर्कने वातावरण मिलाइदे हामी घर फर्कन चाहान्छौ विभिन्न देशहरुले आफ्ना नागरिक लगेको छ तर हाम्रो देश

  •  0 Reply

तपाईको प्रतिक्रिया