'क्वरेण्टीन व्यवस्थापनको जिम्मा सेनालाई दिऔँ'

 जेठ २५, २०७७ आइतबार १४:१५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले क्वरेण्टीन व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिन सरकारलाई सुझाव दिनुभएको छ । 

सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य भट्टराईले पालिकाहरुले व्यवस्थित क्वरेण्टीन बनाउन नसकेको भन्दै सुरक्षा अङ्गहरुलाई परिचालन गरेर नेपाली सेनालाई जिम्मा दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले अहिलेका क्वरेण्टीनको अवस्था प्रहरीको हिरासत र जेलजस्तै भएकोले सेनालाई जिम्मा दिएर भए पनि समाधान गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, पालिका, सङ्घ संस्थाहरुबाट हामीले व्यवस्थित रुपमा क्वरेण्टीन बनाउन सक्दैनौँ भने नेपाल आर्मीले लुम्बिनीमा एक महिनाभित्र तीन हजार अट्ने ठूलो सभा हल बनाउन सकेको थियो । दुई वर्ष अगाडि बनाएको सभा हल अस्थाइ हो तर अहिले पनि त्यो काम लाग्ने छ । त्यस्तै यो एउटा विपद्को परिस्थिति हो, विशेष परिस्थिति पनि हो । हामीले सुरक्षा अङ्गहरुलाई परिचालन गरेर, नेपाली सेनालाई परिचालन गरेर भए पनि क्वरेण्टीन व्यवस्थित गर्नुपर्छ, त्यसतर्फ पनि सरकारको ध्यान जाओस् । तर आज जुन क्वरेण्टीनहरु छन्, पुलिसका हिरासतजस्ता भए, जेलजस्ता भए भन्ने टिप्पणीहरु आइराखेको छ । यसको छिटोभन्दा छिटो समाधान गर्नुपर्‍यो ।’

उहाँले क्वरेण्टीनमा खाने, बस्नेलगायत मास्क, स्यानिटाइजरको व्यवस्था गर्न पनि सरकारलाई ध्यानाकर्षण गराउनुभयो । उहाँले कोभिड १९ रोकथामको लागि सरकारले लिएका पहलकदमी तथा निर्णयहरु र नीतिहरु सान्दर्भिक भएको तर प्रभावकारी नभएको बताउनुभयो । यस्तै विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरी ल्याउने सरकारको कदम प्रशंसनीय भएको उहाँले बताउनुभयो । 

उहाँले परीक्षणको लागि पीसीआर किटको समस्या अहिले नै देखाउन नहुनेसमेत बताउनुभयो । उहाँले चार हजार सङ्क्रमित नपुग्दै समस्या देखाउने हो भने भयावह स्थिति बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘आरडीटीमा अहिले विश्वास कमजोर बन्दै गएको छ, त्यही कारण पीसीआर किटलाई नै बढाउनु पर्नेछ । यसको परीक्षणको दायरालाई बढाउन पर्नेछ । त्यसतर्फ ध्यान जाओस् । रिपोर्ट पनि समयमा उपलब्ध नहुने ५ दिन त यसै पनि लाग्छ भनिएको छ । एक हप्ता बित्दा पनि, १० दिन बित्दा पनि रिपोर्ट प्राप्त भएन भन्ने गुनासाहरु छन्, यी गुनासाहरुको पनि सम्बोधन होस् ।’

सङ्क्रमित बिरामीको उपचारको लागि आसोलेशन वार्डको सङ्ख्या बढाउन र भेन्टिलेटरको सङ्ख्या बढाउनसमेत उहाँले माग गर्नुभयो । यस्तै समस्यामा परेका व्यक्तिलाई राहतको व्यवस्था उचित तरिकाले वितरण गर्न उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य देवकाेटाले किसानहरुलाई मल र बिउको सुनिश्चितता गर्न र उत्पादित दूध तथा तरकारीको बजारीकरणमा सहयोग गर्नसमेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले पछिल्लो समय सामाजिक सञ्जालमार्फत राष्ट्रपतिमाथि निरन्तर आक्रमण भइरहेकाे बताउनुभयो । यसबाट राष्ट्रिय स्वाधिनता र सार्वभौमिकतामाथि सरकारले गरेको कामलाई कमजोर बनाउने गरी गतिविधि भइराखेको स्पष्ट हुने उहाँले बताउनुभयाे ।  

अन्तिम अपडेट: असार १२, २०७७

तपाईको प्रतिक्रिया