सरकारलाई पीसीआर ल्याब दिन तयार भयो चितवन मेडिकल कलेज

 जेठ २५, २०७७ आइतबार २०:४४:१० | रासस
unn.prixa.net

चितवन – कोभिड–१९ को सङ्क्रमण बढिरहेको समयमा यहाँ रहेको चितवन मेडिकल कलेजले स्थापना गरेको पीसीआर परीक्षण प्रयोगशाला सरकारलाई दिन तयार रहेको जनाएको छ । 

एक वर्षदेखि काम थालेर अहिले प्रयोगशाला सञ्चालनको तयारी अवस्थामा पुगेको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर हरिशचन्द्र न्यौपानेले आफूहरुसँग जनशक्ति र प्रयोगशाला तयारी भएको भन्दै सरकारलाई दिन तयार रहेको पत्र दिइसकेको बताउनुभयो ।

उहाँका अनुसार केही दिनअघि स्वास्थ्य मन्त्रालयलाई कलेजले प्रयोगशाला दिन तयार रहेको पत्र पठाएको छ । कलेजमा प्रयोगशालामा काम गरेका अनुभवी जनशक्ति रहेका छन् । कलेजका जनशक्तिले भरतपुर कोभिड–१९ प्रयोगशाला सुरुवातीमा काम गरेका थिए । 

अहिले पनि कलेजकै दुई जना जनशक्ति प्रयोगशालामा रहेका छन् । न्यौपानेले अहिलेको सङ्कटको समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै सरकारलाई सहयोग गर्ने प्रस्ताव आफूले गरेको जानकारी दिनुभयो ।

कलेजले अनुमति पाएमा परीक्षण गर्न सक्ने भए पनि सरकारी तवरबाटै प्रयोगशाला सञ्चालन गर्न उपयुक्त हुने आफ्नो सुझाव रहेको उहाँले बताउनुभयो । यस प्रयोगशालामा दैनिक दुई सयभन्दा बढी नमुनाको परीक्षण गर्न सकिने उहाँको भनाइ छ । त्यहाँ लाग्ने खर्च सरकारी तवरबाट गरेर काम गरेमा अहिले पालो कुरेर राखिएका नमुनाहरुको समयमा परीक्षण गर्न सकिने देखिएको छ । 

भरतपुर कोभिड–१९ प्रयोगशाला स्थापनामा न्यौपानेको सक्रिय भूमिका रहेको थियो । उहाँले तत्कालीन समयमा पनि मेडिकल कलेजमा प्रयोगशालाका लागि ठाउँ दिन तयार रहेका जनाउनुभएको थियो ।  

अहिले भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा चितवन, मकवानपुर, नवलपुर र कपिलवस्तुका नमुना परीक्षण भइरहेको छ । यस मेडिकल कलेजले निजी क्षेत्रबाट कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कोभिड क्लिनिकमा दैनिक पाँच/छ जना बिरामी हेर्दै आएको जनाएको छ । 

यहाँ सञ्चालनमा आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा २० वटा शय्यालगायतका उपकरण र जनशक्ति चितवन मेडिकल कलेजले सहयोग गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया