गौशाला–चुच्चेपाटी सडक : बर्खाअघि पिच हुने सम्भावना कम

 जेठ २७, २०७७ मंगलबार १९:४५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – वर्षौदेखि बिजोग अवस्थामा रहेको चावहिल–चुच्चेपाटी सडक यस बर्खाअघि पनि पिच हुने सम्भावना कम रहेको छ । लकडाउनको मौका छोपेर काम गरिरहे पनि यो सडकको पुरै खण्ड यो बर्खाअघि पीच हुने सम्भावना न्यून रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणले तार भूमिगतमा गरेको ढिलाइ र निर्माण सामग्रीको अभावकाे कारण यो सडकखण्डको पूरै ठाउँमा बर्खाअघि पिच हुने सम्भावना नरहेको सडक डिभिजन कार्यालय काठमाण्डाैका प्रमुख कुवेर नेपालीले जानकारी दिनुभयो ।

‘अहिले गौशालादेखि जय बागेश्वरी हुँदै मित्रपार्कसम्मको भाग पिचको लागि ठिक्क रहेको छ, आउँदो हप्ता पिच हुन्छ होला । चावहिल चोकदेखि चुच्चेपाटीसम्म पनि तयार नै छ, चावहिल चोकदेखि धोबी खोलासम्म पनि पिच भइसक्यो । समस्या अब मित्रपार्कदेखि चावहिल चोकसम्म रहेको छ’, सडक डिभिजन कार्यालय काठमाण्डाैका प्रमुख नेपालीले उज्यालो अनलाइनसँग भन्नुभयो ।

अरु खण्डमा बर्खाअघि नै सडक पिच हुने तयारी भए पनि मित्रपार्कदेखि चावहिल चोकसम्म काम पूरा गर्न समस्या रहेको उहाँको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले सात दिनमै काम सक्ने भनेर बिजुलीका तार भूमिगत गर्नको लागि अनुमति मागेको तर २८ दिन पुग्दासमेत काम नसक्दा सडक निर्माणको ठेकेदारले काम गर्न नपाएको सडक विभागले जनाएको छ ।

‘उहाँहरुले काम पूरा गर्नुभएको छैन, त्यसैले ठेकेदारले पनि अहिले नै सडक पिच गरेर जोखिम उठाउन चाहेको छैन । हामीलाई निर्माण सामग्रीको अभाव र मौसमको चुनौतीसँगै प्राधिकरणले बेलैमा काम नसक्दा समस्या भएको छ’, नेपालीले भन्नुभयो ।

चावहिल–चुच्चेपाटी सडक मर्मत र पानीका पाइप व्यवस्थापनको लागि कालिका कन्स्ट्रक्शनले २० करोड रुपैयाँमा ठेक्का पाएको छ । यो कम्पनीले सडक बनाउने मात्रै नभइ समस्याकाे रुपमा रहेका सडकमुनिका पाइपलाई सडक छेउमा सारेको छ । पाइपकाे कारण पटक–पटक सडक खन्नुपर्ने र पाइप फुटेर सडक भत्कने क्रम भने अब रोकिने छ ।

हामीले काम सकेका छौँ, आरोपमा सत्यता छैन : घिसिङ  

सडक डिभिजन कार्यालय काठमाण्डाैका प्रमुख कुबेर नेपालीले विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने काममा ढिलाइ गर्दा सडकको काम प्रभावित भएको कुरा बताएपछि हामीले यो कुरा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोध्यौँ । तर घिसिङले यो कुरा ठाडै अस्वीकार गर्नुभयो । उहाँले सडकको काम नै रोकिने गरी तार भूमिगतको कामले असर नगरेको दाबी गर्नुभयो ।

‘बीचमा लकडाउन कडाइ हुँदा काममा केही ढिलाइ भएकै हो तर उहाँहरुले भनेजस्तो समस्या हामीबाट भएको छैन, हामीले काम सकिसकेका छौँ’, घिसिङले भन्नुभयो, ‘हामीले खनेको ठाउँमा फाइन बनाएर दिने सहमति अनुसार अहिले हामीले सडककै काम गरिरहेका छौँ, कम्प्याक्शनको काम भइरहेको छ ।’

तार भूमिगतको काममा पनि केहि ढिलाइ भएको तर सडक विभागले पनि काममा ढिलाइ गरेको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया