'लकडाउन'मा प्रदर्शन गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

 जेठ २९, २०७७ बिहिबार २०:१६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गृह मन्त्रालयले लकडाउनको बेला जुलुस प्रदर्शन गर्ने क्रम बढेको भन्दै त्यसो नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर प्रदर्शन गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको हो । केही दिनदेखि सरकारविरुद्ध प्रदर्शन बढ्न थालेपछि गृह मन्त्रालयले यस्तो चेतावनी दिएको हो । 

लकडाउनको उल्लङ्घन गर्नेलाई १०० देखि ६०० रुपैयाँसम्म जरिबाना र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्न सक्ने जनाएको छ ।

गृह मन्त्रालयले लकडाउनको आदेशको अवहेलना हुने गरी देखाइएको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  नेपाल सरकारले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने जो कोहीलाई पनि प्रमुख जिल्ला अधिकारीले ऐनले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

लकडाउनको आदेशको अवहेलना गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रु १०० देखि ६०० सम्म जरिबाना र एक महिना देखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको छ । 

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले निकाल्नुभएको विज्ञप्तिमा अहिले कतिपय व्यक्ति सामाजिक सञ्जालबाट निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिलाई सहभागी बनाउने, ज्ञापनपत्र दिन जाने आदि जस्ता कामका संलग्न भएको भन्दै लकडाउनको आदेश विपरीत हुने गरी कुनै पनि काम कारवाही नगर्न, नगराउन र कुनै पनि बहानामा संलग्नसमेत सहभागि नहुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ । 

विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ सङ्क्रमणको जोखिमबाट नागरिकको जीवन रक्षाका लागि मन्त्रिपरिषद्को बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी लकडाउन हालसम्म जारी रहेको विज्ञप्तिमा उल्लेख छ । 

मन्त्रालयले आवश्यक काम नपरि हिँडडुल गर्न नहुने, हिँडडुल गर्न वा आवागमन गर्नै पर्ने भएमा पनि न्यूनतम भौतिक तथा सामाजिक दुरी कायम गर्नुपर्ने जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया