त्रिभुवन विमानस्थलमा चहलपहल बढ्यो, चार्टर्ड जहाजमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडान

 जेठ ३०, २०७७ शुक्रबार १५:२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेशमा अलपत्र रहेका नेपालीको उद्धार सुरु भएसँगै त्रिभुवन विमानस्थलमा चहलपहल बढेको छ । 

केही दिनदेखि अन्तर्राष्ट्रियसँगै आन्तरिकतर्फको उडान र अवतरण पनि थपिएको छ । अन्तर्राष्ट्रिय र आन्तरिक उडानतर्फ पनि अनुमति लिएर चार्टर्ड उडान हुने क्रम बढेको विमानस्थल कार्यालयले जनाएको छ । 

लकडाउन लम्बिएपछि अलपत्र परेकाहरुलाई जहाजमार्फत चार्टर्ड गरेर लैजाने र ल्याउने क्रमसँगै विमानस्थलमा चाप बढेको हो । आउँदो आइतबारदेखि उडान अझै बढ्ने त्रिभुवन विमानस्थलले जनाएको छ ।

सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई चरणबद्ध रुपमा ल्याइरहेको छ । यो क्रम आइतबारदेखि अझै बढ्ने भएकाेले उडान सङ्ख्या पनि बढ्ने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार केही दिनदेखि उडान अवतरण बढेको छ ।  

दिनमा अहिले तीन/चार वटा उडान भइरहेकाे उहाँले बताउनुभयो । शुक्रबार कुवेतमा समस्यामा परेका नेपाली कुवेतको जजिरा एअरवेजमार्फत नेपाल आएका छन् । यस्तै बिहीबार नेपाली लिएर जापानको नारिता उडेको नेपाल एअरलाइन्सको विमान शुक्रबार फर्किँदै छ । प्राधिकरणले अहिले अन्तर्राष्ट्रिय उडान दिनको १० वटाभन्दा धेरै गर्न नसकिने जनाएको छ । 

यस्तै विमानस्थल कार्यालयका अनुसार शुक्रबार नेपालगञ्ज र हुम्लामा पनि आन्तरिक उडान छ । विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णकाअनुसार अहिले विमान चालकको तालिम, यात्रुको उद्धार, स्वास्थ्य सामग्री ढुवानी र कार्गोलगायतका कारण पनि आन्तरिक उडान बढेको छ । 

अहिले आन्तरिकतर्फ दिनमा चार्टर्ड गरिएका चार पाँच वटा विमानले उडान भर्ने गरेकाे आन्तरिक टर्मिनलका प्रमुख मुरारी पौडेलले जानकारी दिनुभयो । सरकारले अहिले अनुमति लिएकालाई उडान भर्न दिएको छ । 

कोरोनाको जोखिम बढेपछि सरकारले गएको चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय उडान तथा ११ गतेदेखि आन्तरिक उडान बन्द गरेको छ । असार १७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने सरकारको तयारी छ ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया