स्वदेश फर्कन घरबारी कसरी बेच्नु सरकार ?

 जेठ ३०, २०७७ शुक्रबार १९:३२:२८ | मेरो कथा मेरो भोगाई

उमानन्द भुसाल हाल, युएई ।

सरकारले विदेशमा समस्यामा रहेका नेपालीलाई उद्घार गर्न थालेको स्वागतयोग्य छ । यो खबरले सायद मसहित परदेशमा रहेका धेरै नेपालीलाई खुशी दिलायो होला।

तर समस्या के भयो भने नेपालबाट जहाज त आउने भयो तर हामीसँग त्यो जहाजमा चढेर नेपाल फर्कन पैसा साथमा छैन । तीन महिना भयो काम छैन । तलब पनि छैन । खान बस्न समस्या छ । यो समयमा त्यति महङ्गो भाडा कसरी तिर्ने होला ? यही प्रश्नले मन अशान्त भएको छ । के सरकारलाई यो कुराले पोलेको छैन होला ?

मेरो विचारमा सरकारले तोकेको भाडा दर वैज्ञानिक हुँदै भएन । किनभने चार, पाँच महिनादेखि धेरैजना बेरोजगार भएर बसेका छन् । यस्तो अवस्थामा सामान्य अवस्थामाभन्दा निकै महंगो टिकट कसरी तिर्नु ? सरकारले साँच्चै उद्धार गर्न लागेको हो र ? यो त उद्धार भएन भन्ने मलाई लाग्छ । आउँदा पनि साहुको ऋण लिन घर जग्गा धितो राखेर आइयो, अब फर्कंदा पनि बाँकी भएको घरजग्गा धितो राख्नु पर्ने देखियो ।

सरकारले कहिले जहाज खुलाउँछ भनेर मोबाइल हेर्दाहेर्दै आँखा कमजोर भयो । तर जब आयो खबर तब यो आँखा तिरमिराए । सरकारले खाडीमा बिचल्लीमा परेका नेपालीलाई झुक्काएको हो कि खै के हो मैले बुझ्न सकेको छैन ।

चार्टर्ड जहाजमा नेपाली फर्काउन नियमित भाडाभन्दा केही बढी त ठिकै होला तर यत्रो भाडा त कसरी तिरौं र खै ? नेपालीको साँच्चै उद्धार गर्ने हो भने सित्तैमा नसके पनि भाडादर सस्तो गर्नपर्छ सरकारले । सरकारले तोेकेको भाडाले हामी दुई, चार पैसा कमाएर घर परिवार पाल्न परदेश आइपुगेकालाई साह्रै पोलेको छ ।

उद्धारको नाममा आफ्नै नागरिकलाई मारमा नपार न सरकार । आशा छ यो भाडादर सरकारले घटाउनेछ । नत्र त हामी परदेशी भाडा तिर्न नसकेकै कारण यतै अड्कने छौं ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया